ताप्लेजुङ – पूर्वाधारका काममा पूर्णयता भूकम्प प्रतिरोधी सामग्रीको प्रयोग बढाउने उद्देश्यले ताप्लेजुङमा आपसमा जोडिने प्रकृतिको इँटा उत्पादन सुरु भएको छ।
यहाँका दुईजना उद्यमीले मिलेर सुरु गरेको इन्टरलक इँटाको उत्पादन माटो, सिमेन्ट र बालुवा मिश्रणबाट हुने उत्पादकमध्येका एक लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार यस्तो प्रकृतिको इँटा उत्पादन ताप्लेजुङमै पहिलो हो।सदरमुकामस्थित फुङलिङ नगरपालिका–५ मा खोलिएको इँटा उद्योगमा दैनिक पाँचजना मजदुरले रोजगारी पाउनेछन् ।
काठमाडौंबाट झिकाइएका प्रशिक्षकले सात दिन लामो प्रशिक्षण दिएपछि मजदुरले काम थालेको उत्पादक सुधिर पतङ्वा लिम्बूले जानकारी दिए । उनका अनुसार उत्पादनका लागि प्रयोग हुने मेसिन खरिद गरिएको कम्पनीले नै तालिम दिलाएको हो ।पतङ्वाले इँटा उत्पादन गर्ने मेसिन साढे ६ लाख रुपैयाँ खर्च गरेर ल्याएको जानकारी दिए । चार महिला र एक पुरुषले दैनिक ज्यालादारीमा इँटा उत्पादन गरिरहेको पतङ्वाले बताए।
काफ्लेका अनुसार यहाँ इँटा उत्पादन सुरु गर्नुपूर्व मजदुर र उत्पादक दुवैले गोर्खाको लाप्राकमा इन्टरलक इँटा र यसको प्रयोगबाट बनेका संरचनाको अवलोकन भ्रमण समेत गरेका थिए ।
१२ इन्च लम्बाइ, ६ इन्च चौडाइ र चार इन्च उचाइको यो इँटाको मूल्य प्रतिगोटा ६० रुपैयाँ कायम गरिएको छ । अरु इँटाभन्दा तीन गुणा बढी ठूलो र पूर्णतया भूकम्प प्रतिरोधी संरचना निर्माणमा प्रयोग गर्न सकिने भएकाले कायम गरिएको मूल्य लगानीका हिसाबले सस्तो पर्ने उत्पादक काफ्लेले जानकारी दिए।
इँटा पोल्नु नपर्ने र पूर्ण रुपले क्युरिङ (पानी सिँचित) गरी उपादन गरिने भएकाले उद्योगबाट वातावरणीय प्रदूषणको सम्भावना नरहेको काफ्लेले दाबी गरे । उनका अनुसार परीक्षण उत्पादनमै यो इँटाको माग अपेक्षाकृत बढी छ । मागअनुसार उत्पादनको मात्रा थप्दै लैजाने भन्दै काफ्लेले जिल्लामै नौलो मानिएको र भूकम्प प्रतिरोधी भएकाले यसको प्रयोगमा आकर्षण बढ्ने बताए।
अहिले उत्पादनमा संलग्न मजदुरले उत्पादन कलाबारे अरुलाई समेत जानकारी गराउन सक्ने भएकाले उत्पादन बढाउनुपरे मजदुर अभाव नहुने समेत उनले बताए । माटोलाई पोलेर बनाइने इँटाको उत्पादन पनि कमै मात्रामा हुने यहाँ इन्टरलक इँटाको उत्पादन प्रक्रियाबारे धेरैले चासो राख्ने गरेका छन् । इँटा उत्पादन प्रक्रिया बुझ्न दिनहुँ उत्पादन स्थलमा मान्छेको भीड लाग्ने गरेको उनी बताउँछन्।
प्रकाशित: १९ वैशाख २०७५ ००:५७ बुधबार