coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अरुण तेस्रोमा तेस्रोपटक बम विस्फोट

बम विस्फोटले वालमा क्षति पुगेको दृष्य।तस्बीर सौजन्य : गंगा विष्ट

तुम्लिङटार – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको प्रशासनिक भवनको कम्पाउन्ड वालमा बम विस्फोट भएको छ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको अरुण तेस्रोको नवनिर्मित प्रशासनिक भवनको दक्षिणपट्टिको कम्पाउन्ड वालमा शनिबार राति बम विस्फोट भएको हो । प्रहरीका अनुसार राति १२ बजे बम विस्फोट भएको हो । विस्फोटका कारण वालमा सामान्य क्षति पुगेको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए । घटनाको जिम्मा कसैले लिएको छैन । अनुसन्धान भइरहेको गौतमले बताए।

यसअघि अरुण तेस्रोको पावरहाउस निर्माणस्थल चिचिला गाउँपालिका–३, पुखुवामा दुईपटक बम विस्फोट भइसकेको छ । गत माघ २७ गते शनिबार राति पावरहाउसको निर्माणस्थलमा रहेको भवनमा कुकर बम विस्फोट भएको थियो । विस्फोटका कारण भवनको दुइटा कोठामा क्षति पुगेको थियो । एक वर्षअघि पनि उक्त भवन निर्माणका बेला बम विस्फोट गराइएको थियो । दुवै घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले दाबी गरेको थियो । उनीहरुले अरुण तेस्रो आयोजना नेपालकै लगानीमा बन्नुपर्ने माग राख्दै आएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला हैदरावाद हाउसबाटे समकक्षी मोदीले उनले अरुण तेस्रो आयोजनाको शिलान्यास गर्ने भनिए पनि नेपालतर्फ प्राविधिक पक्ष कमजोर भएका कारण शिलान्यास गर्न नसकिएको जानकारी दिइएको थियो । भारतीय प्रधानमन्त्री मोदीको आसन्न नेपाल भ्रमणको बेला वैशाख २८ गते आयोजना शिलान्यास गर्ने कार्यक्रम छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ ।

जलविद्युत् आयोजनको सुरक्षाको माग
पछिल्लो समय जलविद्युत् आयोजनाहरुमा अज्ञात व्यक्तिहरुले बम बिस्फोट गराउने क्रम बढेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले सरकारसँग निर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेका करिब चार हजार पाँच सय मेगावाट क्षमताका आयोजनाको सुरक्षाको माग गरेको छ । शनिबार राति अज्ञात समूहले अरुण तेस्रो जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट गराएपछि इपानले सुरक्षाको माग गरेको हो।

इपानले आइतबार विज्ञप्ति जारी गर्दै निर्माण सम्पन्न भएका र निर्माणाधीन आयोजनाको सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले पछिल्लो समयमा आयोजना असुरक्षित हुने क्रम बढेकाले सरकारसँग सुरक्षाको माग गरिएको बताए।

‘यसअघि पनिगृहमन्त्रालय र ऊर्जा मन्त्रालयलाई पत्राचार गरी सुरक्षाको माग गरेका थियौं,’ उनले भने, ‘अहिले पनि सरकारको ध्यानाकर्षण गराएका छौं।’‘सुरक्षाको प्रत्याभूति हुने गरी जलविद्युत् भएका र निर्माण भइरहेका जिल्लामा राज्यबाट सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग अनुरोध गर्दछौं । त्यस्ता विकासविरोधी तथा आंतक फैलाउने क्रियाक्रलापको घोर निन्दा र भत्र्सना गर्दछौं।’

हलसम्ममा हजार मेगावाट क्षमताका आयोजना निर्माण भएका छन् । तीन हजार पाँच सय मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता भएर निर्माणाधीन अवस्थामा छन् । ‘यस अवस्थामा आइपुग्नका लागि धेरै पुँजी, प्रविधि र जनशक्ति खर्च भइसकेको छ,’ इपानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘जलविद्युत विकास र समृद्धिको पूर्वाधार भएको र यसको सुरक्षाको प्रत्याभूति गराउनु सरकार र नागरिकको जिम्मेवारी हो।’

विगतका महिनाहरुमा लमजुङ, संखुवासभा, दैलेख, सुर्खेत, दोलखालगायत क्षेत्रमा सुरक्षाको अवस्था एकदमै कमजोर भएको पनि इपानले निष्कर्ष निकालेको छ । ‘पुनः संखुवासभामा रहेका आयोजनालाई आंतकित पार्ने गतिविधिले आयोजनालाई अप्ठेरोमा पारेको छ,’ इपानको विज्ञप्तिमा उल्लेख छ।

म्याद थप
लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय थप गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको ३०औं बैठकले उक्त आयोजनोको समय असोज ६ गतेसम्म थपेको हो।

बैठकले काठमाडौं उपत्यकाको रुट–२ (नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल)मा मेट्रो रेल निर्माण तथा सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययनको कार्य अघि बढाउन तयार गरिएको आशयपत्र सम्बन्धी कगजात स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । उक्त बैठकले बोर्डको कार्यालयको आर्थिक वर्ष ०७५÷७६ को बजेट कार्यक्रम समेत स्वीकृत गरेको छ।

बैठकले सरकारको स्रोतबाट पाँचवटा आयोजना (शिशा उद्योग, से–फोक्सुन्डो लक्जरी रिसोर्ट, एकीकृत कृषि परियोजना, स्की रिसोर्ट  र स्वास्थ्य, शिक्षा तथा खेलकुद सहर) को सम्भाव्यता अध्ययनका लागि आशयपत्र सम्बन्धी कागजात स्वीकृत गरेको छ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले विकास गतिलाई तीव्र बनाई अर्थतन्त्रलाई समेत गतिशील बनाउनुपर्नेमा जोड दिँदै सबैलाई विकासको मामलामा एकजुट हुन आग्रह गरेका गरे ।  उनले विकास निर्माणका काममा कुनै कानुनी अवरोध भए सोको निराकरणका लािग प्रस्ताव गर्न समेत बोर्डलाई निर्देशन दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

 

प्रकाशित: १७ वैशाख २०७५ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App