७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपा नेपालमा विवाद बढ्दो

इटहरी- राप्रपा नेपालका अध्यक्ष कमल थापा पूर्वाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रममा यही भदौं १४ गते धरान आउने तयारीका क्रममा नेता–कार्यकर्ता दुई खेममा विभाजित भएर विवाद चुलिएको  छ।

राप्रपा नेपालका नेता–कार्यकर्ता राजावादी नेता सुनसरीका सिनेट श्रेष्ठले खोलेको बृहत्त राष्ट्रवादी मोर्चामा गएमा कारबाही गर्नुपर्ने र गर्न नहुने पक्षमा विभाजित हुँदा विवाद चुलिएको हो। नेता–कार्यकर्ता दुई खेममा विभाजित हुँदा शनिबार इटहरीमा पार्टीका केन्द्रीय सदस्य रामकुमार सुब्बाको घरमा प्रशिक्षण कार्यक्रम सफल पार्न आयोजित बैठकमै एक–अर्काबीच विवादले गर्दा तनाब सृजना हुन पुग्यो। विवादले गर्दा राप्रपा नेपालको प्रशिक्षण कार्यक्रममै असर गर्ने भएको छ।

बैठकमा राप्रपा नेपाल सुनसरीका अध्यक्ष प्रेमप्रसाद भट्टराईले पार्टीमा छँदाछदैं श्रेष्ठले खोलेको राष्ट्रवादी मोर्चामा संलग्न हुने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका थिए। तर, बैठकमा सहभागी राप्रपाका केन्द्रीय नेता र अन्य जिल्लास्तरका नेताले श्रेष्ठ र राप्रपा नेपालको उद्देश्य मिल्दोजुल्दो भएकाले गर्दा कारबाही गर्न नहुने अडान राख्दा विवाद चुलिएको हो।

‘मेरो मान्यता पार्टीमा हुँदाहुदैं राष्ट्रवादी मोर्चामा बस्न पाइदैन्,’ राप्रपाका जिल्ला अध्यक्ष भट्टराईले भने, ‘कि त पार्टीबाट राजीनामा दिएर मोर्चामा बस्दा कुनै आपत्ती हुदैन् । पार्टीमा हुँदाहुदैं कोही मोर्चामा जान्छ भने म कारबाही गर्छु ।’

उनले यदि पार्टीमा छँदैछदैं मोर्चामा आबद्ध हुनेलाई कारबाही गर्न नदिए आफै पार्टी छोड्न पनि तयार रहेको जिकिर गरे । ‘अब पार्टी अध्यक्ष नै आउँदै हुनुहुन्छ, उहाँसँगै बसेर एकपटक कुरा गर्छु। उहाँबाट कस्तो प्रतिक्रिया आउँदो रहेछ अनि विचार गर्नेछुँ,’ उनले भने। उनका अनुसार, अहिले पार्टीबाट गएका कार्यकर्तालाई नरोक्दा भविष्यमा श्रेष्ठको मोर्चा जुनसुकै समूहमा मिल्न सक्ने र पार्टी कमजोर हुँदा पनि सिस्टम बमोजिम अघि बढ्नुपर्छ भन्दा विवाद बढेको हो।

भट्टराईले पार्टीमै रहेर मोर्चामा आबद्ध हुनेलाई कारबाही गर्ने बताएपछि नेता गोपाल कोइरालाले ‘दुवैको एउटै मिसन’ भएकाले गर्दा कारबाही गर्न नहुने अडान राखेका थिए। त्यसपछि कारबाही गर्न हुने र नहुने दुई खेममा नेता–कार्यकर्ता विभाजित भएका हुन्।

पार्टीका कार्यकर्ता मोर्चामा गए कारबाही गर्नुपर्ने पक्षका नेता–कार्यकर्ता केन्द्रीय समितिको निर्णय नै ढुलमुले भएको बताउँछन्।

प्रकाशित: १२ भाद्र २०७३ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App