८ वैशाख २०८१ शनिबार
समाज

सुरु भयो साकेला उभौली

दिक्तेलमा साकेला नाच्दै किरात समुदायका युवायुवती। तस्बिर : दमन राई/नागरिक

खोटाङ – किरात समुदायको महान चाड साकेला उभौली सुरु भएको छ। वैशाख पूर्णिमाको अवसरमा सोमबार सुरु भएको साकेला उभौली चाड खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामकासाथ मनाउने गरिन्छ।

राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहेकाे किरात राई यायोक्खा खोटाङकी अध्यक्ष अञ्जना राईले बताइन्। साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा ताल मिलाउँदै साकेला सिली नाच्न सुरु गरिन्छ। किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा एक/एक महिनासम्म मनाउने गरिन्छ।

परम्परागत भेषभूषामा सजियर भेला भर्इ गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला मनाउने प्रचलन छ। चराचुरुङगी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्ब मान्ने प्रचलन छ।

साकेन्वा, साकेवा, साकला लागायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाँचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गर्दै नाच्ने गरिन्छ।

उभौली पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्नुका साथै मिष्ठान्न परिकार खाएर रमाइलो गरि गरिन्छ। खोटाङका ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा साकेला नाचिन्छ। साकेला उभौलीको सुरुका दिन हरेक वर्ष किराती तथा गैर–किरातीले सदरमुकाम रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलको मझुवागढी, रुपाकोट, बुईपा, जन्तेढुंगा गाउँपालिकाको जन्तेढुङ्गा, छोङ्खा, हलेसी तुवाचुङ नगरपालिकाको हलेसी लगायतका ऐतिहासिक महत्व बोकेका पर्यटकीय स्थलमा साकेला नाच्ने गरिन्छ।

वैशाख २२ गते दिक्तेल बजारको हाटडाँडामा, २६ गते हेलीप्याडमा, २९ गते रत्नपार्कमा र जेठ ५ गते खोटाङ बिकास मञ्चको कार्यालयमा धुमधामकासाथ मनाइने साकेला उभौली जेठ १२ गते माटिकोरे खेलमैदानमा प्रदर्शनी गर्दै समापन गरिने यायोक्खाकी अध्यक्ष राईले बताइन्।

प्रकाशित: १७ वैशाख २०७५ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App