४ वैशाख २०८१ मंगलबार
अर्थ

चिनीमा युरिया मिसाउने व्यवसायीविरुद्ध मुद्दा

खोटाङ– युरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय खोटाङमा एक व्यवसायीविरुद्ध दर्ता भएको छ । युरिया मिसाएको चिनी बिक्री गरेको उजुरीपछि दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एन्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध प्रशासनमा मुद्दा दर्ता भएको हो।

रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । प्रशासनमा पाण्डे भेराइटिजविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता भएको हो । मुद्दा दर्तासँगै व्यवसायी पाण्डेबाट दुई लाख रुपैयाँ धरौटी मागिएको प्रशासनले जनाएको छ । प्रशासनले मागे अनुसार व्यवसायी पाण्डेले बिहीबारै धरौटी बुझाएका छन्।

शिलबन्दी गरिएको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एन्ड सप्लायर्सको पसल तथा गोदामबाट प्रहरीले वैशाख ११ गते ल्याब टेस्टका लागि चिनीको नमुना संकलन गरेको थियो । १२ दिनपछि शिलबन्दी तोडेर नमुनाका रुपमा सातवटा बट्टामा संकलन गरिएको चिनी ल्याब टेस्टका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । रिपोर्ट नआएसम्म सप्लायर्सका सञ्चालक पाण्डेलाई अनुसन्धानकै घेरामा राखिने प्रशासनले जनाएको छ । नमुनाका लागि चिनी झिकिएको बोराबाट चिनी बिक्री नगर्न भनिएको छ।

एक ग्राहकले गत चैत ३० गते शुक्रबार खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयका नासु लिलाबहादुर बिश्वकर्मा नेतृत्वको टोलीले सोही दिन राती ९ बजे उद्योग बाणिज्य संघका पदाधिकारीको रोहबरमा पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सको पशल तथा गोदामलाई शिलबन्दी गरेको थियो।

खाद्य पदार्थमा अखाद्यबस्तु मिसिएको पाइएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा समेत उपभोक्ताको उजुरी परेको छ।ग्राहकले चिनीमा मिसावट भेटिएको प्रशासनलाई जानकारी गराएपछि परिचालन गरिएको प्रहरीले पाण्डे भेराइटिजबाट ना ५ ख ७१३० नम्बरको ट्रकमा हालेर मिल्काउन पठाउन लागेको अवस्थामा साँढे तीन बोरा चिनी समेत बरामद गरेको थियो।

प्रहरी पुग्नु अगाडि शंकास्पदरुपमा मिल्काउन पठाउन लागिएको ट्रकको चिनी शिलबन्दी गरेर वैशाख ११ गतेसम्म सामुदायीक सेवा केन्द्रको नियन्त्रणमा राखिएको थियो । ल्याव टेष्टका लागि ट्रकको चिनी समेत बट्टामा संकलन गरिएको छ । ट्रकमा भिजेजस्तो देखिने र पेट्रोलको गन्ध आउने अवस्थाको चिनी फेला परेको थियो।

प्रकाशित: १८ वैशाख २०७५ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App