७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘मुलुक कांग्रेस सभापतिकै नीतिमा अघि बढेको छ, उहाँ कसरी असफल ?’

काठमाडौं– नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले सहमतिकै आधारमा पार्टीका पदाधिकारी चयन हुने विश्वास दिलाएका छन्। रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘पार्टी सभापतिजीले सर्वसम्मतीमै पदाधिकारी चयन गर्नको लागि बैठक २१ गते डाक्नुभएको छ, मतदान नै गर्ने हो पनि सभापतिसँग सम्मानजनक बहुमत छ।’

उनले निर्वाचनमा पराजयको समीक्षा गर्दै आफ्नो चुनौतीलाई सामनासहित काँग्रेस अघि बढ्ने बताए। आफूहरु लोकतान्त्रिक पार्टी भएकाले विवादहरु भएपनि त्यसको व्यवस्थापन गर्दै यही वैशाख २१ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारीको मनोनयन गर्ने जानकारी दिए। उनले २१ गतेको बैठक कसैलेपनि बहिष्कार नगर्ने स्पष्ट पारे।

आउने चुनावमा कांग्रेसलाई सशक्त बनाउनको लागि पार्टीभित्र आन्तरिक एकता मजबुद हुनुपर्ने उनको भनाई थियो। उनले भने, ‘हाम्रो पार्टीमा नेतृत्व भनेको सामूहिक हुन्छ, एमाले–माओवादीजस्तो एक जनाले जे भन्यो त्यही हुने होइन।’

पूर्व मन्त्री समेत रहेका नेता विश्वकर्माले आफूले धेरै पहिलेदेखि नै एमाले–माओवादीबीच एकता होस् भनेर शुभकामना दिएको उल्लेख गर्दै फेरि पनि चाँडो भन्दा चाँडो एकता होस् भन्ने पक्षमा आफू रहेको बताए।

अहिले मुलुक कांग्रेस सभापतिकै नीतिमा अघि बढेको दाबी गर्दै उनले कसरी सभापति असफल भन्दै प्रश्न गरे। उनले भने, ‘सभापतिजी सफल हुनुहुन्छ, कांग्रेसले खेल जित्नको लागि मैदान भत्काउने काम गरेन, सभापति देउवाले संविधान कार्यान्वयनको लागि चुनाव गराएर छोड्नुभयो।’ 

सभापति देउवालाई ‘अनपुपलर’ बनाएर कांग्रेसलाई कमजोर बनाउनेहरुले असफल भनेर आरोप लगाएपनि अहिले मुलुक देउवाकै नीतिमा अघि बढेकोले सभापति सफल भएको उनको दाबी थियो।

उनले भने, ‘हिजो गिरिजाप्रसाद कोइराला जुन परिस्थितिमा हुनुहुन्थ्यो, आज देउवापनि त्यही परिस्थितिमा हुनुहुन्छ, गिरिजा कोइरालाजस्तै सफल सभापति भएर देउवाजी अघि बढ्नुहुन्छ।’

प्रकाशित: १८ वैशाख २०७५ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App