८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

क्षेप्यास्त्र आक्रमणमा सरकार समर्थित कैयौं लडाकुको मृत्यु

दमास्कस – उत्तरी सिरियास्थित सैन्य क्षेत्रमा रात्रिकालीन समयमा भएको क्षेप्यास्त्र आक्रमणमा परि इरानीसहित सरकार समर्थित कैयौं लडाकु मारिएको विवरण सार्वजनिक भएको छ।

सिरियाली सेनाका अनुसार देशको हामा र अलेप्पो प्रान्तस्थित सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण भएको हो। सरकारी सेनाले आक्रमणमा के कति क्षति भयो भन्नेबारे भने उल्लेख नगरेको बिबिसीले जनाएको छ। तर बेलायत आधारित एक निरीक्षण समूहका अनुसार क्षेप्यास्त्र आक्रमणमा चार सिरियाली र २२ विदेशी नागरिकको मृत्यु भएको छ। मारिने २२ मध्ये धेरै जसो इरानी नागरिक भएको पनि उक्त समूहलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। सिरियाली राष्ट्रपति बसर अल–असद सरकार समर्थित लडाकुको शिविरलाई लक्षित गरेर कसले आक्रमण ग-यो भन्ने विषय भने अझै अज्ञात रहेको बताइएको छ। यसअघि पश्चिमा राष्ट्रहरु र इजरायलले सिरियाली सरकार समर्थित सैन्य शिविरमा आक्रमण गरेका थिए। यसै महिनाको सुरुवातमा संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्सले सिरियाली सरकारको रासायनिक हतियार कार्यक्रमसँग सम्बन्धित रहेको भन्दै तीन वटा केन्द्रमा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेका थिए।

इरानको ड्रोन कमान्ड केन्द्रका रूपमा काम गरिरहेको हवाई शिविरमा इजरायलले आक्रमण गरेको र अत्याधुनिक इरानी हवाई सुरक्षा प्रणालीलाई रोकेको आरोप लागेको छ। आक्रमणमा मारिने १४ सैन्य अधिकारीमध्ये सात जना इरानी भएको बताइएको छ।

सिरियाली राष्ट्रपति बसर अल–असदलाई सत्तामा राखि रहनका लागि सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि नै इरानले सिरियाली सरकारलाई समर्थन गर्दै सयौं फौज सिरिया पठाइसकेको भन्दै इजरायलले सिरियामा इरानको सैन्य उपस्थितिलाई मजबुत नबनाउन चेतावनी दिँदै आइरहेको छ।

इरानको आर्थिक सहयोगमा हजारौं सिया मुसलमान लडाकुलाई हतियारबद्ध बनाउँदै तालिम दिइएको छ। जसमा अधिकांश हेज्बुल्लाह आन्दोलनबाट रहेको मात्रै नभई इराक, अफ्गानिस्तान र यमनबाट आएका लडाकुले पनि सिरियाली सेनाको पक्षबाट विपक्षीविरुद्ध युद्ध लडिरहेका छन्। आइतबार राति सिरियाली सैन्य क्षेत्रमा गरिएको आक्रमण नयाँ अतिक्रमणको सुरुवात भएको सिरियाली स्रोतलाई उद्धृत गर्दै सिरियाली सरकारको आधिकारिक समाचार एजेन्सी सानाले  जनाएको छ। देशको राजधानी दमास्कस नजिकै रहेको पूर्वी गुटा क्षेत्र विद्रोही नियन्त्रणबाट मुक्त गराइएको उदाहरण दिँदै सरकारी स्रोतले ‘आतंकवादी संगठन’ को हारको उपज आइतबार रातिको आक्रमण भएको आरोप लगाएको छ।

बेलायत आधारिक पर्यवेक्षण संस्था ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)’का अनुसार देशको दक्षिणी क्षेत्रमा रहको हामा सहरस्थित ४७औं बिग्रेडमा जमिनबाट जमिनमा मार हान्ने एउटा क्षेप्यास्त्र प्रहार गरिएको थियो। सिरियामा सरकार विरोधी समूह समर्थित ओरियन्ट न्युजको वेबसाइटले पनि सरकार समिर्थत सैन्य शिविरमा आक्रमण भएको र त्यसबाट ठूलो विस्फोट भएको आवाज आएको उल्लेख गरेको छ। यसैबीच विपक्षीका सञ्चार अभियन्ता मोहम्मद रासिदले एसोसियटेड प्रेसलाई दिएको जानकारीअनुसार सिरियाली सेनाको उक्त डिपोमा भएको विस्फोटनको भग्नावशेष हामामा छरिएको अवस्थामा देखिएको बताउँदै आक्रमणपछि त्यस सैन्य शिविर क्षेत्रमा बसिरहेका सर्वसाधारण उक्त क्षेत्रबाट भागेको बताएका छन्। सरकार समर्थितले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा विस्फोटन भएको दृश्य देखिएका छन्।

क्षेप्यास्त्रले हामा सहरको साल्हाब क्षेत्र र त्यसको नजिकै रहको नाइरब सैन्य विमानस्थलको क्षेत्रमा रहेको सैन्य इलाकामा आक्रमण गरेको विवरण बाहिरिएका छन्। ती क्षेत्र अलेप्पो सहरमा नजिकै र अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको बताइएको छ।

एसओएचआरले आफ्नो स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार क्षेप्यास्त्र आक्रमणमा २६ जना सरकार समर्थित लडाकु मारिएका छन् जसमा अधिकांश इरानी रहेका छन्। उक्त संस्थाअनुसार ६० जना लडाकु घाइते रहेकाले मृतकको संख्यामा वृद्धि हुनसक्छ। घाइतेमध्ये पनि केहीको अवस्था चिन्ताजनक रहेको र केही लडाकु हराइरहेको उक्त संस्थाले जनाएको छ। इरान र हेज्बुल्लाह संलग्न रहेको गठबन्धनको आधिकारिक व्यक्तिले ‘न्युयोर्क टाइम्स’लाई बताएअनुसार क्षेप्यास्त्र हमलाका कारण ४७औं बिग्रेड शिविरमा रहेका दुई सय क्षेप्यास्त्र ध्वस्त भएका छन् भने आक्रमणका कारण १६ जनाको मृत्यु भएको छ जसमा ११ जना इरानी रहेका छन्। इरानको अर्धआधिकारिक फार्स समाचार एजेन्सीले आफ्नो स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार दक्षिणी हामामा रहेको सरकार समर्थित फौजको हतियार डिपो र उत्तरी अलेप्पो विमानस्थलमा क्षेत्रमा क्षेप्यास्त्र आक्रमण भएको जनाए पनि इरानी सैन्य सल्लाहकार मारिएको भने अस्वीकार गरेको छ। इरानको तास्निम समाचार एजेन्सीले पनि अज्ञात स्रोतलाई उद्धृत गर्दै इरानी शिविरमा आक्रमण भएको र इरानी नागरिक मारिएको विषय अस्वीकार गरेको छ। निशानको प्रकृतिलाई हेर्दा आक्रमण इजरायलले गरेको जस्तो देखिएको पर्यवेक्षण संस्था एसओएचआरले जनाएको छ। तर इजरायली इन्टलिजेन्स मन्त्री यिजरायल काट्जले आफूलाई आक्रमणबारे जानकारी नभएको सोमबार बिहान बताएका थिए।

‘सिरियामा भइरहेको सबै हिंसा र अस्थायीत्व इरानले उक्त क्षेत्रमा सैन्य उपस्थिति देखाउनलाई गरेको प्रयासको नतिजा हो। सिरियामा उत्तरी मोर्चा खोल्न इजरायलले कुनै पनि हालतमा दिँदैन,’ मन्त्री काट्जले इजरायली सैन्य रेडियोलाई बताए । इरानका वरिष्ठ सांसद अलाद्दिन बोरोजेर्दीले सोमबार बिहान सिरियाली राजधानी दमास्कसमा राष्ट्रपति बसर अल–असदलाई भेटेका छन्। भेटमा उनले सिरियाली गृहयुद्ध अन्त्य नभएसम्म इरानले सिरियालाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको बिबिसीले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०७५ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App