४ वैशाख २०८१ मंगलबार
राजनीति

विकास र समृद्धिमा गैससको भुमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

मकवानपुर– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकार र राजनीतिक दल गलत बाटोमा लागेमा नागरिक समाजले दिशाबोध गराउनुपर्ने बताएका छन्। गैरसरकारी संस्था महासंघ नेपाल ३ नम्बर प्रदेशस्तरीय नागरिक सम्मेलन तथा प्रथम अधिबेशनको मंगलबार हेटौंडामा उद्घाटन गरेपछि उनले सरकारका कामहरु नागरिक समाजले स्वतन्त्र र निष्पक्ष रुपमा नियाल्नुपर्नेमा जोड दिए।

अधिकाँश गैरसरकारी संस्थाले गरेका कामहरुबाट नागरिक सन्तुष्ट नभएको भन्दै उनले जनतालाई सन्तुष्टी दिलाउने गरी काम गर्नुपर्ने बताए। केन्द्र र प्रदेश सरकारले गरेका राम्रा कामहरुलाई  नागरिक समाजले सघाउनुपर्ने भन्दै उनले विकास र समृद्धीका लागि गैरसरकारी क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने तर्क गरे।

सरकारको सहयोगी अंगको रुपमा गैरसरकारी संस्थाहरुलाई विकास गरिनुपर्ने बताउँदै उनले संस्थाहरु पनि पारदर्शी हँुदै देखिने गरि काम गर्नुपर्ने जिकिर गरे। ‘अबका दिनमा परिमाणमुखी काम गर्नुपर्ने अहिलेको आबश्यक्ता हो,’ उनले भने ‘विकास र समृद्धीका लागि गैरसरकारी संस्थाहरुको पनि महत्वपूर्ण भुमिका देखिनुपर्छ।’ गैरसरकारी संस्थाहरुले अब नागरिकले प्रभावकारी अनुभुती हुने गरी काम गर्न आग्रह गर्दै उनले गैससलाई बिकास गर्न प्रदेश सरकारले भुमिका खेल्ने बताए। समृद्ध नेपाल र प्रदेश निर्माण गर्नका लागि सबैको दायित्व भएकाले त्यसमा गैससको ठुलो दायित्व रहेको उनले बताए।

कार्यक्रममा प्रदेश नम्बर ३ का साँसदद्वय मुनु सिग्देल, कुमारी मोक्तान, गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष गोपाल लम्साल, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठकलगायतले बदलिदो परिवेशमा गैससहरुले पनि आफुलाई परिमार्जन गर्नुपर्नेमा जोड दिदै गैससले सहज ढंगले काम गर्ने वातावरण निर्माणमा स्थानीय र प्रदेश सरकारले भुमिका खेल्नुपर्नेमा जोड थिए।

प्रकाशित: १८ वैशाख २०७५ १५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App