७ वैशाख २०८१ शुक्रबार
अर्थ

गाँजाका कपडा प्रवर्द्धनमा प्रशासनकै अवरोध

काठमाडौं – गाँजाको रेशाबाट बनेका कपडाको माग बढ्दै गए पनि व्यवसायीले यसको प्रवर्द्धनमा सरकारकै अवरोध भोग्नुपरेको छ । गाँजाको रेशाबाट बनेको कपडा बेचेर गाँजा व्यवसायमा सहयोग गरेको भन्दै प्रशासनले बोलाएर केरकार समेत गरेको व्यवसायीले बताएका छन्।

लागू पदार्थको रुपमा प्रयोग हुने गाँजा बेच्न सहयोग गरेको भन्दै कपडा व्यवसायीलाई केरकार गर्ने गरेको काठमाडौं ठमेलमा नेपाल अपेरल्स नामको कपडा पसल चलाइरहेका सन्तोष कार्कीले बताए।

‘गाँजा बेच्न सहयोग गरेको भन्दै प्रशासनले केही समयअघि व्यवसायीसँग इन्क्वायरी (सोधपुछ) गरेको थियो,’ भृकुटीमण्डपमा चलिरहेको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागी कार्कीले भने, ‘लागू पदार्थमा प्रयोग हुने गाँजा र कपडा उपत्पादनमा प्रयोग हुने गाँजा फरकफरक हुन् ।’ लागू पदार्थमा प्रयोग हुने गाँजा र कपडा उत्पादनमा हुने गाँजाको बोट नै फरक हो भन्ने प्रशासनलाई जानकारी नहँुदा व्यवसायीले झन्झट भोग्नुपरेको कार्कीको भनाइ छ।

लागू पदार्थमा प्रयोग हुने गाँजाबाट रेशा निकालेर कपडा बनाउन नसकिने व्यवसायीले बताए । कपडा उत्पादनका लागि चाहिने गाँजा फरक किसिमको भएको उनीहरूको भनाइ छ।
कार्कीले स्थानीय कच्चा पदार्थबाट बनेका कपडाको व्यवसाय गर्न लागेको १० वर्ष भयो। यसबीचमा स्थानीय कपडाको भाग धेरै बढेको उनले बताए । ‘पहिले नेपाली कपडा प्रयोग गर्न उपभोक्ताले खासै रुचाउँदैनथे,’ कार्कीले भने, ‘अहिले यसको फाइदाबारे जान्दै गएपछि माग बढेको छ, माग अनुसार पु¥याउन गाह्रो भइरहेको छ।’

उनले गाँजासहित अल्लो, सिस्नो, बाँस लगायत रेशाबाट बनेका कपडाको व्यवसाय गर्छन् । यी कच्चा पदार्थबाट मानिसले प्रयोग गर्ने हरेक लत्ताकपडा उत्पादन भइरहेको छ । टिसर्ट, झोला, महिलाले प्रयोग नगर्ने ब्याग, पर्स, कोट, टोपी लगायत कपडा उत्पादन भइरहेका छन् । पहिलेपहिले निर्यात हुने र पर्यटकले बढी किन्ने यी उत्पादन पछिल्लो समय नेपालीहरूले पनि प्रयोग गर्न थालेका छन्।

‘अहिले त झन्डै ४० प्रतिशत कपडा स्थानीय उपभोक्ताले प्रयोग गर्न थालेका छन्,’ कार्कीले भने, ‘निर्यात बढ्दै गएको छ ।’ अमेरिका, युरोप, जापान, अफ्रिका लगायत विश्वका धेरै देशमा गाँजा, सिस्नो, अल्लो, बाँसबाट बनेका कपडाको माग बढ्दै गएको छ । यी कपडाको माग बढेसँगै स्थानीय कृषकको आयआर्जन पनि बढेको छ।

यी कपडा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ मुख्य रुपमा पश्चिम नेपालका जिल्लामा उत्पादन हुन्छ । कार्कीले दार्चुला, बझाङ, बाजुरा, बैतडी, रोल्पा, डोल्पा, भोजपुर, दाङ लगायत जिल्लामा यी कच्चा पदार्थ उत्पादन हुने जानकारी दिए । सरकारी पक्षले ध्यान नदिने र कच्चा पदार्थ उत्पादन गर्न लामो प्रक्रिया हुने भएकाले स्थानीय उत्पादनमा समस्या भोग्नुपरेको छ।

व्यवसायीका अनुसार कच्चा पदार्थ उत्पादनसमेत राम्रो छैन । अहिलेसम्म वन, बारीका डिल जस्ता ठाउँमा उम्रेका बोटबाट कच्चा पदार्थ बनाउने गरिएको छ । व्यावसायिक रुपमा खेती छैन । यो कपडा प्रवर्द्धन गर्ने हो भने ठूलो ठाउँमा खेती हुनुपर्ने व्यवसायीको सुझाव छ।

मेलामा सहभागी अर्की व्यवसायी हुन्– डाइमन्ड हेन्डिक्राफ्ट उद्योगकी सञ्चालक बेलमती रोकाया । उनले विगत ६ वर्षदेखि पत्रिका प्रयोग गरेर पेन्सिल उत्पादन गरिरहेकी छन् । ललितपुर गोदावरीमा रहेको उनको कारखानामा अहिले झन्डै एक दर्जन महिलाले रोजगारी पाएका छन् ।‘दैनिक रुपमा प्रकाशित हुने पत्रिका प्रयोग गरेर हमीले पेन्सिल उत्पादन गरिरहेका छौं,’ मेलामा सहभागी रोकायाले भनिन्, ‘यसको माग दिन प्रतिदिन बढ्दै गएको छ।

’ती पेन्सिल स्थानीय पसल, स्कुलमा मात्र नभएर विदेशमा समेत निर्यात हुने उनले बताइन् । हातैले बनाइने पेन्सिल स्थानीय बजारमा १० देखि २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ भने अमेरिकामा एकदेखि १० डलरसम्ममा बिक्री भइरहेको रोकायाले जानकारी गराइन् । ‘हरेक वर्ष १० हजारवटासम्म पेन्सिल निर्यात हुने गरेको छ,’ रोकायाले भनिन् ।उनका श्रीमानले केन्यामा जाँदा देखेको प्रविधिलाई तीन वर्षसम्म अध्ययन र परीक्षण गरेर नेपालमा व्यवसाय सुरु गरेको रोकायाले बताइन्।

मेलामा नौलो आफ्नो मौलिक उत्पादन प्रदर्शनीमा राखेका अर्का व्यवसायी भेटिए, पूर्णरत्न बज्राचार्य । उनले दुई वर्षदेखि मानिसले लगाएका पुराना कपडा प्रयोग गरेर फूल सजाउने गमला बनाइरहेका छन् । मानिसले लगाएर फालेका कपडा, तन्ना प्रयोग गरेर घर, अफिसमा फूल राखेर सजाउने गमला बनाएर व्यवसाय सुरु गरेका छन्।

‘रेजिम, जिप्सम, ग्लु लगायत सामान प्रयोग गरेर यी गमला बनाउन सकिन्छ,’ बज्राचार्यले भने, ‘घर, अफिसमा फूल राखेर सोकेसका रुपमा यो प्रयोग गर्न सकिन्छ ।’ यी गमला दुई सयदेखि दुई हजार रुपैयाँसम्मका रहेको उनले जानकारी गराए।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको मेलामा ७७ जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनका व्यवसायीको सहभागिता छ । शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी मेला मंगलबार सकिन्छ।

 

प्रकाशित: १८ वैशाख २०७५ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App