७ वैशाख २०८१ शुक्रबार
अर्थ

नक्सांकन विवादले हुलाकी सडकको काम रोकियो

बाँकेको नरैनापुर गाउँपालिकामा निर्माणाधीन नेपालगन्ज–बघौडा हुलाकी सडक ।तस्बिर : नागरिक

नेपालगन्ज-सरकारको उच्च प्राथमिकतामा निर्माणाधीन हुलाकी सडकको नेपालगन्ज–बघौडा सडकको काम नक्सांकन विवादका कारण रोकिएको छ।

जिल्लाको राप्तीपारीस्थित नरैनापुर गाउँपालिका–५ मटेहिया गाउँमा नक्सांकन विवादले उग्र रुप लिएपछि दुई दिनदेखि निर्माण कार्य रोकिएको हो । केही स्थानीय निर्माण स्थलमै पुगेर काममा हस्तक्षेप गरेपछि असुरक्षा महसुस गरी काम रोक्नु परेको ठेकेदार कम्पनीका कर्मचारीले बताएका छन्।

स्थानीय रफिक बेहनाको नेतृत्वमा आएको समूहले एक्जाभेटर, टिपर तथा कर्मचारीमाथि तोडफोड र हातपात गरेको ठेकेदार कम्पनीका इन्द्रबहादुर केसीले बताए । ‘नक्सांकन विवादको विषयलाई सरकारसँग कानुनी लडाई लड्नुपर्ने हो, तर, उनीहरुले काममै अवरोध पुर्‍याउन मेसिन र कर्मचारीमाथी हातपात गरे,’ उनले भने ‘असुरक्षित भएर हामीलाई काम गर्ने वातावरण भएन।

’ झडपबाट ठेकेदारका कर्मचारी र केही स्थानीय घाइते भएको बताइएको छ।भारतीय ठेकेदार कम्पनीले बीचमै काम छाडेर भागेपछि सरकारले आफ्नै प्रयासमा दोस्रो चरणमा बाँकेको कुल ४४ किलोमिटर हुलाकी सडक निर्माण थालेको हो । काम सम्पन्न गर्न ठेकेदार कम्पनीसँग २०७३ फागुनमा ६६ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको थियो । ‘पप्पु लुम्बिनी जेभी’का नाममा ठेक्का स्वीकृत भएपनि सडक निर्माण कार्य ठेकेदार ‘गणपति गु्रप अफ कन्स्ट्रक्सन’ कम्पनीले गर्दै आएको छ।

साविक फत्तेपुर गाविसको वडा नम्वर ७ नन्कौपुरलाई जिरो प्वाइन्ट बनाएर नेपालगन्जबाट नन्कौपुरसम्मको एउटा र नन्कौपुरदेखि कटकटुइयासम्म दुई खण्डमा एकैसाथ काम चलिरहेको थियो ।नक्सांकन विवादका कारण ठेकेदारले दुई दिनदेखि काम रोकेको हुलाकी सडक कार्यालय नेपालगन्जका प्रमुख शौरभ बज्राचार्यले बताए।

२५ प्रतिशत मात्रै काम

हुलाकी सडक निर्माणको काम सुरु भएको १४ महिना बितिसक्दा पनि हालसम्म २५ प्रतिशत मात्रै काम भएको छ । हुलाकी सडक कार्यालय नेपालगन्जका अनुसार नेपालगन्जदेखि बघौडासम्मको ४४ किमि दूरीको काम २५ प्रतिशत मात्रै भएको पाइएको हो।

ठेकेदारले सबै काम सम्पन्न गर्न ३० महिनाको समय पाएकोमा अब १६ महिना मात्र बाँकी छ । अबको १६ महिनाभित्र हुलाकी सडकको काम सम्पन्न होला त रु समय–समयमा निर्माण स्थलमा हुने मुआब्जा र नक्सांकन विवाद तथा ठेकेदारले गरेको कामको गति हेर्दा अबको १६ महिनाभित्र ७५ प्रतिशत काम सम्पन्न हुनेमा शंका रहेको सम्बद्धहरु बताउँछन्।

यद्यपि हुलाकी सडक कार्यालय नेपालगन्जका प्रमुख बज्राचार्य भने तोकिएको समयभित्र सम्पन्न हुनेमा आशावादी देखिन्छन् । ‘१६ महिना भनेको प्रसस्त समय हो, यही हिसाबले काम गर्दै जाने हो भने पनि तोकिएको समयभित्र ठेकेदारले काम सम्पन्न गरिहाल्छ,’ उनले भने, ‘ग्राभेल बिछ्याउने र कालोपत्रे गर्ने काम छिटोछरितो हुन्छ, त्यसकारण पनि हामी आशावादी छौं।’

पहिलो खण्डमा लक्ष्यभन्दा काम थोरै भएको र दोस्रो खण्डमा बढी भएको उनले बताए । पहिलो खण्डअन्तर्गत नेपालगन्जदेखि पुरैनीबीचमा पनि मुआब्जा समस्या समाधान गर्न बाँकी रहेको प्रमुख बज्राचार्यले सुनाए।

सरकारको डिजाइन स्टिमेट अनुसार हुलाकी सडकलाई जमिनभन्दा करिब एक मिटरमाथि माटो पटान गरेर साढे पाँच मिटर कालोपत्रे निर्माण गरिनेछ भने ११ मिटर चौडाइ बराबर ग्राभेल गरिनेछ । यसका साथै ठाउँ–ठाउँमा कल्र्भट, ह्विम तथा नाला निर्माणको काम पनि गर्ने योजना छ।

 

 

प्रकाशित: १८ वैशाख २०७५ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App