८ वैशाख २०८१ शनिबार
राजनीति

भवन आचारसंहिता लागु गराएरै छोड्छु: मन्त्री केसी

काठमाडौं–सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिता पूर्णरुपमा लागू गर्ने बताएका छन् । आइतबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री केसीले भवन आचार संहिता जुनसुकै हालतमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘पहिले बनिसकेको भवन आचारसंहिता किन लागु भएन भनेर म बुझ्छु, यसमा केही कमजोरी भए तीनभित्र सच्याएर भएपनि यसको कार्यान्वयन गर्ने काम अघि बढाउँछु,’ उनले भने।

मन्त्री केसीले व्यवस्थित् बसोबासको लागि सरकारले जारी गरेको आचारसंहिता पालना नगर्नेलाई आफूले अप्रिय निर्णय लिने समेत चेतावनी दिए । उनले अघि थपे, ‘सुधार गर्नुपर्ने भए तीन दिनभित्र पेश गर्न निर्देशन दिन्छु, होईन भने संहिता कडाईका साथ लागु गर्छु, आचारसंहिता मान्नुभएन भने मैले अप्रिय निर्णय गर्नुपर्ने हुन्छ ।’

ठूला भवन निर्माण गर्दैमा सहरको विकास नहुने भन्दै यसलाई आचारसंहिता अनुसार अघि बढाइनेगरी आफूले काम गर्ने मन्त्री केसीको भनाइ छ। केसीले नगर विकास समिति गठन भएपनि जनताले सहुलीयत नपाएको उल्लेख गर्दै नगर र सहरबीच कनेक्टिभिटी गर्ने बताए। उनले सहरलाई सुसंस्कृत र सुन्दर बनाउनको लागि विद्युत, खानेपानीजस्ता सुविधाहरुको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफूले सोही बमोजिम काम गर्ने विश्वास व्यक्त गरे ।

बागमतीको सभ्यता विकास गर्नको लागि वास्तविक सुकुम्बासीको पहिचान गरेर वैकल्पिक व्यवस्था गर्ने उनको भनाइ थियो । उनले ऐतिहासिक महत्व बोेकेका पुरातात्विक, धार्मिक, साँस्कृतिक, प्राकृतिक लगायतका धरोहर र सम्पदाहरुलाई संरक्षण एवम् व्यवस्थित गर्ने बताए ।
अहिले सरकारको प्रमुख दायित्व भनेको नै संविधानलाई सबैको सर्वस्विकार्य बनाउनु र यसको पूर्ण कार्यान्वयन गर्नु रहेको उल्लेख गर्दै केसीले भने,‘संविधान कार्यान्वयन गर्नु नै यो सरकारको प्रमुख दायित्व हो, हामी पूर्ण प्रतिबद्ध छ ।’ उनले संविधान कार्यान्वयन गर्नुअघि मधेशी, थारु, जनजाति, आदिवासी लगायतको प्रश्नको सम्बोधन गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।

आगामी ०७४ साल माघ ७ गतेभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपनि अहिलेको सरकारको दायित्व भएको केसीले बताए । उनले तीनवटै निकायको निर्वाचन समयभित्रै सम्पन्न गर्न नसकिए संविधान कार्यान्वयनमा असर पर्ने चिन्ता व्यक्त गरे ।

उनले अघि थपे,‘संविधान नै विघटन गर्ने स्थिति हुन्छ, त्यसैले सबै पार्टीहरुले यसको संरक्षण गर्ने दायित्व निर्वाह गर्नुपर्छ ।’ उनले एमालेले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त रहेको स्पष्ट पारे । केसीले भने,‘एमाले संविधान संरक्षण गर्ने दायित्वबाट पर सर्दैन भन्नेमा म पूर्ण विश्वस्त छु ।’

केसीले प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र मधेसी दलहरुवीच सहमति गर्नुपर्ने धारणा समेत राखे । उनले संविधान संशोधन प्रक्रिया समेत छिट्टै अगाडि बढाउने धारणा राखे । उनले अघि भने,‘मिति म तोक्दिन तर संशोधन प्रक्रिया छिट्टै अघि बढाउँछु ।’

 

प्रकाशित: १२ भाद्र २०७३ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App