coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु

सोल- दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ।

उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको थियो । दक्षिण कोरियाको सैनिक स्रोतलाई उद्धृत गर्दै दिइएको समाचारमा सीमा क्षेत्रबाट उक्त कार्यालय मङ्गलबार हटाइएको बताइएको छ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाले विगत लामो समयदेखि  प्रचार कार्यालय राखेर उत्तर कोरियाका विरुद्धमा प्रचार गर्दै आएको थियो। दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक सैनिक समूह राखेर उत्तर कोरियाका विरुद्धमा प्रचार गर्ने गरेको थियो।

उक्त क्षेत्रमा ठूलो आवाजका साथ माइक लगाएर उत्तरका विरुद्धमा दक्षिण कोरियातर्फका नागरिकलाई जानकारी दिने गरिएको थियो।गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको थियाे । सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने जनाएका थिए।

गत शुक्रबारको उक्त सम्झौताको पालना गर्दै दक्षिण कोरियाले उत्तरको सीमामा राखिएको उक्त प्रचार संयन्त्र हटाएको जनाएको हो। दक्षिण कोरियाको रक्षा मन्त्रालयले सो कुराको जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ।उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको र शान्तिग्रामका रुपमा चिनिएको पानमुनजोममा भएको सो शान्ति सम्झौताको पालना गर्ने पहिलो पहलस्वरूप सो संयन्त्र हटाउने निर्णय गरिएको हो।

दुई कोरियाली उच्च नेताहरूबीच भएको यो सम्झौताले कोरियाली प्रायद्वीपमा शान्तिको पहल गर्ने देखिएको छ । यस कार्यालय हटाएपछि उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।यस सम्झौताले विशेषगरी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच थप आशा जगाएको छ । उनीहरुमा पुनर्मिलन हुनसक्ने आशा दुई कोरियाबीचको यो पछिल्लो वार्ता र सम्झौताले थपेको बताइएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएबाट पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा ठूलो परिवर्तन आएको छ ।उनको यो प्रतिबद्धताका कारण कोरियासँग वार्ता गर्न अरु देशहरु पनि इच्छुक भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनसँग भेट्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने जानकारी हालैमात्र दिएका थिए।उनले उत्तर कोरियाले अरु देशहरुसँग गरेका वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपमा अघि बढिरहेकाले नेता उनसँग आगामी केही हप्तामा अमेरिकाले पनि वार्ता गर्ने बताएका हुन्।रासस

प्रकाशित: १८ वैशाख २०७५ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App