coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वनको जग्गा किनबेच गराउने गिरोह खोज्दै परियोजना

सागरनाथ वन विकास परियोजना सर्लाहीको अतिक्रमित जमिनमा बनाइएका घरहरू । टंक क्षेत्री/नागरिक

सर्लाही – सागरनाथ वन विकास परियोजनाले जिल्लाको वागमती नगरपालिका अन्तर्गत  मूर्तिया वन व्यवस्थापन क्षेत्रको अतिक्रमित जग्गा व्यक्तिगत रूपमा किनबेच गराउने गिरोहको खोजी सुरु गरेको छ।

व्यक्तिगत रूपमा किनबेच हुँदै नयाँ घरहरू बनाउने क्रम ह्वात्तै बढेपछि परियोजनाले आफ्नो जग्गा खरिद बिक्री गराउने गिरोह नियन्त्रणको प्रयास थालेको हो । ‘हाम्रो जग्गा सोझासाझा किसानलाई किनबेच गराउने गिरोह नै रहेछ’, परियोजना प्रमुख देवेशमणि त्रिपाठीले भने, ‘कठ्ठाको २५–३० हजार रूपैंयामा किनेर घर बनाउने तथा खेती गर्ने गरेको पत्ता लगाएका छौं।’

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्मैयाको पुतलीचोकबाट करिब पाँच किलोमिटर दक्षिणबाट सुरु हुने परियोजनाको जमिनमा हाल नयाँ बस्ती नै बनिसकेको छ । ‘हाम्रो जमिन किनबेच गराउने १२-१३ जनाको गिरोह छ भन्ने पत्ता लगाइसक्यौं,’ प्रमुख त्रिपाठीले भने, ‘मुख्य गिरोह नै पक्राउ गर्नका लागि तयारी थालेका छौं।’

परियोजनाले केही दिनअघि अतिक्रमणमा संलग्न दुई जनालाई पक्राउ गरी प्रक्रिया अगाडि बढाएको छ । पक्राउ परेकाहरूले प्रतिकठ्ठा २५ हजार रूपैंयामा किनेर घर बनाएको तथा खेती गरेको बयान दिएपछि परियोजना जमिन किनबेच गराउने गिरोह नै नियन्त्रणमा लिने सोचमा पुगेको प्रमुख त्रिपाठीले जानकारी दिए।

‘सर्लाहीमात्र हैन सिन्धुली, धनुषा, मकवानपुर लगायत विभिन्न जिल्लाबाट सोझासाझा सर्वसाधारणले आफ्नो लालपूर्जावाला जमिन बेचेर परियोजनाको जमिनमा पैसा फाल्ने गरेका रहेछन्’, त्रिपाठीले भने, ‘सरकारले कहिल्यै नियन्त्रणमा लिन सक्दैन भन्ने आश्वासन दिँदै सुरक्षाको समेत ग्यारेन्टी दिएर जमिन किनाउने गिरोह नै रहेछ।’

२०७३ असार २१ गतेबाट महिना दिनसम्म परियोजनाले नयाँरोड–बरहथवा सडक पूर्व र पश्चिमतर्फका अतिक्रमित भू–भागमा लगाइएको मकै, धानलगायत बालीनाली नष्ट पारेर आफ्नो नियन्त्रणमा लिएको थियो । जानकारहरूका अनुसार उक्त क्षेत्रमा त प्रतिप्लट चार लाख रूपैंया सम्ममा किनबेच हुने गरेको थियो ।उक्त क्षेत्रको ७०० हेक्टर क्षेत्रफल अतिक्रमित भूभाग नियन्त्रण्मा लिएर परियोजनाले काँडेतार सहितको घेराबेरा समेत गरिसकेको छ।

त्यहाँ मसलाका विरुवा समेत हुर्किसकेका छन् ।तर अतिक्रमण नियन्त्रण अभियानले निरन्तरता नपाउँदा पछिल्लो समय साविक कर्मैया गाविसको जिरायत क्षेत्रअन्तर्गत कर्मैया–हथियौल सडकखण्ड पश्चिम परियोजनाको अतिक्रमित जग्गामा नयाँ घरहरू बन्ने क्रमले तीव्रता पाएको छ । परियोजनासहित सरोकारवाला सरकारी निकायबाट प्रभावकारी कारबाही अभियान सञ्चालन नभएकाले वनको जग्गामा नयाँ बस्ती नै स्थापना भइसकेको छ।

स्थानीय तहको निर्वाचनदेखि निजी घरहरू बनाउने क्रम ह्वात्तै बढेको स्थानीयले बताएका छन् । परियोजनाको मुर्तिया वन व्यवस्थापन शाखाअन्तर्गत दुई हजार ७४१ हेक्टर वन क्षेत्रमध्ये २०६५ सालदेखि दुई हजार ५३४ हेक्टर क्षेत्रफल पूर्णरूपले अतिक्रमणमा परेको थियो ।  हालसम्म सात सय दुई हेक्टर क्षेत्रफल अतिक्रमित भूभाग नियन्त्रणमा लिइ वृक्षारोपण गरिसकिएको परियोजनाले जनाएको छ।

अतिक्रमणमा संलग्नहरूलाई नियन्त्रणमा लिने तथा घर टहरा भत्काउने कार्य पनि जारी रहेको त्रिपाठीले दाबी गरे । ‘यसबीच हामीले अतिक्रमणमा संलग्न चार जनालाई पक्राउ गरी आवश्यक कार्बाहीका लागि जिल्ला वन कार्यालयलाई बुझाइसक्यौ’, त्रिपाठीले भने, ‘घर टहरा पनि भत्काउने गरेका छौं ।’

परियोजना र सुरक्षा निकाय निरिह
अतिक्रमित जमिनमा बसोबास एवं खेती गर्दै आइरहेकाहरूको अगाडि सागरनाथ वन विकास परियोजना तथा सुरक्षा निकाय निरिह जत्तिकै देखिएका छन् ।

गत बिहीबार परियोजनाको टोली अतिक्रमित जमिनमा बनेका टहराहरू भत्काउन जाँदा भाग्नु परेको थियो । ‘सुरक्षाकर्मी सहित घर टहरा भत्काउन हाम्रो टोली गएको थियो’, परियोजना प्रमुख त्रिपाठीले भने, ‘तर संगठित भएर उनीहरूले आक्रमण नै गर्न थालेपछि हाम्रो टोली ब्याक हुन बाध्य भयो ।’ टोलीमा रहेका आफ्ना कर्मचारीले ज्यान जोगाएर भागेको उनले जानकारी दिए।

सुरक्षा निकाय सहित सरोकारवाला सबै पक्ष, तह र तप्काको समन्वयमा माथिल्लो निकायबाटै स्पष्ट आदेश आएमा आफूहरूलाई काम गर्न सजिलो हुने उनले बताए । ‘अहिले छिटफुट रूपमा कारबाही भइरहेको छ’, उनले भने, ‘अभियानकै रूपमा लैजान परियोजना मात्र हैन सबै पक्ष, तह र तप्काको सहयोग जरूरी छ।’

२०७३ असार २१ मा अतिक्रमण खाली गराउने अभियान सुरु गर्दा पनि प्रतिकार भएको थियो । त्यतिखेर प्रमुख जिल्ला अधिकारी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरूले पूर्णरूपमा साथ दिएकाले परियोजनाको कारबाही अभियान सफल भएको थियो ।

 

प्रकाशित: १९ वैशाख २०७५ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App