७ वैशाख २०८१ शुक्रबार
अन्य

‘हाम्रा सहर विश्वमै नमुना बन्न सक्छन् ’

राजन राज शिवाकोटी, गायक

तपाईंलाई सबैभन्दा मनपर्ने सहर कुन हो ?
मलाई अष्टेलियाका सिड्नी सारै सुन्दर लाग्यो ।  विकासको हिसाबले पनि अरु सहर भन्दा यो सहर धेरै भन्दा अग्रस्थानमा रहेछ । सहरी इलाका घुम्दाखेरी सारै रंगीन लागेको थियो । सहरमा प्रविधिले चलेको छ।

नेपालका सहर कस्तो लाग्छ ?
हाम्रा सहर पनि धेरै सम्भावना बोकेका सहर हुन् । यहाँ भर्खर विकासका रेखाहरु कोरिँदै छ । देशको विकास गर्न भनेर चुनिएका जनप्रतिनिहरुकाले राम्ररी काम गरेका छैनन् । माथिल्लो तहमा भएका नेताहरुले पनि सहरको विकासप्रति ध्यान दिएका छैनन । यदी सरकारले चाहने हो र बनाउने हो भने हाम्रा सहर विश्वमै नमूना सहर बन्न सक्छन् भन्नेमा कुनै दुईमत छैन।

सहरको विकासको लागि सरकारले कसरी काम गर्नुपर्ला ?
सबैभन्दा पहिले त नीति, नियम र कानुनलाई व्यवहारिक बनाउनुपर्‍यो । विकासका नयाँ सम्भावनाहरुको खोजी गर्नुपर्‍यो । छिमेकी मुलुकहरुको सहायता लिएर कसरी देशको विकास हुन्छ त्यसरी नै समन्वय गर्नुपर्‍यो ।

बाटो र आवास निर्माणलाई पनि उत्तिमै मुख्य स्थानमा राखेर काम गर्नुपर्‍यो । सहरमा कसरी विकासका काम गर्दा सहरको रुप राम्रो देखिन्छ त्यसलाई अबलम्बन गर्नुपर्‍यो  । अर्कोकुरा सरकारी निकायबीच पनि विकासका हरेक कामहरुका सहकार्य हुनुपर्‍यो । यति भयो भने सहरको विकास होला जस्तो लाग्छ।  

तपाईलाई उपत्यका कस्तो लाग्छ ?
मानिसको भिडभाड र प्रदुषणले गर्दा उपत्यका कुरुप बनेको छ । अर्कोतर्फ उपत्यकालाई प्लटिङ गरेर टुक्रा–टुक्रा पारिएको छ । पूराना मौलिकताहरु मेटिँदै छन् । यो अति नै दुःखको कुरा हो । त्यसैले सरकारले कडा नियम बनाएर सहरको विकासतर्फ लाग्न जरुरी छ।  

उपत्यका बाहिरका सहर कस्तो लाग्छ ?
उपत्यका बाहिरका सहर पनि अति नै सुन्दर छन् । प्राकृतिक कुरामा हामी अरु देशभन्दा भिन्न छौं । उपत्यका बाहिरका सहर सुन्दर र हरियाली छन् । प्रकृतिले सबैतिर सहरलाई हराभरा बनाएको छ । मात्रै हामीले विकासका काम गर्दा सहरको रुप कसरी राम्रो बनाउने भनेर ख्याल राख्न सकेनौं ।  यसबाहेक पोखरा, इलाम, धनगढी, विर्तामोड पनि मलाई राम्रो लाग्छ।  

नेपाल बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
करिब ७ वटा देशका सहर घुमेको छु । हरेक देशमा फरक–फरक विशेषता भेटाएँ । विदेशी सहरहरु सुन्दर छन् । दुवै, मलेसीया, कतार, हङकङ, कोरिया लगायत देश पुगेँ।

कस्ता थिए ती देशका सहर ?
अरु देशका बातावरणको अति नै ख्याल राखेर भौतिक निर्माण गरिएको हुन्छ । एउटा रूख काट्नुपर्‍यो भनेपनि सरकारसँग स्वीकृति लिनुपर्छ । प्रत्येक घरको अगाडि दुई÷तीन वटा रूख रोप्न मिल्ने ठाउँ छाडिएको हुनुपर्छ ।

सहरमा घर बनाउँदा सरकारले तोकभन्दा एक इन्च तलमाथि गर्न पाइँदैन । हाम्रो सरकारका कुनै पनि नियम छैनन् । सहरमा जथाभावी भवन निर्माण भइरहेको छ । सरकारको नियम कसिँलो नभएकाले यस्तो भएको हो । हाम्रो केही विकासका काम गनुपर्‍यो भने प्रकृतिको विनास गरिन्छ । विदेशी मूलुकमा विकास छ तर प्रकृति दोहन गरिएको छैन । हाम्रोमा सहरको विकासको नाममा हरियाली मानिन्छ । रुख विरुवा काटिन्छ।

हाम्रा सहर त्यस्तै बन्न सक्दैनन् ?
बनाउने हो भने हाम्रो देशका सहर विश्वमै नमूना बन्न सक्छन् । हामीले नगरेकै कारण सहरको विकास हुन नसकेको हो । सहरमा बस्नेहरु पनि उत्तरदायी छैनौं । सरकारले ल्याएको नीति नियम पालना गर्न खोज्दैनौं । सहरवासीले आफ्नो मर्यादा पालना गर्न सकेको भए सहर यति फोहर हुने थिएन होला।

सरकारले कसरी काम गर्‍यो भने काठमाडौं राम्रो बन्ला ?
मुलतः कानुन, नीति नियमलाई आधार मानेर काम गर्नुुपर्‍यो । काठमाडौं कुरूप हुनुको मुख्य कारण अग्ला र अव्यवस्थित भवन निर्माण हो । उपत्यका प्राकृतिक रूपमा पनि रमणीय छ । हरिया डाँडाकाँडाले उपत्यकावासीलाई शितल प्रदान गरिरहेका छन् ।सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुँवाधुलो रोकथाममा ध्यान दिए काठमाडौं अरु मुलुकका सहरभन्दा राम्रो बन्छ।

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँको मौसम संसारमै नपाइने किसीमको छ । हरियालीले गर्दा दिनहुँ विदेशी पर्यटकहरु आइरहेका छन् । मलाई उपत्यकाका मठमन्दिर एकदमै मन पर्छ । यहाँ हाम्रो मौलिक पहिचान बोकेका अमूल्य सम्पदा छन्।

मन नपर्ने पक्ष ?
प्रदूषण, ट्राफिक जाम र भिडभाडले काठमाडौंलाई अस्तव्यस्त बनाएको छ।

तपाईको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सबैतिर व्यवस्थित होस् । सबैखाले सेवा–सुविधा पाइयोस् । सहरवासी एउटै परिवारजस्तै मिलेको देख्न पाइयोस् । सबैले एकअर्काको वास्ता गरुन् । म बसेको सहर यस्तै बनोस् भन्ने चाहन्छु।

हाम्रा सहरका विकास कसरी होला ?
जनतालाई सहर सफा राख्न निर्देशन दिनुपर्छ । सहरवासीको लार्पवाहिले पनि सहर बिग्रिएको हो । त्यसकारण उनीहरुलाई चेतनशील बनाउने नीति ल्याएर विकास निर्माणका काम अघि बढाउँदा नेपाल नमुना बन्छ।

सहरवासीको बानी व्यवहार कस्तो लाग्छ नि ?
सहरवासीको अलिक जिम्मेवार छैनौं । आफ्नोमात्रै सोच्छौं । मलाई सहरवासीको यहीँ बानी बानी राम्रो लाग्दैन । हामी नागरिक नियम मिच्छौं अनि सरकारलाई दोष धुपार्छौं । सहरका बस्नेले एकले अर्कोको कुरा काट्छन् । जिम्मेवार निकाय समक्ष आफ्ना समस्या राख्न सक्दैनन् । यो नै सहरवासीको नराम्रो पक्ष हो । अर्कोकुरा सहरमा कुरा बढी हुन्छन् काम हुदैनन्।

मन भएर पनि पुग्न नपाएको ठाउँ कुन हो ?
मलाई लण्डन जान मन छ । हेरौं यो चाहना पनि एकदिन पक्कै पूरा हुनेछ।  

पछिल्लो समय घुमेको सहर ?
केही समयअघि कतार पुगेर आएको थिएँ । मरुभूमीको देश भएर पनि हरियाली भएको नमूना देश कतार हो।

सहरको मनपर्ने खानेकुरा केहो ?

तामा, गुन्द्रुक र ढिडो मनपर्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १७ वैशाख २०७५ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App