काठमाडौं–सधैं भुइँमान्छेका कविता लेख्दै आएका डोट्याली कवि हेमन्त विवशले मजदुर दिवसका दिन मंगलबार राजधानीमा मजदुरका कथा, व्यथा र संर्घष समेटिएका चोटिला कविता सुनाएका छन्।
छायाँछवी क्रियशनको सातौं काव्य सृङखलामा उनले सुदूरपश्चिमेली भाकामा गरिब, किसान, मजदुरका आवाज ओकले। पसिनामा रमाउने मजदुरमाथि शोषण गर्ने मालिकविरुद्ध उनले औंला ठड्याए।
प्रश्न शीर्षक कविताबाट वाचन सुरु गरेका विवशले देशको खोजी, तम्रो राज्य, आँधीहुरी, हली, कतारको रैबार, गोसाइँ तमिले कस्तो मुटु बोकेका छौ ?, घमन्ड, सुकुम्बासी सपनासहित एक दर्जन कविता सुनाए । उनका कविताले वाह! वाही प्राप्त गरे।
उनले छन्दमा समेत केही कविता वाचन गरेर माहोल तताए। ‘कवि विवशका कविता उत्कृष्ट लाग्यो’, कार्यक्रममा संगीतकार बुलु मुकारुङले भने, ‘विम्ब, प्रतिक र भावनाका दृष्टिले उनका सबै कविता उत्कृष्ट छन् ।’
उक्त सृङखलामा छायाँछवीले विवशसँगै गजलकार सीता प्याकुरेललाई उभ्याएको थियो । प्याकुरेलले मायाप्रेमका १० वटा गजल वाचन गरेर मन जितिन् । उनले पनि वान्समोर पाइन् ।
‘नेपाली साहित्य कला र संस्कृतिको उत्थान, छायाँछवी काव्य सृङखला हाम्रो बेग्लै अभियान’ नाराका साथ क्रियशन अघि बढेको सृङखलाकि संयोजक रश्मि रोदनले जानकारी दिइन्।
प्रकाशित: १८ वैशाख २०७५ ११:०७ मंगलबार