७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुरक्षा निगरानी छैन सीमा क्षेत्रमा

भारतसँगको सीमानजिकै पाँचथरको नेपाली भूभागमा निर्बाध भित्रिएका भारतीय गाडी। तस्बिर : गिरिराज/नागरिक

पाँचथर – पाँचथरको चाररातेसँग जोडिएको भारत पश्चिम बंगालको सीमामा भारतीय सुरक्षा बल (एसएसबी) को क्याम्प छ। भारततर्फ सीमाक्षेत्रमा सडक बनेको छ। यो सडक भएर आफ्नो भूभाग छिर्न नेपालीले एसएसबीलाई पूरा विवरण बुझाउनुपर्छ। तर यही सडक भएर भारतीय गाडी नेपालको भूभागमा पसी निर्बाध गुड्छन्। यसरी चेकजाँचबिना भारतीय गाडी नेपाली बस्तीसम्म आइपुग्छन् तर नेपाली भने भारतीय सुरक्षाकर्मीको कडा निगरानीमा पर्छन्।

सन्दकपुरदेखि तिम्बु पोखरीसम्म भारतसँग जोडिएको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन। यही कारण नेपालीले सास्ती बेहोरिरहेका छन्। नेपाली प्रशासनले सीमा क्षेत्रको संरक्षण, सीमा सुरक्षा तथा यहाँका बासिन्दाको सुरक्षाको ख्याल गरेको देखिँदैन। खुला सिमानाका कारण भारतीयले सहजै नेपाली भूमिको उपभोग गरिरहेका छन्। भारतले सिमानाछेउमै सडक बनाएकाले भारतीयको व्यापार व्यवसाय पनि फस्टाएको छ। भारतीय व्यापारी गाडीमा सामान राखेर बिक्री गर्न नेपाली भूमिमा आइरहन्छन्। तर नेपालतर्फ भने बहुमूल्य जडिबुटीको समेत संरक्षण हुन सकेको छैन।

सीमाको हरेक ६ किलोमिटरमा भारतीय सीमा सुरक्षा बलको चौकी छ। तिनले नेपालतर्फ निरन्तर निगरानी गर्छन्। यस क्रममा बेलाबेला भारतीय सुरक्षाकर्मीले नेपालीलाई दुःखसमेत दिने गरेको गुनासो सुनिन्छ। सीमा क्षेत्रमा नेपाली सुरक्षकर्मीको आडभरोसा नपाएको गोठ सञ्चालक जंग राई बताउँछन्। सीमा क्षेत्रको संरक्षण गोठ सञ्चालन गर्नेहरूले गरिरहेको उनले बताए।

सीमाको हरेक ६ किलोमिटरमा भारतीय सीमा सुरक्षा बलको चौकी छ। तिनले नेपालतर्फ निरन्तर निगरानी गर्छन्। नेपालतर्फ भने सुरक्षाकर्मीको उपस्थिति नै छैन।

तीनपल्ट सांसद भए पनि पहिलो पल्ट चारराते पुगेका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले सीमा क्षेत्रमा नेपालको सरकारी उपस्थिति शून्य भएको अनुभव प्राप्त गरेको सुनाए। सुरक्षामात्र नभई अन्य विभिन्न किसिमका समस्या देखिएको उनको भनाइ थियो। सीमा क्षेत्रमा पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र नेपाल प्रहरीका प्रमुखले सीमा क्षेत्रको अवस्था अवलोकन गरेका थिए। उनीहरुसँग स्थानीयको सोधाइ थियो– सीमा क्षेत्रमा कहिले नेपाली सुरक्षाकर्मीको उपस्थिति हुन्छ?

केही दिनअघि पाँचथर र भारतको सिक्किमको सिमाना चिवाभन्ज्याङ पुगेका नेकपा एमालेका सचिव योगेश भट्टराईले फेसबुकमा स्टाटस लेखेका छन्, ‘भारतीय पक्षको सुरक्षा निकाय सिमानामा रहे पनि नेपालतर्फ सुरक्षा निकाय नहुँदा थुप्रै समस्या देखापरेका छन्। सीमा सुरक्षा पोस्ट स्थापना गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्छु।’

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प राख्ने कुरा चलेको एक दशक हुन लाग्यो तर कार्यान्वयन हुन सकेको छैन। पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति बढाउने बताए।

भारतको पश्चिम बंगाल र सिक्किमसँग पाँचथरको याङवरक र फालेलुङ गाँउपालिका जोडिएका छन्। जिल्लामा भारतसँगको सीमा ४५ दशमलव १६९ किलोमीटर लामो छ। यहाँ जंगे, मझौला र साना गरी १ सय १७ सीमास्तम्भमध्ये केही हराएको पाइएको छ। फलैंचा, च्याङथापु र प्राङबुङका सीमास्तम्भको नेपाल प्रहरीले हालै अनुगमन गरेको थियो। ९९ वटा सीमास्तम्भ हुनुपर्ने ठाउँमा ११ वटा नभेटिएको अनुगमन टोलीले जनाएको छ । भएकाहरु पनि भत्किने अवस्थामा छन्। सिदिन र मेमेङमा पर्ने १८ स्तम्भको अनुगमन बाँकी छ । चाररोत, महले भन्ज्याङ, थोकम, बन्दुके, चिवाभन्ज्याङ, बिर्खे, कालापानी, कयाटार, गैरीवासजस्ता ठाउँबाट नेपाल–भारत ओहोरदोहोर हुन्छ । वारिपारि पारिवारिक सम्बन्धसमेत रहेको छ।

प्रकाशित: १८ वैशाख २०७५ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App