१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘मे महिनाबाट उत्तर कोरियाको आणविक परीक्षण केन्द्र बन्द हुने’

भूउपग्रहबाट लिइएको उत्तर कोरियाको पुंगी–री आणविक परीक्षण केन्द्रको तस्बिर। तस्बिर : बिबिसी

सोल – उत्तर कोरियाको आणविक परीक्षण केन्द्र मे महिनाबाट बन्द हुने दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसले बताएको छ।

उत्तर कोरियाको पुंगी–री परीक्षण केन्द्र बन्द गर्ने बेला सार्वजनिक गरिने र बन्द गर्ने कार्यक्रममा बेला दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई दृश्यावलोकन गर्न निमन्त्रणा गरिने विषय प्योङयाङले राखेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। पुंगी–री आणविक परीक्षण केन्द्रमा गत सेप्टेम्बर महिनामा आंशिक क्षति पुगेको हुन सक्ने वैज्ञानिकहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेका छन्। गत शुक्रबार उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच भएको ऐतिहासिक शिखर बैठकका क्रममा कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्न मिलेर काम गर्ने विषयमा सहमति भएको थियो। केही महिनादेखि सुध्रिएको दुई देशबीचको सम्बन्धकै बीच शुक्रबार दुई देशबीच ऐतिहासिक शिखर बैठक सम्पन्न भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू उत्तर कोरियाली नेतृत्वसँग दुई वा चार साता भित्रै भेट गर्न इच्छुक रहेको बताएका थिए। उनले कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने विषयमा उत्तर कोरियासँग वार्ता गर्न आफू उत्सुक रहेको बताएका हुन्।

दक्षिण कोरियाको भनाइ
दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्ता युन योङ–चानले उत्तर कोरियाली नेता किमले आफ्नो आणविक परीक्षण केन्द्र मे महिनाबाट बन्द गर्ने बताएको उल्लेख गरेका छन्। उत्तर कोरियाली नेता किमले आणविक परीक्षण केन्द्रलाई बन्द गर्ने विषय विश्वसामु स्वच्छ तरिकाले देखाउनका लागि दक्षिण कोरिया र अमेरिकालाई चाँडै नै बोलाउने बताएको युनले उल्लेख गरे। दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका अनुसार उत्तरक कोरियाले आफ्नो विद्यमान ‘टाइम जोन’ पनि परिवर्तन गर्ने बताएको छ। हाल दक्षिण कोरिया र उत्तर कोरियाबीच रहेको आधा घण्टा समय फरकलाई घटाएर एउटै बनाउने विषय प्योङयाङले राखेको सोलले जनाएको हो। यी विषयहरुमा उत्तर कोरियाले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

उत्तर कोरियाको आणविक परीक्षण केन्द्रबारे देशको उत्तरपूर्वी हिमाली क्षेत्रको भिरालो भूभागमा रहेको उत्तर कोरियाको पुंगी–री आणविक परीक्षण केन्द्र देशकै सबैभन्दा महत्वपूर्ण सुविधा सम्पन्न आणविक परीक्षण केन्द्र भएको विश्वास गरिन्छ।

पुंगी–री आणविक परीक्षण केन्द्र नजिकै रहेको मान्ताप हिमालमुनि टनेल खनेर बनाइएको विशेष प्रणालीमा उत्तर कोरियाले आणविक परीक्षण गर्ने गरेको छ। सन् २००६ देखि हालसम्म उक्त परीक्षण केन्द्रमा ६ वटा आणविक परीक्षण भइसकेको बिबिसीले उल्लेख गरेको छ। सन् २०१७ को सेप्टेम्बर महिनामा गरिएको पछिल्लो आणविक परीक्षणको कारण गएको लगातारको पराकम्पनका कारण उक्त हिमालको आन्तरिक अवस्था क्षतिग्रस्त भएको हुनसक्ने भूकम्पविद्हरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। यस विषयलाई नेता किमले पनि उल्लेख गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

‘केही मानिसले हाम्रो आणविक परीक्षण केन्द्र क्षतिग्रस्त भएर काम नलाग्ने भएपछि बन्द गर्न लागेको बताएका छन् तर यदि तपाईंले त्यहाँ गएर हेर्नु भयो भने उक्त क्षेत्र राम्रो अवस्थामा रहेको देख्नसक्नु हुनेछ,’ उत्तर कोरियाली नेता किमलाई उद्धृत गर्दै दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्ता युनले आइतबार बताए।

उत्तर कोरियाको आणविक परीक्षण केन्द्रबारे स्याटेलाइटमार्फत् लिइएको तस्बिर र त्यहाँस्थित उपकरणहरुको गतिविधिको अवस्थितिबाट विवरण संकलन गरिएको हो।

आगामी कदम
शनिबार अबेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच भएको टेलिफोन वार्तामा ट्रम्पले शुक्रबार किम र मुनबीच भएको वार्ताले आफू अत्यन्तै हर्षित भएको बताएका थिए। ‘दुई कोरियाली नेताहरुले कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्नेबारे गरेकोे प्रतिबद्धताले आफू अत्यन्तै खुसी भएको ट्रम्पले बताए,’ दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

मध्यपूर्वको भ्रमणमा रहेका बेला आइतबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरियाली प्रायद्वीपलाई पूर्ण रूपमा निःशस्त्रीकरण गर्नेबारे प्योङयाङले गरेको प्रतिबद्धतामा अडिग छु भनेर उसले देखाउन आवश्यक रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच वास्तविक वार्ताको अवसर रहेको भन्दै विदेशमन्त्री पोम्पेओले उत्तर कोरियामा पक्राउ परेका आफ्ना नागरिकबारे र निःशस्त्रीकरणबारे किमसँग वार्ता गर्ने प्रष्ट मिसन ह्वाइट हाउसले प्रदान गरेको एबिसी टेलिभिजनको अन्तर्वार्ताका क्रममा बताए।

आफ्ना पूर्ववर्ती बाराक ओबामा सरकारसहित विश्वका ६ शक्तिशाली राष्ट्रले सन् २०१५ मा इरानसँग गरेको आणविक सम्झौताबाट अमेरिकाले हात झिक्ने तयारी राष्ट्रपति ट्रम्पले गरिरहेका छन्। उनले आफूसहित आफ्ना युरोपेली राष्ट्रलाई पनि इरानसँग भएको आणविक सम्झौताबाट बाहिरिन र उसविरुद्ध नाकाबन्दी लगाउन दबाब दिइरहेका छन्। इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौता पागलपन भएको बताउँदै ट्रम्पे पुनरावलोकन नगरिए मे महिनादेखि उक्त सम्झौताबाट हात झिक्ने यसअघि नै बताइसकेका छन्। यसै सन्दर्भलाई आधार बनाउँदै एबिसी टेलिभिजनले पोम्पेओसँग वासिङ्टनले उत्तर कोरियासँग आणविक सम्झौता गर्न वार्ता प्रयासको थालनी गरेर इरानसँगको सम्झौता तोड्न लागेको त हैन भनेर गरेको प्रश्नमा उनले भने,‘मलाई लाग्दैन किम जोङ–उनले इरानसँगको सम्झौतालाई राम्रोसँग हेरेका छन्।’

शनिबार अबेर भएको ट्रम्प र मुनबीचको टेलिफोन कुराकानीमा दुवै नेताले किम र ट्रम्पबीचको शिखर वार्ता तत्कालै  गर्नुपर्नेमा जोड दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। टेलिफोन संवादमा दुई नेताले अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने ठाउँका दुई वा तीनवटा सम्भावित क्षेत्रबारे पनि छलफल गरेको दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

किम र ट्रम्पबीच हुने वार्ता उत्तर कोरिया, अमेरिका वा दुई कोरियाबीचको गैर सैनिक इलाकामा नहुने बताउँदै ब्लू हाउसले थप विवरण भने उपलब्ध नगराएको रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकाका एक उच्च अधिकारीका अनुसार किम र ट्रम्पबीच हुने वार्ताका लागि सिंगापुर उचित स्थान हुनेबारे छलफल चलिरहेको छ।

प्रकाशित: १७ वैशाख २०७५ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App