काठमाडौं – उर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिजुली आपूर्तिमाा सुधार, चुहावट नियन्त्रण लगायतलाई व्यवस्थित गर्न श्वेतपत्र जारी गर्ने तयारी गरेको छ।
श्वेतपत्र बुधबारसम्म जारी गर्ने तयारीमा मन्त्रालय पुगेको हो।सार्वजनिक बिदाका दिनमा पनि कार्यालय आएर श्वेतपत्रलाई अन्तिम रुपम दिने तयारीमा कर्मचारी जुटेका छन् । मंगलबार श्वेतपत्रलाई अन्तिम रुप दिएर बुधबार सार्वजनिक गर्ने तयारी भइरहेको मन्त्रालयको भनाइ छ।
‘सार्वजनिक बिदामा पनि तयारीमा जुटेका छौ,’ ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले सोमबार नागरिकलाई भने, ‘भोलि (मंगलबार) सम्ममा श्वेतपत्रलाई अन्तिम रुप दिने गृहकार्यमा जुटेका छौं।’
ऊर्जा मन्त्रालय स्रोतका अनुसार, हिउँदमा हुने बिजुली अभाव समाधान गर्न जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजनालाई उच्च प्राथमिकता दिई निर्माण गरिने भएको छ । यसैगरी, प्रसारण लाइनको अभावमा उत्पादित बिजुली खेर जान नदिन प्रसारण लाइनमा व्यापक सुधार गरिने छ।
वितरण प्रणालीमा पनि सुधार गरिने छ । बिजुली उपभोग गरी लामो समयसम्म बक्यौता राख्ने ग्राहकका लागि निश्चित समय तोक्ने र तोकिएको समयमा पनि बक्यौता महसुल नतिरे बिजुली काटिने छ।
यस्तै, ठेक्का सम्झौता गरी तोकेको समयभित्र निर्माण तथा अध्ययन सम्पन्न नगर्ने निर्माण व्यवसायी तथा परामर्शदाता कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्ने तयारी समेत गरिएको छ।विद्युत् प्राधिकरणको उत्पादन, प्रसारण एवं वितरण प्रणाली सुदृढीकरण एवं सुधारका कार्य अगाडि बढाउने सरकारी योजना छ।पूर्वऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि २०७४ साउन ३२ गते कार्यादेशसहितको श्वेतपत्र जारी गरेका थिए । तर, त्यो श्वेतपत्र कार्यान्वयनमा आएको थिएन्।
सरकारले आन्तरिक लगानीलाई प्रमुख प्राथमिकता दिँदै निर्माणाधीन र निर्माण सम्पन्न आयोजना उच्च सर्तकता अपनाउन आवश्यकता अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरीलाई समेत परिचालन गरिने भएको छ ।अरुण तेस्रो जलविद्युत् आयोजनामा पटक–पटक बम विस्फोट हुन थालेपछि सरकारले सुरक्षाका लागि सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न यस्तो व्यवस्था गर्न लागिएको ऊर्जा मन्त्रालयको भनाइ छ।
गत शनिबार राती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रशासनिक भवनको कम्पाउन्ड वालमा बम विस्फोट गराएपछि सरकारले सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न लागेको हो।
निजी क्षेत्रको लगानी ऊर्जा क्षेत्रमा ल्याउन थप सहुलियतका कार्यक्रम समेत ल्याउने योजना बनाएको ऊर्जा मन्त्रालय स्रोतको भनाइ छ।केही समयअघि अर्थमन्त्री युवराज खतिवडाले समग्र देशको अर्थतन्त्रबारे जारी गरेका थिए । उनले ल्याएको श्वेतपत्रमा पूर्वाधार तथा ऊर्जामा निजी क्षेत्रले मात्र करिब १० खर्ब रूपैयाँ लगानी गर्नुपर्ने उल्लेख छ।
श्वेतपत्रको तयारीका लागि बिदाका दिन पनि मन्त्रालयसरकारले बुद्ध जयन्तीका दिन सोमबार सार्वजनिक बिदाको घोषणा गरे पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कर्मचारी भने श्वेतपत्र तयारीका लागि भन्दै बिदाका दिन पनि कार्यालय आए।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त क्षेत्रका समस्या समाधान गर्न र भावी योजनाका बारेमा श्वेतपत्र जारी गर्ने तयारी स्वरुप सार्वजनिक बिदामा पनि कर्मचारी कार्यालय आउन बाध्य भएका हुन्।‘सोमबार र मंगलबार गरेर श्वेतपत्रलाई अन्तिम रुप दिने योजनामा छौं,’ ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले भने, ‘सम्भवतः बुधबार श्वेतपत्र जारी हुन्छ होला।’
प्रकाशित: १८ वैशाख २०७५ ०२:५६ मंगलबार