सुन्तला जात फलफूलमा चाइनिज सिट्रस फ्लाईको आक्रमण

चीनबाट भुटान, भारत हुँदै नेपालसम्म

बुधबार, १९ बैशाख २०७५, ०७ : ३३ नागरिक

मधुसुधन गुरागाईं, बनेपा
अनिल भण्डारी, सिन्धुली
मञ्जु उप्रेती, रामेछाप

वैशाख – व्यावसायिक रुपमै जुनार खेतीमा संलग्न सिन्धुली र रामेछाप जिल्लाका किसानलाई यतिखेर फल लागेका जुनारका दानालाई टिप्ने बेलासम्म कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ।

यी जिल्लामा व्यापक रुपमा खेती हुँदै आएको जुनारलगायत सुन्तला जात फलफूलमा चाइनिज सिट्रस फ्लाई (फल कुहाउने औंसा पार्ने झिँगा)ले केही वर्षदेखि नोक्सानी पुर्‍याउँदै आइरहेको छ । पछिल्लो वर्षदेखि फलमा धेरै क्षति हुन थालेपछि किसानको चिन्ता बढेको हो ।
‘चार वर्षदेखि अलिअलि समस्या थियो तर, पछिल्लो वर्ष जुनारका दाना झरेरै सखाप भए । झिँगाले जुनारको दानामा टोकेपछि फलभित्र औंसा बन्छ । टोकेको फल सबै झर्दै जान्छ,’ गोलन्जोर गाउँपालिका–४, तीनकन्याका वडाध्यक्ष बेगबहादुर गौडासे मगरले भने।

उनको बगैंचामा तीन सयभन्दा बढी जुनारका बोट छन् । अघिल्लो वर्ष साढे चार लाखको जुनार बेचेका उनले पोहोर जम्माजम्मी तीन लाख रुपैयाँको मात्रै बेचेका थिए । ‘मेरोमा अलि कम क्षति भए पनि कुनै कुनै भेगमा बेपत्तै लागेको छ । यो महामारीले सिन्धुलीको जुनार सखाप पार्ला भन्ने चिन्ता थपिँदो छ,’ मगरले भने । यो समस्याको रोकथामका लागि गाउँ कार्यपालिकामा छलफल भए पनि सानोतिनो बजेटले नपुग्ने भएकाले केन्द्रकै मुख ताक्नुबाहेक अरु विकल्प नरहेको उनको भनाइ छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जुनार सुपर जोन इकाई)का अनुसार सिन्धुलीमा सबैभन्दा बढी जुनारखेती हुने गोलन्जोर गाउँपालिका–४, तीनकन्या हो । त्यस्तै, सोही गाउँपालिकाका रतनचुरा, वाशेश्वर, भुवनेश्वरीका साथै कमलामाई नपा–३, जलकन्या र साविकका ४३ गाविसमा जुनार खेती हुँदै आएको छ।

‘आर्थिक वर्ष ०७२÷७३ मा जुनार सुपर जोनले गरेको अध्ययनले तीनकन्यामा मात्रै एक हजार सात सय रोपनी क्षेत्रफलमा करिब २६ हजार बोटमा जुनार फलेको थियो । त्यस वर्ष फलेको एक हजार दुई सय टन जुनारबाट सात करोड रुपैयाँ गाउँमा भित्रिएको थियो । यो वर्ष सिट्रस फ्लाईका कारण सात सय टनको हाराहारीमा जुनार बेच्न सकियो । यसले आम्दानी पनि आधा हुन पुग्यो,’ जुनार सुपर जोन सञ्चालक समितिका सह–संयोजक लोकबहादुर आलेले भने । चार सय बोट रहेका उनले समेत यस पटक चार लाख रुपैयाँको हाराहारीमा मात्रै जुनारबाट आम्दानी लिन सफल भए।

‘तीनकन्यामा चार वर्षदेखि सिट्रस फ्लाईको समस्या आएको हो । साविकका वडा नं. ५, ६, ७, ८ र ९ का जुनारखेतीमा यसको समस्या रहेको छ । वडा नं ६ मा ८० प्रतिशतभन्दा बढी क्षति भएको छ । बाँकी वडाका किसानले बगैंचा व्यवस्थापन र झिँगा भगाउने परम्परागत उपाय गरेकाले ३० प्रतिशत क्षति भएको छ । तर, पूर्ण रुपमा नियन्त्रण आउन सकेको छैन,’ आलेले भने।

गोलन्जोर–५, रतनचुराका योगेन्द्र थापाको सिर्जनशील जुनार फार्ममा रहेका साढे सात सय बोटमध्ये फलेका साढे चार सय बोटमा सिट्रस फ्लाईको समस्या देखियो । फल लागेपछि क्रमशः झर्ने समस्या देखिएपछि कृषि प्राविधिकको सल्लाहमा अघिल्लो पटक झरेका फललाई प्लास्टिकको थैलोमा बाँधेर गाडेका छन्।

‘यस पटक जुनारका दाना लटरम्म लागेका छन् । बेलैमा सिट्रस फ्लाई रोक्न सकिएन भने यो वर्ष टिप्ने बेलासम्म जुनार देख्न मुस्किल होला जस्तो छ,’ उनले गुनासो गरे । जुनारको व्यवस्थित बगैंचा बनाएबापत उनले मध्यमाञ्चलस्तरीय राष्ट्रपति कृषि पुरस्कार पाइसकेका छन् । उनीजस्तै मेहनती किसानको सक्रियतामा हाल सिन्धुलीमा १५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा जुनार खेती हुँदै आएको छ।

जुनार खेतीका लागि मुलुककै दोस्रो कहलिएको रामेछापमा पनि सिट्रस फ्लाईको समस्या सुरु हुन थालेको छ । जुनारलगायत निबुवामा समेत सिट्रस फ्लाईको प्रकोप हुन थालेपछि कतिपय किसानले जुनार बगैंचा नष्ट गर्दै अरु फलफूल लगाउन थालेका छन् । ‘केही गर्दा पनि सिट्रस फ्लाई रोक्न सकिएन । टन्न फल्ने जुनार र निबुवाका बोट काट्न बाध्य भएँ । अहिले अनार खेती थालेको छु,’ मन्थली नपा–४ स्थित अधिकारी फलफूल तथा नर्सरीका सञ्चालक बोधराज अधिकारीले भने।

रामेछापको ओख्रेनी, सालु, रामेछाप, सुकाजोर, सुनारपानी, भलुवाजोर, हिमगंगा, रामपुर, खनियापानी, लखनपुर, राकाथुुम, बेथान, पुलासी डडुवा, दोरम्बा, हिलेदेवी, दिमीपोखरी गेलुलगायत क्षेत्र गरी एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा जुनार खेती हुने गरेको छ ।
सिट्रस फ्लाईको आक्रमण हुन थालेपछि जुनार उत्पादनमा ह्रास हुने क्रम बढ्दा किसानमा चिन्ता थिपिँदो छ, ‘अघिल्ला वर्ष जुनार बेचेरै पाँच लाखसम्म कमाइन्थ्यो । यही समस्या भइरहे आधा रकम कमाउन पनि हम्मे हुने भयो,’ रामेछाप नपा, ओख्रेनीका लक्ष्मण तमाङले भने।

चार वर्षदेखि सिन्धुली र रामेछापका जुनार किसानको टाउको दुखाई बनेको सिट्रस फ्लाई गत वर्ष काभ्रेमा पनि आइपुगेको छ । प्राविधिकका अनुसार झिँगाको उड्ने क्षमता र संक्रमित फलफूलको ओसार–पसारले यो किरालाई फैलाउन मद्दत गरिरहेको छ । वरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीले काभ्रेमा लगाइएका जुनार र मोसममा सिट्रस फ्लाईले औंसा पारेको तथ्य पत्ता लगाएका थिए।

‘यो झिँगाको पोथीले सुन्तला जात फलफूलको चिचिला अवस्थामा फुल पार्छ, पछि लार्भा (औंसा) निस्की फलको गुदी खाइदिन्छ । जसले गर्दा फलहरु पहेंलिँदै झर्छन् । किराले आक्रमण गरेका फल हलुका हुन्छन् । काटेर हेर्दा फलभित्र सेता औंसा हुन सक्छन् । किराद्वारा संक्रमित फल खानयोग्य हुँदैनन्,’ उनले भने।

यी माथिका प्रतिनिधिमूलक घटनाले नेपालका सुन्तला जात फलफूलमा चाइनिज सिट्रस फ्लाईको आक्रमण क्रमिक रुपमा बढ्दो देखाउँछ । वरिष्ठ वैज्ञानिक एवं कीटविज्ञ डा समुद्रलाल जोशीका अनुसार यतिखेर सिन्धुली र रामेछापका सुन्तला जात फलफूलमा असर गर्दै रहेको सिट्रस फ्लाई, ब्याक्ट्रोसेरा मिन्याक्स प्रजातिको झिँगा हो । केस्रा–केस्रा हुने सुन्तलाको फलमा यसले पार्ने औंसाले क्षति गर्न नसक्ने तर केस्रा नछुट्टिने जुनार, मोसम, निबुवाजस्ता सुन्तला जात फलफूलमा बढी क्षति गर्ने उनको भनाइ छ।  

ब्याक्ट्रोसेरा मिन्याक्सले चीनको सुन्तला जात फलफूल उत्पादन हुने प्रमुख प्रान्तमा ठूलो असर पुर्‍याउँदै आएको छ । जोशीका अनुसार यीनै प्रान्तमा फलेका एवं सिट्रस फ्लाईको संक्रमण भएका जुनारलगायत सुन्तला जात फलफूलहरु यात्रुले र निर्यातका क्रममा क्रमशः अन्य देशमा पुग्ने क्रममा किरा पनि सँगसँगै सर्दै गएको अनुमान गरिन्छ।

‘चीनबाट ब्याक्ट्रोसेरा मिन्याक्स भुटानमा पुगेको अध्ययनहरुले देखाएको छ । त्यसपछि भारतको सिक्किम हुँदै नेपालको पूर्वी पहाडी क्षेत्रमा आइपुगेको देखिन्छ । त्यहाँबाट सिन्धुली हुँदै क्रमशः अन्यत्र फैलँदैछ । ब्याक्ट्रोसेरा मिन्याक्सलाई झट्ट हेर्दा अन्य झिँगा (फ्रुट फ्लाई) जस्तै देखिए पनि यो फरक हो र यसलाई नियन्त्रणका लागि विशेष व्यवस्था गर्नुपर्छ,’ जोशीले थपे।

ब्याक्ट्रोसेरा मिन्याक्सको जीवन चक्रबारेमा भुटानले गहन अध्ययन गरी नियन्त्रणका उपाय अवलम्बन गरेको प्लान्ट डाक्टरसमेत रहेका अधिकारीले बताए । चीनको कृषि मन्त्रालयले त सन् २०१२ देखि हुबेलगायत सिट्रस फ्लाईको प्रकोप बढी भएका प्रान्तमा एरिया वाइड कन्ट्रोल प्रोग्राम (एडब्लुसिपी) सञ्चालन गर्दै मिन्याक्सलाई नियन्त्रण लिँदै आएको छ।

‘चैत–वैशाख (अप्रिल–मे) महिनामा सिट्रस फ्लाईले बोटबिरुवाबाट निस्केका चोपबाट प्रोटिन लिन्छ । किनकि वयस्क बेलामा फुल पार्नका लागि पोथी झिँगालाई प्रोटिनको आवश्यकता हुन्छ । त्यतिखेरै प्रोटिनमा मिसाएर विषादी छर्न सकेमा फ्लाईलाई नष्ट गर्न सजिलो हुन्छ । चीनमा यही तरिकाले प्रोटिनमा विषादी (बैट) मिसाइ स्प्रे गर्दा नियन्त्रणमा आएको अध्ययनले देखाएको छ,’ अधिकारीले भने।

नेपालका सुन्तला जातमा सिट्रस फ्लाई (ब्याक्ट्रोसेरा मिन्याक्स)को समस्या बढ्दै गएको लामो समयसम्म भइसक्दा पनि यसको जीवनचक्रको खासै अध्ययन भएको पाइन्न । सिन्धुलीका किसान चुडाराज शर्माले किसानस्तरमा किराको जीवनचक्र अध्ययन गरिरहेका छन् भने हालैमात्र गोलन्जोर गाउँपालिका–४, तीनकन्याका लोकबहादुर आलेको बगैंचामा यसको जीवनचक्रलाई अध्ययन गर्न थालिएको छ । ‘जाडो सकिएर घमाइलो हुनासाथ किराको वयस्क अवस्था निस्कने बेला हुँदो रहेछ । एक साताअघि यतिखेर झूलले ढाकेर राखेका प्यूपाबाट झिँगा निस्कन थालेको छ,’ आलेले भने।

भुटानको पश्चिमी क्षेत्र रिम्चुमा चेन्चो दोर्जी र उनको समूहले अनुसन्धान गरेको जीवनचक्रको अध्ययनकै आधारमा कीटविज्ञले यतिखेर सिन्धुलीको तीनकन्यामा अनुसन्धान थालेका हुन् । ‘एक साताअघि संकलित प्यूपाबाट झिँगा (सिट्रस फ्लाई) निस्कन थालेको छ । त्यो शतप्रतिशत ब्याक्ट्रोसेरा मिन्याक्स नै हो । अब एउटै उपाय भनेको चीनले हुबेमा गरेको एडब्लुसिपी अनुसार नै प्रोटिन चारामा बैट स्प्रेमार्फत यी झिँगा नियन्त्रण गर्ने मात्रै हो,’ अधिकारीले थपे।

ब्याक्ट्रोसेरा मिन्याक्स वर्षौटे हुनाले वर्षमा एउटामात्रै जीवनचक्र पूरा गर्ने अधिकारीको भनाइ छ । ‘त्यही कारण किसानले यसको जीवन चक्र नचिन्दा समस्या आइरहेको छ । हाल किसानको सहभागितामा अनुसन्धान थालिएकाले प्रभावकारी हुने अपेक्षा गरेका छौं । किनकी यी झिँगा अन्य प्रजातिका झिँगा जस्तो मिथाइल युजेनल वा क्युल्युरमा आकर्षित हुँदैनन्,’ उनले थपे।

पछिल्लो समय जुनार कृषकले फल लाग्नासाथ व्यापारी बोलाएर बगैंचा नै ठेक्कामा दिने चलनले पनि फल पाक्ने अवधिसम्मकै ब्याक्ट्रोसेरा मिन्याक्सको जीवनचक्र अध्ययन गर्न नपाइएको जुनार सुपर जोन प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत ललनकुमार सिंहको भनाइ छ । ‘किराको जीवन चक्रअनुसार व्यवस्थापनका विधि एकीकृत रुपमा सामूहिक तवरले अवलम्बन गर्नुपर्ने हुन्छ । यसका लागि जीवनचक्रको अध्ययन महत्वपूर्ण छ । हामीकहाँ व्यावसायिक किसानभन्दा पनि एक–दुइटा बोट भएका किसानले फल झरेर सकिए पनि सकियोस भनेर झरेको फल व्यवस्थित तरिकाले नगाडेसम्म किरा बाँच्ने अवसर पाइरहन्छ,’ उनले भने।

उता, चीनदेखिको सिट्रस फ्लाई नेपाल भित्रनुमा यहाँका प्लान्ट क्वारेन्टाइन कार्यालयको दोष रहेको जुनार केन्द्रीय सहकारी संघका अध्यक्ष दीपक कोइरालाको आरोप छ । ‘राम्ररी जाँच नगरी विदेशका फलफूल भित्रन दिँदा सिन्धुलीको जुनारमा समेत समस्या निम्तेको हो । यस्ता कैयौं फलफूल र कृषि उत्पादन बिना रोकटोक नेपाल आइरहेका छन् । यीनमा रोग र किरालगायत अन्य समस्या पनि भित्रिइरहेका हुन सक्छन्, यसमा कृषि मन्त्रालय गम्भीर हुनैपर्छ,’ उनले भने।

चार वर्ष अघिदेखि नै संघले जुनारको बगैंचा व्यवस्थापनलगायतमा किसानलाई सचेत गराउँदै आएको कोइरालाले जानकारी दिए । ‘तर, यो सिट्रस फ्लाईको समस्या एक–दुइटा बोटमा नियन्त्रण गरेर नहुने रहेछ भन्ने मैले चीनमा देखेर आएँ । कम्तीमा एक सय एकड (८ सय रोपनी) क्षेत्रफलमा एकै पटक नियन्त्रण गर्न सकेमा प्रभावकारी हुने रहेछ,’ उनले थपे ।
उता, विगतमा सिन्धुलीलाई मात्रै कार्यक्षेत्र बनाएर सुपर जोन कार्यक्रम लागू भएकोमा अबदेखि रामेछापलाई समेत समेट्ने योजना रहेको सिंहको भनाइ छ।

‘जुनारको बगैंचा व्यवस्थित बनाउने र पोस्ट हार्भेस्ट प्रविधिलाई जोड दिने लक्ष्य थियो । यसैबीचमा आइलागेको ब्याक्ट्रोसेरा मिन्याक्सलाई प्रभावकारी रुपले नियन्त्रण गर्नेतर्फ थप ध्यान केन्द्रित गर्दैछौं । यसका लागि केही अध्ययन र अनुसन्धानको थालनी भइसकेको छ । कार्यक्रमले सिन्धुलीमा करिब एक हजार हेक्टर र रामेछापमा दुई सय हेक्टर क्षेत्रफलको जुनार खेतीमा सहयोग गर्ने लक्ष्य लिएका छौं,’ उनले थपे।

जुनार केन्द्रीय सहकारी संघ लिमिटेडका अनुसार सिन्धुलीको एक हजार पाँच सय ३५ हेक्टर र रामेछापको एक हजार ३९ हेक्टरमा जुनार खेती हुँदै आएको छ । दुवै जिल्लामा गरी वार्षिक २७ हजार टन जुनार उत्पादन हुने गरेको छ । उत्पादन तहमा प्रतिकिलो जुनारले न्यूनतम मूल्यमात्र पाएको अवस्थामा दुवै जिल्लामा वार्षिक पौने दुई अर्ब रुपैयाँ भित्रन्छ । यी जिल्लाबाहेक वार्षिक एक सयदेखि दुई सय टनसम्म जुनार उत्पादन हुने जिल्लामा धनकुटा, बैतडी डोटी, डडेल्धुरा, ओखलढुंगा र लमजुङ रहेको संघले जनाएको छ ।

 



 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad