coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तयारीमा जुट्यो जनकपुर

रंगभूमि मैदान बाह्रविघामा मोदी भ्रमणको तयारी अवलोकन गर्दै मुख्यमन्त्री राउत (दायाँबाट दोस्रो) लगायत। तस्बिरः सुरेश यादव

जनकपुरधाम – नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर आउने मिति र समय तय भएको छ। यही वैशाख २८ गते बिहान ९ बजे उनी जनकपुर आइपुग्ने गरी समय तालिका बनेको जनकपुर उपमहानगर पालिकाका प्रमुख लालकिशोर साहले जनाए। मोदीको स्वागत र भ्रमण व्यवस्थापनको तयारीमा प्रदेश तथा स्थानीय सरकार सक्रिय भएका छन्।

प्रदेश सरकारका मुख्यमन्त्रीको संयोजकत्वमा स्वागत समारोह मूल समिति गठन गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री विजयकुमार यादवको संयोजकत्वमा अर्थ व्यवस्थापन उपसमिति र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरिएको छ।

त्यस्तै, सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा सरसफाई तथा स्वागतद्वार व्यवस्थापन उपसमिति, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको संयोजकत्वमा प्रचारप्रसार उपसमिति तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरिएको मन्त्री सोनलले जानकारी दिए।

जनकपुरस्थित रंगभूमि मैदान बाह्रविघामा मोदीको हेलिकोप्टर अवतरणगरी त्यहाँबाट करिब आधा किलोमिटर दुरीमा रहेको जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको मन्त्री सोनलले बताए। उनका अनुसार जानकी मन्दिरबाट पूजापाठगरी पुनः बाह्रविघा मैदानमा फर्केपछि मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखिएको छ।

उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले समारोहका सहभागीलाई सम्बोधन गर्नसक्ने उनले अनुमान व्यक्त गरे। ‘मोदीजी जनकपुर आएपछि सबभन्दा पहिले जानकी मन्दिरमा पूजापाठ गर्ने र बाह्रविघा मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भइसकेको छ’ सोनलले नागरिकसँग भने, ‘नागरिक अभिनन्दनपछि उहाँ (मोदी) ले सम्बोधन गर्न सक्नुहुन्छ तर यसवारे यकिन कार्यतालिका बनिसकेको छैन।’ मोदीलाई नागरिक अभिनन्दन गर्न बाह्रविघा मैदानमा सोमबारै साँझबाट मञ्च निर्माण कार्य सुरु गर्न लागेको मञ्च व्यवस्थापन उपसमितिका संयोजक सोनलले बताए।

मोदी भ्रमणको लागि अनुकुल वातावरण बनाउन तथा सुरक्षा व्यवस्थापनको लागि जानकी मन्दिर, बाह्रविघा मैदान र उक्त क्षेत्रलाई अहिलेदेखि नै सुरक्षा निगरानीमा राखिएको छ। सोमबार मुख्यमन्त्री लालबाबु राउतलगायत मन्त्रिपरिषद्का सदस्यहरु र जनकपुर उपमहानगर पालिकाका प्रमुख, उपप्रमुख लगायत सुरक्षा अधिकारीहरुको टोलीले सुक्ष्म अध्ययन गरेको छ। आइतबार राति वर्षा भएपछि बाह्रविघा जलमग्न छ। उक्त टोलीले मैदानमा जमेको पानी निकासको व्यवस्था तथा भ्रमणको बेला पनि वर्षा हुँदा असर नपर्नेगरी माटो तथा ग्राभेल पुर्ने लगायत कार्यमा गति दिन मातहतका कर्मचारीलाई निर्देशन गरेका छन्।

मुख्यमन्त्री राउतले आफ्नै निगरानीमा पानी निकासको काम गर्न लगाएका छन् भने मैदानबाट जानकी मन्दिर जाने बाटो सुधार, जानकी मन्दिर क्षेत्रको पार्किङ व्यवस्थापन र मन्दिर क्षेत्रको फुलप्रसाद लगायत फुटपाथको बजार व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई तदारुकतासाथ काम गर्न निर्देशन गरेका छन्। ‘मुलुक नयाँ संरचनामा प्रवेश गरेपछि जनकपुरमा मोदी जस्तो अति विशिष्ट व्यक्तित्वको भ्रमण पहिलो पटक हुँदैछ’ मुख्यमन्त्री राउतले भने, ‘उहाँको यो भ्रमण हाम्रो लागि जति ठूलो अवसर छ त्यति नै ठूलो चुनौति पनि हो।’ यस्तो महत्वपूर्ण घडीमा संयता र सावधानीपुर्वक स्वागत र सम्मानको वातावरण बनाउन सम्पूर्ण जिम्मेवार पक्षलाई उनले आग्रह गरे।

मोदीको भ्रमण कार्यक्रमलाई लक्षितगरी गठन गरिएको स्वागत समारोह मूल समितिका संयोजक समेत रहेका मुख्यमन्त्री राउतले सुरक्षा व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेर अन्य तयारी सुरु गरिएको बताए। ‘प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री र संघीय सरकारका गृहमन्त्रीको प्रत्यक्ष समन्वयमा सबै तह र निकायका सुरक्षा अधिकारीहरु एक हप्ता अगावैदेखि सक्रिय छन्’ राउतले भने, ‘भिभिआइपीको सुरक्षा मुख्य कुरो हो। त्यसपछि उनको सम्मानका लागि अन्य तयारीको कामपनि सँगसँगै भइरहेको छ।’

जनकपुर उपमहानगर पालिकाले मोदीको स्वागतका लागि बाह्रविघा मैदानको चारैतिरका पर्खाल, मैदानदेखि जानकी मन्दिरसम्मका सबै घर तथा पर्खाल र जानकी मन्दिर छेउछाउका भौतिक संरचनालाई केशरीया (गेरु) रङले रंगाउने निर्णय गरेको छ। यसका लागि सोमबारदेखि नै काठमाडौंबाट आएको टोलीले काम सुरु गरिसकेको नगर उपप्रमुख रिताकुमारी मिश्रले जानकारी दिइन्।

‘जनकपुरलाई साँस्कृतिक सहरको झल्को दिन हरेक मुख्य सडक छेउछाउमा पर्ने निजी तथा सरकारी सबै संरचनालाई एकैकिसिमको देखिनेगरी केशरीया रंगले रंगाउने हामीले नगरस्तरीय निर्णय गरेका छौं’ उनले भनिन्, ‘मोदीजीको भ्रमण नजिकिएपछि तत्काल उनको आँखा पुग्ने क्षेत्रमा रंगाउन सुरु गरिएको छ ।’

सुरक्षा व्यवस्थामा कडाइ
प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी हरिभक्त प्रजापतिले मोदी भ्रमणलाई लक्षितगरी जनकपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको बताएका छन्। जनकपुरका शंकास्पद होटल लगायत सार्वजनिक स्थान, निजी घर तथा व्यक्ति, समुदाय र इलाकालाई विशेष निगरानीमा राखिनुको साथै सीमावर्ती क्षेत्रमा पनि सुरक्षा चेकजाँच बढाइएको प्रजापतिले बताए।

‘अहिले सीमावर्ती क्षेत्र तथा सुरक्षाको दृष्टिकोणले संवेदनशिल देखिने हरेक ठाउँलाई विशेष निगरानीमा राखिरहेका छौं’ एसएसपी प्रजापतिले नागरिकसँग भने, ‘जिल्ला सुरक्षा समितिका प्रतिनिधिहरुसँग नियमित सम्पर्कमा बसेर हरेक हिसाबले भ्रमणलाई सुरक्षित राख्नेगरी काम भइरहेको छ।’ भिभिआइपीको भ्रमणलाई लक्षितगरी पूर्व, भ्रमणको बेला र भ्रमणपश्चातगरी तीन चरणको सुरक्षा व्यवस्था मिलाइरहेको बताउँदै उनले थपे, ‘भ्रमण पूर्वको सुरक्षा व्यवस्थापन अन्तर्गतका कामहरु गम्भिरतापुर्वक कार्यान्वयन भइरहेको छ।’ भ्रमणको दिन सुरक्षा व्यवस्थापनको दृष्टिकोणले बोर्डर (सीमा) सिल गर्नेवारेमा पनि जिल्ला सुरक्षा समन्वय समितिसँग छलफल भइरहेको उनले बताए।

प्रकाशित: १८ वैशाख २०७५ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App