coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘सिन्डिकेट, तस्करी र बेथिती नियन्त्रण गर्दा अधिनायकवाद आउँछ भने थुप्रै पटक ल्याउछौं’

दोलखा– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा स्थिरता र समृद्धिका निम्ती लागिपरेको वर्तमान सरकारको कामबाट अत्तालिएर विपक्षीले अधिनायकवादको आरोप लगाएको बताएका छन्। 

कांग्रेस नेतृत्वले वर्तमान सरकारले अधिनायकवादी शासन शुरु गर्न लागेको आरोप लगाईरहेका बेला विपक्षीतर्फ संकेत गर्दै मन्त्री ज्ञवालीले सरकारको जनप्रिय कामबाट आँत्तिएर अधिनायकवादको हल्ला चलाउदै हिँडेको आरोप लगाए। 

कांग्रेस सभापति शेरबहादुर देउबाले १० दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकमा अधिनायकवादी शासन व्यवस्था शुरु हुन लागेको आरोप लगाएका थिए। 

‘सुन तस्करी, गुण्डागर्दी, सिन्डिीकेट र बेथिती बिरुद्ध सरकार कठोर रुपमा उत्रदा अधिनायकवाद भनेको हो भने यस्ता अधिनायकवाद थुप्रै आउछ’, मंगलबार दोलखा सदरमुकाम चरिकोटमा एक पुस्तकालय भवनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले भने– ‘बेथितीविरुद्ध कठोर बनेको सरकारलाई तस्करको पक्षमा ‘लिवरल’ बनाउन कसैले नखोजे हुन्छ।’ 

उनले सुन तस्कारी प्रकरणमा लहरो तान्दा पहरो खस्न थालेको, गुण्डागर्दी र सिन्डिकेट विरुद्ध सरकार निर्ममताका साथ प्रस्तुत भइरहेको, बेथिती नियन्त्रणमा लागिरहेको बताउदै मुलुकको समृद्धि र विकासमा सदैव सहयोग गर्न आग्रह गरे। 

मन्त्री ज्ञवालीले सिंगो जीवन देशको प्रजातन्त्र र अधिकारका लागि लडेका व्यक्तीले सरकार चलाइरहेकाले अधिनायकवादको कल्पना पनि गर्न नसक्ने बताए। ‘प्रजातन्त्रका लागि १४ बर्ष जेल जीवन र कारावास भोगेको व्यक्तीबाट अधिनायकवाद आउछ भन्ने कुरा कल्पना पनि गर्न सकिदैन’, उनले भने। 

मन्त्री ज्ञवालीले दण्डहिनता र बेथिती नियन्त्रण गरेर विकासका ढोकाहरु खोल्नु सरकारको बिशेष प्राथमिकतामा रहेको सुनाए। उनले वर्तमान सरकारकै पालामा १५ हजार मेगावाट बिजुली थप्ने, ५ बर्षभित्र कृषिमा देशलाई आत्मनिर्भर बनाउने, रक्सौल काठमाडौं र केरुङ लुम्बीनी रेल जोड्ने, रोजगारीका लागि विदेशीनुपर्ने अवस्था अन्त्य गर्ने गरी सरकारले काम गरिरहेको सुनाए।

मन्त्री ज्ञवालीले लामो संघर्षपछि देशमा राजनितिक स्थायित्व प्राप्त भएकाले अब विकास र समृद्धिको यात्रा शुरु भएको बताउँदै वर्तमान सरकारको काममा सहयोग गर्न विपक्षीलाई आग्रह गरे। ‘हामीले राजनीतिक लडाई पहिल्यै लडिसक्यौ, अब विकास र समृद्धिको मात्र लडाई लडौं’, उनले भने। उनले संसदमा सत्तापक्ष र प्रतिपक्ष रहेपनि राजनीतिक संस्कार नै बदलेर भएपनि देश विकासमा एक भएर उभिन कांग्रेसलाई आग्रह गरे। 

उनले वर्तमान सरकारको विकास योजना र देशले थालेको समृद्धि यात्रामा छिमेकीहरुले समेत साथ दिने बताए। ‘हामीले दुवै छिमेकीहरुलाई भनिसकेका छौं’ उनले भने– ‘अब उहाँहरुले समेत देशको समृद्धि र विकासको यात्रामा सहयोग गर्नुहुनेछ।’ 

प्रकाशित: १८ वैशाख २०७५ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App