coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रदेश नम्बर सात र दुई अन्तिम चारमा

काठमाडौं – प्रदेश नम्बर दुईले सोमबार प्रदेश नम्बर सातलाई १ विकेटले पराजित गर्दै मनमहोन स्मृति अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ।

प्रदेश नम्बर दुईलाई अन्तिम चारमा स्थान बनाउँन सोमबार जितको विकल्प थिएन । आफुले मात्र जितेर नपुग्ने प्रदेश नम्बर दुईलाई सेमिफाइनलमा स्थान बनाउँनका लागि प्रदेश नम्बर ४ र ५ बीच हुने खेलको नतिजा पनि आफु अनुकुल आउनुपथ्र्यो । सोमबार प्रदेश नम्बर सात र दुईका लागि नतिजा त्यस्तै निस्कियो । दुबैले प्रतियोगताको अन्तिम चारमा स्थान बनाए।

४ टोली सम्मेलित समूह ‘ए’ मा प्रदेश नम्बर सात, दुई र पाँचको समान ४ अंक थियो । तर रन रेटका आधरमा प्रदेश पाँच प्रतियोगिताबाट बाहिरियो । प्रदेश नम्बर सातको  रनरेट १.८७० थियो भने प्रदेश नम्बर दुईको रनरेट १.२०४ थियो । ०.४१४ रनरेट भएको प्रदेश पाँच भने प्रतियोगिताबाट बाहिरियो । समूह ‘ए’ को विजेता प्रदेश नम्बर सातले फाइनल प्रवेशका लागि समूह ‘बी’को उपविजेता प्रदेश नम्बर एकसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ को उपविजेता प्रदेश नम्बर दुई ले समूह ‘बी’को विजेता प्रदेश नम्बर तीनसँग प्रतिस्पर्धा गर्नेछ।

जित्नै पर्ने खेलमा प्रदेश नम्बर दुईका कप्तान निखिल सिंहले टस जितेर प्रदेश नम्बर सातलाई ब्याटिङको निम्तो दिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राहुल भण्डारीले अर्धशतक बनाएपछि प्रदेश नम्बर सातले निर्धारित ३० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल बनायो । राहुलबाहेक प्रदेश नम्बर सातका नारायण जोशीले ३०, ओपनर राजन सिंहले २९, सुवाश अयरले २२ रन बनाए । विनोद खत्रीले १७ रन बनाउँदा रोशन साउदले १४ रन जोडे । प्रदेश नम्बर दुईका निखिल सिंहले दुई रन लिँदा विवेक यादव, व्यास यादव, विक्रम कुशवहा, तिर्थराज दास र सामसद अलि मन्सुरीले १÷१ विकेट लिँए।

१ सय ९७ रनको लक्ष्य प्रदेश नम्बर दुईले २८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको थियो । प्रदेश नम्बर दुईका अमित यादव र विवेक यादवले अर्धशतक पूरा गरे । प्रदेश नम्बर दुईले राम्रो सुरुआत गर्न सकेको थिएन । सुरुमै ओपनर इमरान शेख शुन्य रनमा आउट भएपछि टोली दबाबमा परेको थियो । त्यसपछि अमित यादव र तिर्थराजले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ सम्हाल्ने प्रयास गरे । तर थप १० रन जोड्दा अर्को तीन विकेट गुमाएपछि टोली पूनः दबाब पर्यो । तिर्थराज १९ रन बनाए पवेलियन फर्किदा सुजित शाह २ र निखिल सिंह १ रन बनाएर आउट भए । तर अमित यादव र सहिल पटेलले पाँचौं विकेटका लागि ६९ रनको साझेदारी गर्दै टोलीको आशा जगाए।

अमित यादवले ५९ रनमा ४ चौका र १ छक्कासहित ६१ रन बनाए । साहिल पटेलले २९ बलमा ३१ रन जोडेर आउट हुदाँ प्रदेश नम्बर दुई १३६–६ को स्थितीमा थियो । थप १ रन जोड्दा टोलीले अर्को दुई विकेट गुमाए पछि टोली पूनः दबाबमा पर्यो । तर, विकेक यादवले आक्रमक इनिङ खेल्दै ३४ बलमा ६ चौका र ३ छक्कासहित अविजित ५७ रन बनाएपछि प्रदेश नम्बर सात १ विकेटको विजय हासिल गर्न सफल भयो । प्रदेश नम्बर सातका नारायण जोशी, महेश साउद, नरेन्द्र साउद र राहुल भण्डारीले समान २ विकेट लिए।

सोमबारै प्रदेश नम्बर पाँचले प्रदेश नम्बर चारमाथि ९ विकेट विजय हासिल गरे पनि अन्तिम चारमा स्थान बनाउन सकेन। त्रिवि क्रिकेट मैदानमै टस हारेर ब्याटिङका लागि निम्त्याइएको प्रदेश नम्बर चारले ९ विकेट गुमाएर ७७ रन बनाएको थियो।

प्रदेश चारका अनित बरालले १६ तथा दीपेन्द्र श्रीसले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रदेश पाँचका नविन भट्टराईले ३ तथा आयुश पाण्डेले २ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो।

७८ रनको लक्ष्य प्रदेश पाँचले ९.१ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । ९.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरे पनि टोली सेमिफाइनल पुग्न असफल रह्यो । ओनर कुशल मल्ल शुन्य रनमा आउट भएपछि विशालविक्रम केसीले अविजित ३७ र सिजन माकाजुले अविजित ३६ रन बनाउँदै लक्ष्य पूरा गरेका थिए।

प्रकाशित: १८ वैशाख २०७५ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App