७ वैशाख २०८१ शुक्रबार
अर्थ

घान्द्रुकमा आन्तरिक पाहुनालाई छुट

अन्नपूर्ण आधारशिविर पदमार्गको घान्द्रुकको होटलमा बसेका पाहुना । आन्तरिक पाहुनालाई यहाँका व्यवसायीले छुट घोषणा गरेका छन् ।फाइल तस्बिरः सन्तोष/नागरिक

पोखरा –अन्नपूर्ण आधारशिविर पदमार्गमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकले आन्तरिक पाहुनालाई लक्षित गर्दै विशेष छुटसहितको प्याकेज ल्याएको छ।

आगामी जेठमा आयोजना हुने सेन्चुरी पर्यटन महोत्सवको अवसर पारेर आन्तरिक पर्यटकका लागि उक्त प्याकेज ल्याएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले बताएको छ।

समितिका अध्यक्ष किसम गुरुङका अनुुसार जेठ १७ देखि २२ गतेसम्म छुटसहितको प्याकेज लागू हुनेछ । जुन ३ (जेठ २०) अन्नपूर्ण हिमाल आरोहण गरेको दिन पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मूल आयोजक समितिले ‘अन्नपूर्ण म्याराथन’ गर्न थालेको र त्यसमा आन्तरिक पर्यटकको आगमन बढाउन यो छुट दिएको गुरुङले बताए।

‘घान्द्रुकमा बढीभन्दा बढी आन्तरिक पाहुना भित्र्याउने हाम्रो लक्ष्य छ । त्यही भएर छुटसहितको यो प्याकेज ल्याएका हौं,’ गुरुङले भने, ‘यसले आधारशिविर पदमार्गमा आउने आन्तरिक पाहुना बढाउने अपेक्षा छ । अन्नपूर्ण आधारशिविर (एबिसी) सम्म पुग्ने पाहुनाले पनि पदमार्गको घान्द्रुकमा यो प्याकेजमा सुविधा लिन सक्नेछन्।’

अध्यक्ष गुरुङका अनुसार अहिले घान्द्रुकका होटलमा बस्दा आन्तरिक पाहुनाले प्रतिव्यक्ति एक हजारदेखि १२ सय रुपैयाँसम्म तिर्दै आएका छन् । यो रकमले पाहुनाले बेडको सुविधासहित डिनर र ब्रेकफास्ट खान पाउँथे । होटलको कोठामा उपलब्ध सुविधाअनुसार एक रातको प्रतिव्यक्ति एक हजारदेखि १२ सय रुपैयाँ तिर्नुपथ्र्यो । तर, महोत्सवमा विशेष छुट दिएर यी सबै सुविधाका लागि प्रतिव्यक्ति सात सय ५० रुपैयाँ पर्नेछ।

‘घान्द्रुक सधैं पाहुनासँग लिने मात्र गर्दैन । कहिलेकाँही सामाजिक कामका लागि योगदान दिन पनि तयार हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘अन्नपूर्णको म्याराथन र सेन्चुरी महोत्सव पूरा गर्नु हाम्रो सामाजिक दायित्व पनि हो । त्यही भएर यो अवसरमा हामीले आन्तरिक पाहुना बढाउन यो छुट अफर ल्याएका हौं ।’ अध्यक्ष गुरुङका अनुसार प्रतिव्यक्तिका हिसाबले आन्तरिक पाहुनाले प्याकेजमा बस्न पाउनेछन्।

‘विदेशीका लागि नभई आन्तरिक पाहुनालाई हामीले घान्द्रुकमा तान्न खोजेका हौं,’ उनले भने, ‘यसले आन्तरिक पाहुनाको सहभागिता बढाउने सम्भावना छ ।’ छुटसहितको प्याकेज निकै नै सस्तो भएको पनि उनले बताए । ‘यसैपनि यो रुटमा बसोबासको शुल्क निकै कम छ । खानाको पैसा बढी पर्ने हो,’ उनले भने, ‘महोत्सव अवधिलाई हामीले कमाउने भन्दा पनि सेवामूलक काममा खर्चने योजनाले पहिलो पटक छुटको प्याकेज ल्याएका हौं।’विदेशीले यो भन्दा बढी शुल्कमा मात्र होटलमा बस्न र खान पाउँछन् । होटलको सुविधा अनुसार विदेशीका लागि भिन्दाभिन्दै शुल्क छ ।

‘विदेशी खर्च गर्नका लागि आउने हुन् । उनीहरुलाई हामीले खर्च गर्ने ठाउँ दिनुपर्छ, त्यही भएर प्याकेज बनाएनौ,’ गुरुङले भने ।अध्यक्ष गुरुङका अनुसार प्याकेज लागू हुने समयलाई त्यहाँका व्यवसायीले ‘स्लो सिजन’को रुपमा लिएका छन् । आन्तरिक पाहुना आगमन निरन्तर रहँदा ‘अफसिजन’ भन्न नमिल्ने उनीहरुको तर्क छ । ‘विदेशी पनि कम आउँछन् । आन्तरिक पर्यटक कुनै न कुनै रुपमा घान्द्रुक आइरहन्छन् । त्यही भएर हामीले ‘स्लो सिजन’ भनेका  हौं,’ उनले भने, ‘विदेशी मात्र आउँथे भने ‘अफसिजन’ भन्न पनि मिल्थ्यो।’

अन्नपूर्ण महोत्सवमा आधारशिविरको चार हजार एक ३० मिटर उचाइबाट सुरु भएर घान्द्रुकमा अन्त हुने गरी म्याराथन आयोजना हुँदैछ । त्यसमा आन्तरिक पाहुनाको संख्या बढाउने पर्यटन व्यवसायीको लक्ष्य छ । अध्यक्ष गुरुङका अनुसार अहिले घान्द्रुकमा मात्र सुविधा सम्पन्न करिब दुई दर्जन होटल छन् । ती होटलमा एक रातमा करिब पाँच सयसम्म पाहुना अट्छन् । एउटा कोठामा तीन–चार जनासम्म बस्न मिल्ने गरी होटलमा कोठा बनाइएको छ।

घान्द्रुक अन्नपूर्ण र माछापुच्छे आधारशिविर सहित छोमरोङ, घोरेपानी, पुनहिल, टाढापानीसम्मको पदयात्रामार्गको प्रवेशद्वार हो । मोटर पुगेपछि अहिले घान्द्रुकमा आन्तरिक पर्यटकको आगमन बढेको व्यवसायीको भनाइ छ ।

मोटर चल्नुअघि कास्कीको विरेठाँटीबाट घान्द्रुक पुग्न करिब पाँच घन्टा पैदल हिड्नुपथ्र्यो । तर, अहिले घान्द्रुकसम्म नै मोटर पुगिसकेको छ । मोटरको पहुँच पुगेपछि घान्द्रुकमा पछिल्लो समय आन्तरिक पाहुनाको हिस्सा बढेर करिब ६० प्रतिशत पुगिसकेको छ । दसैं, तिहार र लामो बिदामा त ७० प्रतिशत आन्तरिक र बाँकी ३० प्रतिशत विदेशी पाहुना हुने गरेका छन्।

‘विदेशी पाहुनाको भरमा मात्र हामीले व्यापार धान्नै सक्दैनौ । आन्तरिक पर्यटकको आगमनले पदयात्रा क्षेत्रको पर्यटनले व्यवसाय धान्न सकेको छ,’ अध्यक्ष गुरुङले भने, ‘त्यही भएर पनि हामीले आन्तरिक पाहुना लक्षित गरेर छुट अफर ल्याएका हौं ।’ एकैखाले र स्वरुपका घर, ढुंगेछानो घान्द्रुकको विशेष आकर्षण हो । यहाँबाट आँखैमा ठोकिने गरी माछापुच्छे« र अन्नपूर्ण लगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ ।


 

प्रकाशित: १९ वैशाख २०७५ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App