७ वैशाख २०८१ शुक्रबार
अर्थ

असिनाले करोडौंको तरकारी बाली नष्ट

तानसेनमा अाइतबार परेकाे असिना । तस्बिर : मुक्ति न्याैपाने

पाल्पा – आइतबार दिउँसो परेको असिना पानीले तानसेनमामात्र चार करोड ८० लाखको तरकारी बाली नष्ट गरेको छ । तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ। 

असिनाले किसानहरूले लगाएको काँक्रा, करेला, लौका, सिमि, भण्टा, गोलभेडा, खुर्सानी, भेडेखुर्सानी, मूला, धनिया, बोडी, बन्दा र काउली, प्याज र लसुन, सागपातमा क्षति पुर्‍याएको छ। असिना पानीले तानसेन नगरपालिकाका किसानको एक सय ९९ हेक्टर क्षेत्रफलमा लगाएको तरकारी बालीमा ८० प्रतिशत क्षति पुर्‍याएको हो। एक हजार ६ सय मेट्रिन टन बराबरको चार करोड ८० लाख पर्ने तरकारीमा क्षति पुगेको अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले बताए । उनी भन्छन्, ‘क्षतिको यकीन तथ्याङ्क संकलनको कार्य भैरहेको छ । असिनाबाट किसान समस्यामा परेका छन् । यसका लागि हामी फिल्ममै गएर अवलोकन गर्दै छौं।’

तरकारी बालीसँगै मकै, मसुरो, तेलहन (तोरी), दलहन आँप, लिची लगायतका बालीलाई पनि असिनाले क्षति पुर्‍याएको छ । तानसेन नगरपालिका सहित सहित वगनाशकाली, रिब्दीकोेट, रैनादेवी छहरा, माथागढी, रम्भा र पूर्वखोला गाउँपालिकामा हावाहुरीसहित असिना पानी परेको हो । दिउँसो ३ बजे मेघ गर्जनसँगै झण्डै १० मिनेट असिना पानी परेको थियो । आइतबार बेलुका पनि वर्षातसँगै असिना परेको थियो । असिनापानीले तरकारी तथा फलफूलमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका छन् । बारीमा टिप्न तयारी अवस्थामा रहेका बन्दा, काउली, ब्रोकाउली, रायो, मुला, धनियाँ, केराउँ लगायत लहरे तरकारी बाली सम्पूर्ण रुपमा नष्ट भएका हुन् । गाउँपालिकाहरुले भने तथ्याङ्क संकलनपछि मात्र यसको यथार्थ विवरण बताउन सकिने बताए । उनले प्राकृतिक प्रकोपबाट अझै धेरै क्षति भएको हुनसक्ने भएकोले क्षतिको पूर्ण विवरण पछि अन्य कार्यक्रमका विषयमा भन्न सकिने बताए।

प्रदेश नं. ५ का सांसद नारायणप्रसाद आचार्यले अचानक परेको असिनाले मेहनतको फल खाने समयमा किसान समस्यामा परेको बताए । ‘ठूलो लगानी गरेर काम गरेका किसान अप्ठ्यारोमा परेका छन् । स्थानीय सरकार तथा विषयगत कार्यालयले यसको उचित सम्बोधन गर्नुपर्छ। किसानलाई राहत दिन पछि पर्नु हुन्न,’–नेकपा एमालेका अध्यक्ष समेत रहेका आचार्यले भने। 

किसानका बालीनाली थिचेर कामै नलाग्ने भएको छ। भर्खरै बेर्ना सारेका टमाटर, खुर्सानी र काँक्रा असिनाले थिचेर नष्ट भएको छ । तानसेन नगरपालिकाको मदनपोखराका क्षेत्रका मात्र करिव पाँच सय व्यवसायिक किसानहरुको बालीनाली नष्ट भएको बताइएको छ । मदनपोखरा बहुउद्देश्यीय तरकारी बजार सहकारी संस्था तानसेन–९ का अध्यक्ष पदमराज पौडेलले एक परिवारको ३ लाखसम्मको तरकारीमा क्षति पुगेको बताए। 

तानसेन नगरपालिका–९ दमकडाका प्रकाश पंगेनीले एक्कासी परेको असिना पानीले खेती गरेर खाने किसानहरुका बिरुवा समेत नष्ट भएपछि किसान मर्कामा परेको बताए । हावाहुरीका कारण जिल्लामा सोमबार बिहानसम्म विद्युत आपूर्ति बन्द भयो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले सबै संरचना गाउँपालिकासम्म पुगिसकेको सोही तहबाट क्षतिको विवरण तयार गरि सम्बोधन गर्न सकिने बताए। 

प्रकाशित: १७ वैशाख २०७५ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App