coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सरकारी अस्पतालमा बेथिती : कमसल स्लाइन पानीले बिरामीको ज्यान जोखिममा

रौतहट– रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ। गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी रहेको छ। 

नेपाल सरकारद्वारा निःशुल्क वितरण हुँदै आएको युरो लाइफ हेल्थ केयर हरिद्वार भारतमा निर्मित ५०० एमएलको रिंगर ल्याक्टेड (आरएल) स्लाइन पानी कमसल भएको देखिएको छ। क्षेत्रीय मेडिकल स्टोर पथलैया बाराले जिल्ला अस्पताल गौरमा पठाएको करिब पाँच हजार बोतल आरएल गुणस्तरहीन भएकोले विरामीलाई चढाउँदा झन् ज्यानै जोखिममा पर्ने गरेको स्रोतको दाबी छ।
सोमबार राति सर्पले टोकेर जिल्ला अस्पताल गौरमा उपचारका लागि भर्ना भएका चार बिरामीलाई जीवन जोगाउन अस्पतालको आकस्मिक कक्षका चिकित्सकहरुले सरकारद्वारा निःशुल्क रुपमा वितरण हुने आरएल चढाउँदा एकै छिनमा चारै जनामा रिएक्सन भएको थियो। आरएलको कारण नै चिकित्सकको भाषामा विरामीलाई राइगर भएको थियो। राइगर भनेको मानव शरीरको तापक्रम घटाएर जाडोले जस्तो शरीर काम्ने अवस्थामा पु-याउनु हो। शरीरको तापक्रम अत्यन्त न्युन भएपछि निगरानी भएन भने मानिसको मृत्यु पनि हुन सक्ने खतरा राइगरले उत्पन्न हुन्छ। 

इनर्वाका नीरज प्रसाद कुशवाहालाई गोमन सर्पले टोकेर गम्भीर अवस्थामा सोमवार राति जिल्ला अस्पताल गौरमा पु-याउँदा आकस्मिक कक्षका चिकित्सक पंकज ठाकुरले ज्यान जोगाउनको लागि आरएल चढाएका थिए। कुशवाहालाई एन्टि स्नेट भेनम नामक लगाउँदा पनि अवस्था झन् खराब हुँदै हात खुटा चिसो हुन थालेपछि चिकित्सकलाई गाह्रो भएको थियो। गोमन सर्पले टोकेको औषधि नै दिइरहेको र स्लाइन पानी पनि चढाइरहेको कारण कुशवाहाको अवस्था सुधार हुनुको साटो झन् खराब हुँदै गएको थियो। लगत्तै कर्कचकी कुन्ती कुमारीलाई पनि करैत सर्पले टोकेको भनी अस्पतालमा भर्ना गरियो। दुवैजनालाई विषालु सर्पको टोकाइको कारण विष फैलिसकेको थियो र एन्टि स्नेक भेनमसँगै आरएल चढाउँदा दुवै बिरामीको हात खुटा तथा पूरै शरीर चिसिएर काम्न थालेपछि चिकित्सक ठाकुरलाई आरएलमाथि शंका लागेर बाहिरबाट मगाई चढाउन सुरु गरे। त्यसपछि दुवै विरामीको अवस्थामा सुधार आएको चिकित्सक ठाकुरले बताएका छन्। नीरजलाई १८ र कुन्तीलाई १७ भाएल एन्टि स्नेक भेनम दिएपछि दुवैजना विषमुक्त भएको ठाकुरले बताए।

भारतबाट आएका सर्पले टोकेका दुई बिरामीलाई पनि आरएल चढाउँदा पनि सोही अवस्था दोहोरिएको अस्पतालको भनाइ छ। सरकारले अनुदानमा दिएको आरएल स्लाइन पानी चढाउँदा ८० प्रतिशत बिरामीमा रिएक्सन हुने गरेको चिकित्सक ठाकुरको भनाइ छ। 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण साहले सरकारी स्लाइन पानीले समस्या निम्त्याएको स्वीकार गर्दै जिल्ला अस्पतालमा आउने कुनै पनि बिरामीलाई नचढाउन मंगलवारदेखि रोक लगाएका छन्। यस विषयमा क्षेत्रीय मेडिकल स्टोर पथलैया बारालाई लिखित जानकारी गराइसकेको पनि डा. साहले बताएका छन्। अस्पतालका विरामीलाई आरएलको सटा डेस्ट्रोज ५ चढाउन सुरु गरिएको छ। प्रतिदिन सयको हाराहारीमा विरामी आउने गरेकोमा १५ देखि २० जना विरामी भर्ना भएर स्लाइन पानी चढाउनु परेको डा. साहले बताएका छन्।

जिल्लाको प्रमुख स्वास्थ्य संस्थाको रुपमा रहेको जिल्ला अस्पताल आफैँ बिरामी भएको छ। ५० सैयाको जिल्ला अस्पतालमा खानेपानीको अभाव छ। अस्पतालको शौचालय खत्तम भइसकेको छ। जेनेरेटर बिग्रिएर थन्किएको छ। लाइन कटेपछि अस्पताल ऊर्जाबिहीन बन्ने गरेको छ भने साबुन, तौलिया लगायतका सरसफाइ सामग्रीको अभावमा अस्पताल आफैँ बिरामी भएको छ। ल्याबमा अधिकांश चेकजाँचको लागि रसायनको अभाव भएको छ भने पहिले ७० प्रकारको औषधि पाइने जिल्ला अस्पतालमा ३५ प्रकारको औषधि मुस्किलले पाइरहेको अस्पताल प्रमुख डा. साहको भनाइ छ।

सीपयुक्त जनशक्ति अस्पतालमा रहेको तर स्रोत साधनको अभावमा विरामीलाई सेवा सुविधा प्रदान गर्न नसकिएकोमा आफूलाई निकै दुख लागेको चिकित्सकहरु बताउँछन्। सुविधाको अभावमा गम्भीर प्रकृतिको विरामी आउने बित्तिकै प्राथमिक उपचार गरेर तुरुन्तै रेफर गर्नु दुखद बाध्यता भएको डा. साह बताउँछन्। नगरपालिकाले अस्पताललाई कुनै बजेट नदिएको कारण जिल्ला अस्पताल रेफरल अस्पतालमा परिणत हुँदै गएकोमा स्थानीयबासी चिन्ता व्यक्त गर्न थालेका छन्।

प्रकाशित: १८ वैशाख २०७५ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App