coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘साझा र मयुर यातायात भित्र्याउन पहल गरेका छौँ’

सञ्जय सिग्देल, वडाध्यक्ष
चन्द्रागिरि नगरपालिका– ६

जनप्रतिनिधि भएपछि जनताले महसुुस गर्ने के काम गर्नुभयो ?
हामीले जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको ११ महिना भयो । जनप्रतिनिधि भएसँगै नगरपरिषदबाट नीति तथा कार्यक्रम ल्यायौँ । नीति तथा कार्यक्रमबाट पारित गरिएका योजनालाई अगाडि बढाइरहेका छौँ।

जनप्रतिनिधि भएर आएसँगै सडक र खानेपानी व्यवस्थापनमा जुटेका छौँ । खानेपानीको व्यवस्थापनका लागि खानेपानी संस्थानबाट ३२ करोड रुपैयाँको योजना पार्न सफल भयौँ।

उक्त योजनाबाट चारवटा डिप बोरिङ, एक लाख लिटर क्षमताका चारवटा ट्यांकी निर्माण गर्ने गरी योजना अघि बढेको छ । वडा कार्यालयले चेकपोस्टदेखि बालागाउँसम्म एक सय ५० मिटर सडक ढलान गर्‍यो । त्यस्तै, चेकपोस्टबाट गुमालचोकीमा पनि ढलान ग¥यौँ । हिमाल पेट्रोल पम्पबाट चार सय ५० मिटर सडक कालोपत्रे गरिरहेका छौँ । त्यस्तै, अन्य सडकमा पनि ग्राभेलिङ तथा कालोपत्रेको काम गरिरहेका छौँ ।

वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
काठमाडौं उपत्यकामा पानीका मुहान तथा स्रोत सुक्दै गइरहेका छन् । कंक्रिटको बस्तीकै कारण प्राकृतिक रूपले खानेपानीको रिचार्ज प्रणालीमा प्रभाव पारेको छ ।

जसकारण बर्सेनि पानीको सतह घट्दै गएको छ । नगरपालिकाले दुई वर्षभित्रै वडावासीलाई पर्याप्त खानेपानी वितरण गर्ने योजनासहित काम अगाडि बढाइरहेका छौँ।

चन्द्रागिरि हिल्सले मनोरञ्जन कर तिरेको छैन, कर उठाउने योजना के छ ?
चन्द्रागिरि हिल्स प्रालिले केबलकार सञ्चालन गरेर मुनाफा कमाइरहेको छ। तर, प्रालिले अहिलेसम्म नगरपालिकालाई मनोरञ्जन कर तिर्न आनाकानी गरिरहेको छ।

सात सय रुपैयाँमा टिकट बेच्दै आइरहेको प्रालिले पाँच प्रतिशत मनोरञ्जन कर तिर्न आलटाल गरिरहेको छ । त्यसैले नगरपालिकाले मनोरञ्जन कर तिर्न बारम्बार ताकेता गरिरहेको छ । तर, प्रालिले तिर्न मानेको छैन । अब प्रालिलाई मनोरञ्जन करबापत प्रतिटिकट पाँच प्रतिशत तिराउन लम्बिङ गरिरहेका छौँ।

तपाईंको वडामा ऐतिहासिक मार्तातीर्थ कुण्ड छ, कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
ऐतिहासिक मातातीर्थको कुण्डमा प्रत्येक मातातीर्थ औँशीका अवसरमा ठूलो मेला लाग्ने गर्छ । आफ्ना आमा गुमाएकाहरू आमाको स्मरण र महिमागान गर्न आउँछन् । मातातीर्थ कुण्डमा आमाको आकृति र प्रतिमा देखिने जनविश्वास रहँदै आएको छ ।

वडा कार्यालयले मातातीर्थ कुण्डलाई आमाहरूको तीर्थस्थलका रूपमा स्थापित गर्ने योजना बनाएको छ । मातातीर्थ कुण्ड र महालक्ष्मी सामुदायिक वनलाई समेटेर बृहत गुरुयोजना बनाउन लागेका छौँ । आगामी नीति तथा कार्यक्रम र बजेटमा मातातीर्थलाई व्यवस्थित गर्न बजेट विनियोजन गर्ने तयारी गरेका छौँ । मातातीर्थ र महालक्ष्मी सामुदायिक वन क्षेत्रलाई समेटेर भ्युटावर, पदयात्रा बनाउन लागेका छौँ ।

मातातीर्थ जान सार्वजनिक यातायातको समस्या छ नि ?

रत्नपार्कबाट मातातीर्थ आउन सार्वजनिक यातायातको निकै समस्या छ । यातायात व्यवस्थापन नहुँदा आन्तरिक तथा बाह्य पर्यटक मातातीर्थ कुण्ड दर्शन गर्न आउनै समस्या छ । जनता यातायातको सिन्डिकेटकै कारण यातायात अस्तव्यस्त र भद्रगोल भएको हो।

त्यसैले वडा कार्यालयले साझा यातायात र मयुर यातायात भित्र्याउन पहलकदमी गरिरहेको छ । अबको केही समयभित्रै सार्वजनिक यातायात सुधारेर व्यवस्थित गर्नेतर्फ अघि बढ्नेछौँ ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?

नगरपरिषद्बाट वडा कार्यालयका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । वडा कार्यालयले सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

तपाईंको वडामा अव्यवस्थित सहरीकरण बढिरहेको छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा अव्यवस्थित सहरीकरण ह्वात्तै बढ्यो । जथाभावी ढंगले जग्गा प्लटिङ गरेर बेचबिखन गर्ने कार्यले नै सहरीकरण अस्तव्यस्त ढंगले हुन पुगेको हो ।

केही भूमाफियाले आफ्नो स्वार्थ पूरा गर्न मापदण्डविनाका घडेरी बनाएर बेचबिखन गरेको पाइयो । हामी जनप्रतिनिधि आएसँगै भवन निर्माण मापदण्डलाई कडाइ साथ कार्यान्वयनमा ल्याएका छौँ । भवन निर्माण मापदण्डबमोजिम घर निर्माण गर्न पनि निर्देशन दिएका छौँ।

वडावासीको जीवनस्तर सुधार्न कस्तो योजना बनाउनुभएको छ ?
वडा कार्यालयले वडावासीको जीवन सुधार्न सिस्नुको व्यावसायिक खेतीका लागि अध्ययन गरिरहेको छ । मेरो वडामा ७० रोपनी सामुदायिक वन छ।

सामुदायिक वनमा सिस्नुका लागि उब्जाउ भूमि रहेको छ । त्यसैले कृषक समूह गठन गरेर सिस्नुको व्यावसायिक खेती गरेर जनताको आयआर्जन तथा जीविकोपार्जनमा सुधार ल्याउने योजना बनाएको छु । अबको तीन वर्षभित्रै व्यावसायिक ढंगले सिस्नुको खेती गरेर कृषकलाई आयमूलक क्षेत्रमा अघि लैजानेछौँ ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?

सर्वप्रथम वडावासीको सोचमा परिवर्तन ल्याउन जरुरी देखेको छु । वडाको स्वास्थ्यचौकीले निःशुल्क औषधि तथा ल्याब जाँचको सुविधा दिइरहेको छ। तर, वडावासीले स्वास्थ्यचौकीलाई अविश्वास गरेर अन्यत्र जाने प्रवृत्ति देखिएको छ।

त्यसलाई सुधार गर्नेछु । त्यसका साथै प्रत्येक वडावासीको घर–घरमा पानीसहितको धारा पुर्‍याउनेछु । त्यस्तै, पाँच वर्षभित्र वडाका सम्पूर्ण कच्ची सडक कालोपत्रे वा ढलान गर्नेछु ।
प्रस्तुति : हिमाल लम्साल

 

प्रकाशित: १७ वैशाख २०७५ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App