७ वैशाख २०८१ शुक्रबार
समाज

हावाहुरी र असिनापानीले लाखौँको बालीनालीमा असर

दाङ – आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ।

असिना पानीले देउखुरीको लमहीको कोलही क्षेत्रदेखि गढवा क्षेत्र तथा अन्य क्षेत्रमा लगाइएका तरकारी बालीमा व्यापक क्षति पु-याएको त्यहाँका किसानले बताएका हुन्। देउखुरीमा बेमौसमी खेतीका रुपमा प्रख्यात बगर खेतीमा फल्न थालेका बोडी, भिन्डी, करेला र लौका खेतीमा व्यापक क्षति पु-याएपछि त्यहाँका किसान निराश छन्।

‘आइतबारको असिना पानीले खेतबारीको सबै तरकारी खेती नष्ट गरिदिएको छ, अब हातमुख जोर्ने विकल्पसमेत रहेन’, तरकारी किसान कुन्ती चौधरीले भनिन्। उनी जस्तै देउखुरीमा व्यावसायिक तरकारी खेती गर्ने करीब १०० भन्दा बढी परिवार यसबाट प्रभावित भएका छन्। त्यसैगरी रामपुरको बुका क्षेत्रमा पनि बेमौसमी तरकारी खेती हावाहुरी र असिनाले सखाप बनाएको त्यहाँका किसानले बताएका छन्।

बेमौसमी तरकारी बालीमा क्षति पु-याएसँगै सोमबारदेखि देउखुरीमा तरकारीको भाउ अचाक्ली बढेको उपभोक्ताले बताएका छन्। तरकारीको मूल्य पनि करीब दोब्बर महँगो भएको लमहीकी उपभोक्ता यमुना केसीले बताइन्।

हावाहुरीसँगै जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ। असिना, हावाहुरी र चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा विद्युत्का पोलमा क्षति पु-याउँदा आइतबार रातिदेखि विद्युत् सेवा कहीँ ठप्प तथा कहीँ अनियमित रुपमा प्रसारण भइरहेको छ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम सबैभन्दा प्रभावित भएका छन्। कहाँ विग्रिएको छ छ भन्ने पत्ता लगाउन विद्युत्का प्राविधिकलाई समेत हम्मेहम्मे परेको जिल्ला विद्युत् कार्यालयले जनाएको छ।

यसैबीच असिना पानी परेपछि पहाडी क्षेत्र तथा पश्चिम दाङका किसान भने खुशी भएका छन्। मकैबालीका लागि वैशाख १५ पछि उत्तम मानिने भन्दै यही वर्षात्को अवसर छोपी मकैबाली लगाउन थालिएको त्यहाँका स्थानीयवासीले बताएका छन्।

वैशाख पहिलो सातादेखि नै त्यहाँका किसानले मल बीउ र बर्खे तरकारीलगायतको जोहो गरिसकेका हुन्छन्। त्यसैगरी पहाडी क्षेत्रमा समेत मकैबाली लगाउन सुरु गरिएको त्यहाँका किसानले जनाएका छन्। मध्य दाङको समथर भागमा भने जेठ पहिलो सातालाई मात्रै मकैबालीका लागि उपयुक्त मौसमका रुपमा लिइँदै आएको छ। रासस

प्रकाशित: १८ वैशाख २०७५ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App