coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

न्हुच्छेलाई ‘वाद्य सम्राट’ सम्मान


काठमाडौं– एकसाथ ३३ बाजा बजाएर प्रस्तुत गर्न खप्पिस वाद्यवादक न्हुच्छेबहादुर डंगोललाई ‘वाद्य सम्राट’को उपाधिबाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसर पारेर नेपाल संगीत विद्यालयले आइतबार डंगोललाई सम्मान गरेको हो।

डंगोललाई वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् र नेपाल म्युजिक सेन्टर ट्रष्टका अध्यक्ष डा. सत्यमोहन जोशी, नेपाल संगीत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गीतकार रत्नशमशेर थापा, नेपाल म्युजिक सेन्टर ट्रष्टका सदस्य–सचिव सन्तोष शर्मा, नेपाल म्युजिक सेन्टर ट्रष्टका निर्देशक डा. बालकृष्ण रञ्जित र नेपाल संगीत विद्यालयका प्रिन्सिपल इमानविक्रम शाहले सम्मानपत्र, दोसल्ला र नगद १० हजार रुपैयाँबाट डंगोललाई सम्मान गरेका हुन्।

सम्मान पाएपछि उनले २०६२ सालमा नेपाल संगीत विद्यालयमा पहिलोपटक विद्यार्थीलाई मादल बजाउन सिकाएको स्मरण गरे । ‘२०६२ सालमा म यो विद्यालयमा पढाउन आउँदा त्यतिबेला मैले जम्मा पाँच विद्यार्थीलाई मात्र मादल सिकाउने कक्षा दिएको थिएँ,’ डंगोलले भने, ‘त्यो समूहमा मादल सिकाएको एक विद्यार्थी अहिले डाक्टर पनि भएका छन् । यो विद्यालयमा आउँदा मैले अनेक अर्केष्ट्रासँगै संगीतका अन्य विधालाई पनि वाद्यवादनको शिक्षा दिएँ । हामी त्यो बेला आलु र चिउरा खाएर नृत्य र वाद्यवादन सिक्थ्यौं । तर अहिले त्यो अवस्था बद्लिएको छ।’

उनले २०१३ सालमा तत्कालीन राजा महेन्द्रको राज्यभिषेकमा सत्यमोहनकै पहलमा आफूले नृत्य सुरुवात गरेको स्मरण गर्दै उनै सत्यमोहनको हातबाट सम्मान पाउँदा गर्वको कुरा भएको बताए । डंगोलसँग सांस्कृतिक संस्थान, पद्म कन्या क्याम्पस, नासः खलः, रेडियो नेपाल, नेपाल बाल संगठन, एसओएस बालग्राम, लालुपाते कल्चरल ग्रुप, भैरव नृत्य दल, लेकाली परिवार, नाट्येश्वर संगीत पाठशालालगायतका संस्थामा काम गरेको अनुभव छ।

ट्रष्टका सदस्य–सचिव तथा म्युजिक नेपालका प्रबन्ध निर्देशक शर्माले विद्यालयले वार्षिक रुपमा नृत्य दिवसको मौका पारी संगीत तथा वाद्यवादनमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गर्ने गरेको बताए । संस्कृतिविद् जोशीले कलामा निरन्तर साधनारत साधकलाई सम्मान गर्नु खुशीको कुरा भएको बताए।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध नृत्य देखाएका थिए । जसअन्तर्गत सुमीसिंह शाहीले भरत नाट्यम, सबिक्षा अधिकारी, प्रविशा कँडेल र प्रतिक्षा शाहीले टुंगना र डम्फू नृत्य, प्रतिक्षा र प्रविशाले मनको माया नृत्य र निशा सुनुवार, यमुना सुनुवार र झरना सुनुवारले कति राम्रो नृत्य प्रस्तुत गरे।

गायनतर्फ भने नन्दिता राज वैद्यले गीत गाएकी थिइन् भने सुमी, दिक्षा शाही र डोल्मा तामाङ, सबिक्षा अधिकारी, सुप्रज्ञा सिपाई र नन्दिता प्रविशाले नृत्य प्रस्तुत गरेका थिए ।
 

प्रकाशित: १७ वैशाख २०७५ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App