coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मेलामा १० करोडको कारोबार

काठमाडौं– १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा सोमबारसम्म झन्डै दस करोड रुपियाँ बराबरको कारोबार भएको छ।

सोमबारसम्म मेलामा एक लाख ४० हजारले अवलोकन गरेको र मेलामा सोमबार मात्रै तीन करोड रुपैयाँको कारोबार भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ।

महासंघको आयोजनामा शुक्रबारदेखि भृकुटीमण्डपमा जारी मेला शुक्रबार २० हजारले अवलोकन तथा ५० लाखको कारोबार भएको थियो भने शनिबार ५० हजारले अवलोकन गरेका थिए । शनिबार चार करोडको कारोबार भएको आयोजकको भनाइ छ।

यसैगरी, आइतबार ३० हजारले अवलोकन गरेको र सवा दुई करोडको कारोबार भएको थियो । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । मेला मंगलबार (आज) सम्म चल्नेछ । मेलाको नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ।

स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र त्यसपछि गठित केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झन्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ । दुई सय ५० वटा स्टल रहेको मेला दुई लाखभन्दा बढीले अवलोकन गर्ने र सात करोडभन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले गरेको छ।

नेपाल जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका सम्बाहकका रुपमा रहे तापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योग प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै गिरीले यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरण प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदानप्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडिदेखि नै नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ।

१३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् । महासंघले गत वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न सुरु गरेको हो।

 

प्रकाशित: १८ वैशाख २०७५ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App