सिन्धुपाल्चोकमा बन्दै १० एकीकृत नमुना बस्ती

बुधबार, १९ बैशाख २०७५, ०८ : ३५ ध्रुव दंगाल

सिन्धुपाल्चोक – तीन वर्षअघिको विनाशकारी भूकम्पपछिको विपद्मा प्रगाढ पारिवारीक र दरिलो सामाजिक एकताको महत्व बुझेका सिन्धुपाल्चोकका पीडित त्यसलाई जीवन्त राख्दै एकीकृत बस्ती विकासमा आकर्षित भएका छन्।

जिल्लामा दुईटा एकीकृत नमूना बस्ती विकास भइसकेको छ भने सातवटा निर्माण चरणमा छन् । विस्थापित भूकम्पपीडितका लागि एउटा एकीकृत बस्ती बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै गृहकार्य थालेको छ । यी सबै योजना पूरा हुँदा जिल्लाका १० गाउँ एकीकृत बस्तीका रूपमा विकसित हुनेछन्।

केही एकीकृत बस्ती विकासमा संघसंस्थाले हात हाले पनि धेरैजसो  पीडितकै पहलमा निर्माण थालिएका हुन् । त्यस्ता एकीकृत बस्तीमा घरैपिच्छे सडक, खानेपानी, शौचालय, अपांग र बालमैत्री वातावरणसहित सामुदायिक भवन, खेल मैदानलगायत न्यूनतम सहरी पूर्वाधारको परिकल्पना गरिएको छ । एउटै आकार, एकै प्रकृतिका रंगरोगन तथा साजसज्जा त्यस्ता एकीकृत बस्तीका प्रमुख विशेषता रहने छन्।

सहरी विकास तथा भवन डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख टंक गौतम एकमुस्ट विकासका पूर्वाधारमा पहूँच पुग्ने भएकाले भूकम्पपीडित एकीकृत बस्तीमा आकर्षित भएको बताउँछन् । पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती निर्माणमा जोड दिने नीति लिएको बताउँदै उनले नागरिकसँग भने, ‘एकीकृत बस्ती भन्नासाथ त्यहाँ सडक, खानेपानी, सामुदायिक भवन, विद्यालय, स्वास्थ्य चौकीलगायत एकमुस्ट विकासका पूर्वाधार तयार हुन्छन् । छरिएका घर–घरमा यस्ता पूर्वाधार पुग्न सहज छैन।’

 एकीकृत बस्ती निर्माण गर्दा लगानीसमेत कम पर्न जाने गौतमले बताए । उनका अनुसार कम्तिमा १० घरसहितको एकीकृत बस्ती निर्माण गर्दा प्राधिकरणले तराईका लागि साढे ३, हिमालका लागि ५ र पहाडका लागि ४ लाख रूपैयाँका दरले एकीकृत पूर्वाधार विकासमा सघाउँछन् । ‘पूर्वाधार अर्थात् सुविधाभोग नै एकीकृत बस्तीप्रतिको आकर्षण हो,’ उनले भने ।
    जिल्लाको शिखरपुरबाट एकीकृत बस्ती निर्माण सुरु भएको हो।

बर्मामा जन्मेर थाइल्याण्डमा बस्ने थाइ नेपाली संघले भूकम्पलगत्तै आरुबोटे गाउँमा ४६ घरसहितको एकीकृत माझी बस्ती बनाएको थियो । निलो जस्ताका छाना र सेतो रंग पोतिएका ढुंगा, सिमेन्ट जोडाइका माझी बस्तीका प्रत्येक घर एक कोठे छन् । आवश्यकता अनुसार यसलाई तीन कोठामा विस्तार गर्न सकिन्छ । बस्तीमा एक सामुदायिक भवन र घरैपिच्छे शौचालय तथा खानेपानीको सुविधा छन्।

  धुर्मुस–सुन्तली फाउन्डेसनले मेलम्ची नगरपालिकाको गिरानचौरमा दोस्रो नमूना एकीकृत बस्ती विकास गरेपछि यो जिल्लाभर विस्तार हुने क्रममा छ । ६५ घरधुरीको गाउँलाई फाउन्डेसनले गिरानचौर एकीकृत बस्ती नाम दिएको छ । घरभित्रै शौचालय र खानेपानीको सुविधा रहेको यो बस्ती निर्माणमा फाउन्डेसनले जनस्तरबाट संकलित ५ करोड रूपैयाँभन्दा बढी लगानी गरेको थियो।

   घरको मूल ढोकामै पुग्ने मोटरबाटो, सामुदायिक भवन, पुस्तकालय भवन, गाडी पार्क, बालउद्यान, बाल, अपांग र वातावरणमैत्री गिरानचौर बस्तीका प्रमुख विशेषता हुन् । नेपाली राष्ट्रिय झन्डामा पोतिएका नीलो, रातो र सेता रंगसहितको साजसज्जा रहेको यो बस्ती वास्तवमै नमूना देखिन्छ । चार महिनामै बस्ती बनाएर फाउन्डेसनले २०७३ कात्तिकमा स्थानीयलाई हस्तान्तरण गरेको थियो।

  फाउन्डेसनको सिको गर्दै गिरानचौरमै अरू दुईटा एकीकृत बस्ती निर्माण भइरहेका छन् । पीडितकै अगुवाइमा सामुदायिक पुनर्निर्माण, पर्यटन प्रवद्र्धन परियोजनाका नाममा त्यहाँ १ सय ३५ घरसहितको तेस्रो एकीकत बस्ती निर्माण भइरहेको छ । आरसिसी संरचनाका १ सय १० घरको काम अघि बढिहेको छ । ‘बाँकी २५ घर भुँई ढलान गर्ने तहमा पुगेका छन्,’ परियोजनाका अध्यक्ष राजकुमार भट्टराईले भने।

 उनका अनुसार बस्ती १ सय ७० रोपनीमा बन्ने छ । अनिवार्य शौचालय र खानेपानी धारा रहने बस्तीमा सडक पुगिसकेको छ । प्रतिघर १८ लाख ८५ हजार लगानी हुने अनुमान गरिएको बस्ती संरचना चार कोठाको र्भुँईतले हुनेछ । ‘सरकारी अनुदान ३ लाखबाहेक प्रत्येक पीडितले ५ लाख रूपैयाँका दरले लगानी जुटाएका छौँ,’ उनले भने । यो बाहेक तिलगंगा ग्लोबल फ्रेन्डले प्रतिघर २ लाख रूपैयाँका दरले सहयोग गर्ने सहमति गरेको भट्टराईले जानकारी दिए।

 विन गिभिङ फाउन्डेसन थाइल्याण्डले सहयोग स्वरूप बस्तीमा खानेपानीको काम गरिरहेको छ । दाता, पीडित आफैले खोजी गरेका हुन् । ‘पूर्वाधार सुविधाबाट केही वञ्चित नहुन् भनेर एकीकृत बस्ती निर्माण थालेका हौं,’ निर्माणाधीन घर–घरमा सातफिटे मोटरबाटो पुगिसकेको जनाउँदै उनले भने । उनका अनुसार मंसिरदेखि थालिएको बस्ती निर्माणले एक वर्षभित्र अन्तिम रूप पाउने छ । यो बस्ती धुर्मुस–सुन्तलीले बनाएको बस्तीभन्दा ५ सय मिटर वर छ।

 तेस्रो बस्तीको नजिकै गिरानचौरमै चौधरी ग्रुपले अर्को एकीकृत बस्ती निर्माण थालेको छ । सामुदायिक र पुस्तकालय भवन रहने बस्तीमा ७२ घर बन्दै छन् । त्यहाँ घडेरी सम्याउने काम भइरहेको छ । इँटा, सिमेन्ट जोडाइ घर चार कोठाका हुने छन् । ग्रुपले प्रतिघर ५ लाख रूपैयाँ लगानी गर्दै छ।

  मेलम्ची नगरकै तालामाराङमा भवानीशंकर एकीकृत आवास क्षेत्र नाम दिएर २४ घरको एकीकृत बस्ती बन्दैछ । ‘१४ घर बनिसके,’ आवास क्षेत्रका संस्थापक ज्ञानप्रसाद सिग्देलले भने, ‘बस्ती निर्माण अन्तिम चरणतिर जाँदै छ ।’ यो बस्तीमा सिग्देल थरका एकै खलकका दाजुभाइ रहने उनले बताए ।

‘भूकम्पले दाजुभाइ छरिएर नभइ एकै ठाउँमा बस्न सिकायो,’ उनले एकीकृत बस्तीको अवधारणा सुनाउँदै भने, ‘त्यसपछि नछुट्टिने निर्णयमा पुग्यौँ ।’ बस्तीमा इँटा, सिमेन्ट जोडाइका ‘लोड बियरिङ’ संरचना बन्ने छन् । छानो र घरमा पोतिने रंग एउटै हुने बस्तीमा किरियापुत्री घर थप सुविधाका रूपमा रहने छन्।

निर्माण सम्पन्न हुँदा प्रतिपरिवार १० लाख रूपैयाँ लगानी पुग्ने अनुमान गरिएको सिग्देल बताउँछन् । व्यक्तिगत जग्गा उपभोक्ता समितिका नाममा ल्याएपछि ह्योल्मो मेलम्ची सामाजिक उत्थान कार्यक्रम र मेलम्ची नगरपालिकाले घडेरी खार्ने काममा सहयोग गरेका थिए । तालामाराङकै उपल्ला गाउँमा १० घरधुरीको एकीकृत बस्ती बस्दै छ । तामाङ समुदायको बसोबास रहने बस्तीको अहिले घडेरी खार्ने काम भइरहेको छ।

  यता चौतारा साँगाचोकगढी नगरपालिकास्थित इन्द्रावती नदी किनारको झ्याडी गाउँमा ५६ घरधुरीको एकीकृत नमूना बस्ती विकास हुँदै छ । माझी समुदाय बस्ने बस्ती निर्माणको अगुवाई नायिका स्वेता खड्काले नेतृत्व गरेको स्वेता फाउन्डेसनले गरिरहेको छ । बस्तीका घर सिमेन्ट, इँटा जोडाइका लोडवियरिङ संरचनामा आधारित छन्।

   ‘३० वटा घरका गारो उठिसकेको छ,’ स्थानीय स्तरमा बस्ती निर्माणको नेतृत्व गरिरहेका झ्याडी टोल सुधार समितिका सचिव मिलन माझीले भने, ‘बाँकी संरचनाको भुँइ तहको काम भइसकेको छ ।’ निर्माण सामग्री अभाव हुँदा पुनर्निर्माणमा ढिलाई भइरहेको उनले जानकारी दिए ।

  उनका अनुसार माझी समदायले प्रतिघर निर्माणमा ७ लाख रूपैयाँ खर्चंदै छन् । खानेपानी, शौचालय, बालउद्यान, मन्दिर र सडकलगायत पूर्वाधारमा फाउन्डेसनले सघाउने माझीले बताए । ‘असारभित्र बस्तीको पुनर्निर्माण सक्छौं,’ उनले भने । माझी एकीकृत बस्ती नाम दिएर त्यहाँ गत वर्षको असारदेखि काम भइरहेको छ।

  उता हिमाली गाउँ हेलम्बुको तेम्वाथानमा ह्योल्मो संस्कृति झल्काउने गरी एकीकृत बस्तीको काम अघि बढाइएको छ । जनहित ग्रामीण सेवा समितिसँगको साझेदारीमा गैरसरकारी संस्था अक्सफामले त्यहाँ ५३ घरको एकीकृत बस्ती बसाल्दै छ । ‘प्रत्येक घरका एउटा झ्याल ह्योल्मो संस्कृति झल्कने हुनेछ,’ जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने ।

  साढे ७ लाख रुपैयाँ लगानी हुने घरमा वेडरूम, लिभिङ रूम र भान्छासहित तीन कोठा हुने छन् । भुँई तहसम्मको संरचनामा प्रयोग हुने ढोका र ह्योल्मो संस्कृति झल्कने झ्याल स्थानीयले जुटाउनु पर्ने छ । सरकारले दिने ३ लाख अनुदान बराबर नगदै र खानेपानी, शौचालय लगायत पूर्वाधार र ढुवानी खर्च दाता संस्थाले बेहोर्ने शर्माले बताए । ‘एकसाथ ४० घरको काम सुरु भइसकेको छ । बाँकी १३ घर गुनासोमार्फत् फछ्र्याेट हुने क्रममा छन्,’ शर्माले भने, ‘बर्खाअघि नै बस्ती निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने छौँ ।’

 जनस्तरबाट मेलम्चीकै कटुञ्जेमा पनि एकीकृत बस्ती विकासको काम भइरहेको छ । त्यहाँ ६५ घरसहितको बस्ती विकास हुँदैछ । तीनवटा ‘ब्लक’ मा बाँडिएर बन्ने बस्तीको गत चैतमा प्राधिकरणका कार्यकारी निर्देशक यमलाल भुसालले शिलान्यास गरेका थिए। अभियन्ता शम्भु चालिसे बस्तीमा खानेपानी, सडक शौलालयको न्यूनतम् सुविधासहित बालउद्यान, सामुदायिक भवन, खेल मैदानजस्ता पूर्वाधार बन्ने छन्।

  ‘परिवार संख्याका आधारमा चाहेको आकारमा घरहरू बन्दै छन्,’ उनले भने, ‘सोहीअनुसार लगानी पीडितले गर्ने छन् ।’ सरकारी अनुदानमा अपुग रकम पीडितले बेहोर्ने उनले बताए । उनका अनुसार बस्ती निर्माण सम्पन्न नहुँदासम्म एक परिवारबाट अनिवार्य एक सदस्य श्रमदानमा निस्कने सर्तअनुसार पुनर्निर्माण अघि बढिरहेको छ । सेलाङको बाँसखर्कमा पुनर्निर्माण प्राधिकरणकै अगुवाइमा नमूना एकीकृत बस्ती बन्दै छ । त्यहाँ सेलाङसहित गुम्बा, गोल्चेका भूकम्पपीडित विस्थापित भइ बसिरहेका छन्।

‘विस्थापितको पहिचान गर्ने काम सुरु भएको छ,’ जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख गौतमले बताए । प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले त्यहाँ एकीकृत बस्ती बनाउने अवधारण अघि सारेका थिए । गौतमले एकीकृत बस्तीको पूर्वाधार विकासमा प्राधिकरणले घोषणा गरेको सहयोग माग गर्दै उपभोक्ता समितिबाट निवेदन आइरहेको उनले जानकारी दिए ।
 





यसमा तपाईको मत

अन्य समाचार

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

Ncell Footer Ad