७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘एमाले–माओवादी एकता वैशाखभित्रै : अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व’

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाखभित्रै एकता हुने भएको छ। अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व हुनेगरी यही महिनाभित्र एकता हुने माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता पौडेलले भने, ‘पार्टी एकता हुन्छ, म ढुक्क हुन सबैलाई आग्रह गर्छु, पार्टी एकता त जनताले अनुमोदन गरिसकेका छन्, अब यसबाट दायाँबायाँ हुने नैतिक धरातल केपी ओली र पुष्पकमलदाहाल प्रचण्ड दुवैलाई छैन, एकताबाट भाग्ने छुट छैन।’

उनले एकता महाधिवेशन नहुञ्जेल अध्यक्ष, प्रधानमन्त्रीदेखि सबैमा आलोपालो नेतृत्व हुने बताए। अध्यक्षदेखि प्रधानमन्त्री मात्रै नभएर सबै कुरामा नेतृत्व आलोपालो हुने पौडेलको भनाई थियो। 

नेकपा एमालेका नेतालाई बहुदलीय जनवादको माया लाग्नु स्वाभाविक भएपनि जनताद्धारा चलाइएको जनयुद्धलाई पनि एमालेका साथीहरुले माया गर्ने उनको विश्वास थियो। एकता प्रक्रिया अब छिट्टै टुंगिने बताउँदै ढिलाइ हुनुमा दुवै दलका समिति समायोजन गर्ने र शीर्ष नेताहरुको व्यवस्थापन गर्न केही समय लागेकोले ढिलाइ भइरहेको उनले जनाए।

नेकपा एमालेका नेता तथा प्रदेश सांसद रामेश्वर फुयाँलले वैशाख २२ गतेभित्रै एमाले–माओवादी केन्द्रबीच एकता हुने दाबी गरे। ‘ढुक्क हुनुस् यही वैशाख २२ गते कार्ल माक्र्सको जन्मजयन्तीको अवसर पारेर पार्टी एकता हुन्छ, २३ गतेबाट हामी नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुन्छौं’, उनले भने।

पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीले देखेको सपना अब केपी ओली र पुष्पकमल दाहालले पूरा गर्ने उनको भनाई थियो। दुवै दलबीच सम्मानजनक रुपमा एकता हुने विश्वास दिलाउँदै उनले थपे– ‘सर्वोच्च र आधार दुवै तहका नेताको सम्माजनक रुपमा व्यवस्थापन हुन्छ।’

प्रकाशित: १७ वैशाख २०७५ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App