६ वैशाख २०८१ बिहीबार
समाज

वर्षाैंदेखि रोग लुकाएर बूढेसकालमा उपचार

खोटाङको डाँडागाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा आएका सेवाग्राही । तस्बिर /नागरिक

खोटाङ –खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खाकी ७० वर्षीया चनमती राई (नाम परिवर्तन) को आङ (पाठेघर)खसेको २३ वर्ष बित्यो । आङले आफ्नो स्थान छाडेर क्रमशः पहिलो र दोश्रो चरण पार गर्दासम्म उनले पीडालाई लुकाएरै बसिन् । हिँड्डुल गर्न गाह्रो हुन्थ्यो, गह्रौं काम गर्न गाह्रो हुन्थ्यो।

तर, उनले आफ्नो समस्याका विषयमा न कसैलाई सुनाइन् न कतै उपचारमै गइन् । समस्याले क्रमशः जटिल रूप लिन थालेपछि उनले दिप्रुङ चुइचुम्मा गाउँपालिकाले डाँडागाउँको ओख्रेमा बिहीबारदेखि शनिबारसम्म सञ्चालन गरेको विशेषज्ञसहितको निःशुल्क वृहत् स्वास्थ्य शिविरमा उपचार गर्ने आँट गरिन् । र, लट्ठी टेक्दै शिविर स्थलसम्म आइपुगिन् । पाठेघर समस्याको उपचार हुने थाहा पाउँदा पनि उनले लाजका कारण रोगलाई लुकाउँदै आएको बताइन्।

‘आमा समूहका एक सदस्यलाई पहिलोपल्ट आफ्नो समस्याबारे सुनाएको थिएँ, उहाँले स्वयंसेवकलाई मेरो नाम टिपाइदिएछन्,’ चनमतीले भनिन्, ‘त्यही भएर बूढेसकालमा उपचार गराएकी हुँ ।’ समस्याका विषयमा पहिलोपल्ट खुलेकी उनको शरीरमा चिकित्सकले ‘रिङप्रेसरी’ राखिदिएको छ । पाठेघरको समस्या भएकै बीचमा आफूले थप दुई बच्चालाई जन्म दिएको उनी बताउँछिन्।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३, छोरम्बूकी ६८ वर्षीया सुन्तली राई (नाम परिवर्तन) ले पाठेघर खसेको समस्या लुकाएको १५ वर्ष बितिसकेको छ । एउटा बच्चा जन्मिए लगत्तै पाठेघर खसेपछि उनले अरू बच्चा जन्माउन सकिनन् । मन मिल्ने दौतरीलाई समेत आफ्नो समस्याका विषयमा बताइनन् ।

उनको शारीरिक समस्याबारे परिवारलाई मात्र जानकारी छ । कष्ट खेप्न परे पनि परिवारले उनलाई बुझ्छन् । परिवारको सद्भाव र माया घटेको छैन । उनले १० वर्षअघि श्रीमान सहित ओखलढुंगा पुगेर रिङप्रेसरी राखे बाहेकका उपचार गराएकी छैनन् । ‘धेरै कष्ट भयो । दिसापिसाब गर्न, हिँड्डुल गर्न एकदमै अप्ठ्यारो हुन्छ,’ उनले भनिन्, ‘फेरि रिङप्रेसरी राखेपछि केही सहज भएको छ ।’हरेक ठाउँमा पाठेघर खसेका महिलाको संख्या भयावह रहेको विभिन्न घुम्ती शिविरमा आउने तथ्यांकले देखाउँछ ।

त्यसमा पनि पाका उमेरका महिला बढी भेटिन्छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२, डाँडागाउँ ओख्रेमा यही वैशाख १३ देखि १५ गतेसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ६८ महिलामा पाठेघरको समस्या भेटिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पाठेघर खसेर दोस्रो चरण पार गरेका ३५ महिलाको शरीरमा रिङप्रेसरी राखिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । परम्परागत सोच र मान्यतामा हुर्केका कारण रोगलाई लुकाएकाले वृद्धावस्थामा पुगेका महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन् । तर, अति नै पीडा भएपछि रोग लुकाएर बसेका महिला पछिल्लो समय जबरजस्त खुल्न थालेको पाइएको छ ।

दुई-तीन दशकको रोग लिएर उपचारमा आउने वृद्धाको संख्याले उनीहरू क्रमशः खुल्न थालेको देखाउँछ । पाठेघर खसेको २१ वर्षपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खाकी ६० वर्षीया नौमती राई (नाम परिवर्तन) उपचारमा गइन् । रोगलाई ‘पाल्नुभन्दा फाल्नु निको’ भनेर स्वास्थ्य शिविरमा आएकी उनको शरीरमा रिङप्रेसरी राखिएको छ । हिँड्डुल गर्न गाह्रो हुने र गह्रौं काम गर्दा पेट दुख्ने भएपछि जिल्ला अस्पताल दिक्तेलमा पुगेर लगाएको रिङप्रेसरी आफै निस्किएपछि उनले लामो समयसम्म पुनः उपचार गर्न मन नलागेको उनी बताउँछिन्।

पाठेघर खस्ने समस्याबाट जुनसुकै उमेर समूहका महिला पीडित छन् । पाठेघर खसेका महिलाको तत्कालै मृत्यु नभए पनि संक्रमण भएर घाउ हुँदा उनीहरूको जीवन कष्टमय र पीडादायी हुन्छ।

जिल्लाका २५ देखि ६० वर्ष उमेर समूहका महिलामा गरिएको नमूना परीक्षणमा २५ देखि ३० प्रतिशत महिलामा पाठेघरको समस्या पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबहादुर केसीले जानकारी दिए । ‘धेरैजसो महिलामा पाठेघरको कुनै न कुनै समस्या छन्,’ डा. केसीले भने, ‘स्याम्प्लीङका क्रममा १० देखि १५ प्रतिशत महिलाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ।’

सुत्केरी वा गर्भावस्थामा आराम नगर्नु, उमेर नपुग्दै कलिलो उमेरमा बच्चा जन्माउनु, छोराको आशमा धेरै बच्चा जन्माउनु, स्याहार, पोषिलो खानेकुरा र आराम नपाउनु, गह्रौंं काम गर्नु, धुलो, धुवाँ र चुरोटका कारण बारम्बार खोकी लागीरहनु लगायतका कारण महिलाको पाठेघर खस्ने खतरा बढी हुने प्रमुख डा. केसी बताउँछन् ।  

 

प्रकाशित: १९ वैशाख २०७५ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App