coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘हिलटाउन’को सपना अधुरै

गोरखा - झुरुप्प बसेको एकीकृत बस्ती, ढुंगाले छाएको एकनासे घर, आकर्षक दृश्य । तीन वर्ष अघिसम्म यस्तै देखिन्थ्यो बारपाकमा।

समुद्री सतहबाट १९ सय मिटर उचाइमा अवस्थित यो बस्तीको पहिचान २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षणभरमै परिवर्तन गरिदियो। अहिले बारपाकलाई भूकम्पको ‘इपिसेन्टर’ (केन्द्रबिन्दु)को रुपमा चिनिन थालिएको छ।करिब १४ सय घरधुरी रहेको यो बस्तीमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट अधिकांश घर ढले । ७२ जनाले ज्यान गुमाए । कैयौं घाइते भए।

भूकम्प गएको तीन वर्ष पूरा भयो । बारपाकबासी भूकम्पबाट भत्किएको घर पुनर्निर्माणमा व्यस्त छन् । तीन वर्षसम्म टहरामा बिताउँदा बेहोर्नुपरेको पीडा बिर्संदै उनीहरु आउँदो बर्खाअघि नै नयाँ घरमा सर्ने तयारीमा छन्।

बिडम्बना, अहिले बारपाकमा पुरानो बस्ती र मौलिकता मेटिइसकेको छ।सबैको ध्यान मौलिकताभन्दा सरकारले दिने किस्ताको म्याद गुज्रिने चिन्तामा देखिन्छन् । त्यो चिन्ता पुनर्निर्माण भइरहेका घरमा झल्किन्छ । निर्माणाधीन घर आधुनिक डिजाइन, ढलान गरिएका र रंगीचंगी जस्ताले छाएको मात्र भेटिन्छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार बारपाकका एक हजार तीन सय एक लाभग्राहीमध्ये करिब ६ सय जनाले घर निर्माण सम्पन्न गरेका छन् । नौ सय ५२ लाभग्राहीले दोस्रो किस्ताको अनुदान लिइसकेका छन् । करिब ३० प्रतिशतले अझै घर बनाउन सुरु गरेका छैनन्।

यसकारण बन्न सकेन ‘हिलटाउन’

‘बारपाकलाई गुरुयोजना बनाएर व्यवस्थित रुपमा पुनर्निर्माण गर्छाैं, यसका लागि तत्काल प्राविधिक पठाउँछु,’ २०७२ पुस २ गते बारपाक पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली यही घोषणा गरेर फर्किएका थिए । भूकम्पको पीडामा गुज्रिएको बारपाकीले प्रधानमन्त्रीको कुरामा विश्वास गरे । दुई वर्षसम्म टहरामै बसेर सरकारको योजना पर्खिरहे ।

पटकपटक सरकार फेरिए । बारपाक पुनर्निर्माणको कुनै योजना आएन । अर्कोतर्फ पुनर्निर्माण प्राधिकरणले अनुदान लिने समयसीमा तोक्यो । सरकारीस्तरबाट कुनै योजना नआउनु र अनुदान लिने म्याद तोकिनुले बारपाकीमा अर्को पीडा थपिदियो।

‘प्रधानमन्त्रीले नै बारपाकलाई व्यवस्थित रुपमा पुनर्निर्माण गर्न गुरुयोजना बनाउने र तत्काल प्राविधिक पठाउने आश्वासन दिएका थिए । तर, एकपटक कार्यक्रम गरेपछि सकियो,’ बारपाकका लघु जलविद्युत् उद्यमी वीरबहादुर घले भन्छन्, ‘स्थानीय स्तरबाट हामीले सहरी विकास मन्त्रालय, भवन निर्माण विभाग, पुनर्निर्माण प्राधिकरण लगायतमा यस विषयमा पटक–पटक पहल गर्‍यौं । डेलिगेसन जाँदा व्यवस्थित सहरी विकासको ढाँचा देखाउने काम मात्र भयो।’

घलेका अनुसार जग्गा अधिग्रहण गरी व्यवस्थित बनाउने विषय स्थानीयस्तरबाट सम्भव थिएन । सबैजना यसमा सहमत हुने परिस्थिति थिएन । त्यसैले राज्यस्तरबाटै हस्तक्षेप गर्नु जरुरी थियो । तर, दुई वर्ष बित्दा पनि राज्यबाट कुनै पहल भएन । राज्यबाट केही योजना आउने पर्खाइमा घर नबनाई टहरामा बस्नुपर्दा बारपाकीले विभिन्न समस्या भोग्नुप¥यो । विशेषतः वृद्धवृद्धाले गुनासो गर्न थाले । टहराको बसाइ पीडादायी हुँदै गएपछि स्थानीयले आफ्नै तरिकाले घर बनाउन सुरु गरे।

बारपाकीले अहिले आ–आफ्नो तरिकाले घर बनाइरहेका छन् । प्राधिकरणले असार मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने म्याद तोकेको छ । म्याद गुज्रिने डरले जसरी भए पनि घर बनाउन उनीहरु लागिपरेका छन् । पैसा नहुनेले ऋण–धन गरेर बनाइरहेका छन् । घर बनाउन दक्ष, अदक्ष मान्छे नै छैन । त्यसैले उनीहरु आलोपालो गरेर घर बनाइरहेका छन्।

आर्थिक स्थिति राम्रो भएकाले बाहिरी जिल्लाबाट कामदार ल्याएर घर निर्माण गरिरहेका छन्।
‘बारपाकलाई व्यवस्थित हिलटाउन बनाउने राम्रो अवसर थियो । स्थानीय स्तरबाट पहल हुँदाहुँदै पनि राज्यको तर्फबाट सहयोग नहुँदा त्यो अपूरो रह्यो,’ घले भन्छन्, ‘राज्यको तर्फबाट नमुना बस्ती बनाउन समयमा पहल भएन । राज्य संयन्त्रको आलटालले गर्दा हामीले ठूलो अवसर गुमायौं । राज्यले पनि यो अवसर गुमायो।’भूकम्प गएको दुई वर्षसम्म सरकारी संयन्त्र नीतिगत कुरामै अल्मलियो । पुनर्निर्माण प्राधिकरणले भनेको भूकम्पप्रतिरोधी घर स्थानीयले पिलरवाला नै हो भन्ने बुझे । घले भन्छन्, ‘भूकम्पअघि ६–७ वटा आरसिसी ढलान घर बनेका थिए ।

भूकम्पमा सबै घर ढले पनि ती घर ढलेनन् । त्यसले सबैमा भूकम्पप्रतिरोधी घर भनेको ढलान घर नै हो भन्ने सोच घुस्यो ।’उनका अनुसार बारपाकमा धेरैले विभिन्न किसिमका सहयोग गर्न खोजे । तर, दीर्घकालीन रुपमा सरकार र गैरसरकारी संस्थाले गर्ने कामको स्पष्ट विभाजन भएन।‘बारपाकलाई बाहिरबाट हेर्दा जुन परिदृश्य थियो, त्यो अहिले रहेन । यसको कारण मान्छेले नयाँ चाहना राख्यो । घरको माथिल्लो छाना मात्र स्लोपमा बनाइदिए राम्रो हुन्थ्यो।

माटाको गारा नै हुनुपर्छ भन्दिन । आरसिसी घरमा क्षति नभएका कारण यसप्रति सबै आकर्षित भए,’ घले भन्छन्, ‘बारपाक हिजो एकीकृत बस्ती थियो, अब पनि रहन्छ । तर, व्यवस्थित एकीकृत बस्ती, जहाँ प्रत्येक घरमा खानेपानी, सडकले छोएको, ढलको व्यवस्था भएको हुनुपथ्र्यो, त्यस्तो बन्न सकेन ।’अहिले बनिरहेको बस्तीमा सेप नमिलेका जग्गा रहेको उनी बताउँछन् । ‘सरकारले अधिग्रहण गरेर जग्गा विकास गरिदिएको भए यी सबै कुरा व्यवस्थित गर्न सकिन्थ्यो ।

हामीले गर्दा राजनीतिक, सामाजिक इस्यु बन्छ । राज्यले गर्न चाहेको भए यो सम्भव थियो,’ उनले भने ।सुलिकोट गाउँपालिका प्रमुख विजय भट्ट परिवर्तित चाहना र आवश्यकताका कारण बारपकको पुनर्निर्माण मौलिक शैलीमा हुन नसकेको बताउँछन् । ‘बाहिरी दृश्यका कारण बारपाकको जुन मौलिक पहिचान थियो, त्यसलाई बचाउन सकेनौं,’ प्रमुख भट्टले भने, ‘त्यसमा केही जटिलता थिए । त्यही ढुंगाको छानो मान्छेको काल बन्यो।

हिजो र आज मान्छेको आवश्यकता पनि परिवर्तन भयो ।’ हिजो संयुक्त परिवारमा अलगअलग ढंगले बस्न सक्थे, बिजुली थिएन एउटा टुकीको भरमा बस्नुपथ्र्यो । एउटै हलमा सुत्ने, बस्ने बाध्यता थियो । ‘अहिले बिजुली आयो, मान्छे कोठा कोठामा बस्न चाहन्छन् । पुराना मोडलका घर अब नयाँ चाहना अनुरुप भएन । अर्को भूकम्पप्रतिराधी पनि बन्नुप¥यो,’ उनले भने, ‘यद्यपि, छानामा मात्र मौलिकता दिन सकिन्थ्यो । त्यो किसिमको अध्ययन समयमा हुन सकेन । अब त्यसमा फर्कन सम्भव छैन।’

अबको सम्भावना
भूकम्पपछि बारपाकले पुरानो पहिचान गुमाइसकेको छ । पहिलेको जस्तो  सुन्दर दृश्य र मौलिकताको अनुभव गर्न सम्भव छैन ।

त्यसो भए अब बारपाकमा केका लागि आउने त ? ‘बारपाकलाई व्यवस्थित बनाएर नयाँ पहिचानसहित पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्छौं । बस्तीको सरसफाइ, बाटाघाटा, स्टोन पिचिङ, नाली व्यवस्थापन गरेर नयाँ प्रकारका सुन्दरता दिने योजना छ,’ सुलिकोट गाउँपालिका प्रमुख भट्ट भन्छन्, ‘बारपाक भ्यू टावरको शिलान्यास भइसकेको छ । सांस्कृतिक पक्षलाई केन्द्रित गर्न बारपार्क सामुदायिक तथा भिसी संग्रहालय स्थापना गर्दैछौं । भूकम्प स्मृति पार्क र गुम्बा बन्ने क्रममा छ।’

लघु जलविद्युत् उद्यमी घले भूकम्पपछिको नयाँ बारपाक हेर्न कै लागि पनि पर्यटक आउने बताउँछन् । यसअघि भिक्टोरिया क्रस विजेता गजे घलेको कारण पनि यो ठाउँ चर्चित थियो । अब यसमा नयाँ परिचय थपिएको छ, भूकम्पको केन्द्रबिन्दु । यो हेर्नकै लागि भए पनि एकपटक पर्यटक आउने उनको विश्वास छ । भूकम्प स्मृति पार्क र संग्रहालय बनाउने योजनाले यसमा थप सहयोग पुग्ने उनको भनाइ छ।

‘यो पर्यटनको लागि अत्यन्त आकर्षक थलो हो । केही दलितबाहेक घले र गुरुङको मात्र बसोबास छ । १९ सय मिटर उचाइमा यत्रो ठूलो बस्ती सम्भवतः अन्त छैन । यहाँको भाषा, मौलिक संस्कृति जीवित छ,’ उनी भन्छन्, ‘त्यसैले आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढ्ने सम्भावना धेरै छ।’

तर, पर्यटकीय संरचना विकास गर्ने ठोस योजना कतैबाट बनेको छैन । भूकम्पपछि २०–३० वटा साना होटल र होमस्टे खुलेका छन् । आन्तरिक पर्यटककै लागि पनि अहिलेको संरचना पर्याप्त छैन । विदेशी पर्यटक भिœयाउन व्यवस्थित संरचना बनाउनैपर्छ । वरिपरि रहेका झरनाको प्रवद्र्धन, रक क्लाइम्बिङका साथै यहाँबाट छोटो ट्रेक विकासको पनि सम्भावना रहेको घलेको भनाइ छ।

 भूकम्पपछि बारपाकीमा केही व्यावसायिक सोच विकास भए पनि कसरी अगाडि बढ्ने भन्ने अलमलमा रहेको उनी बताउँछन् । उनका अनुसार पर्यटनबाहेक व्यावसायिक खेती र पशुपालनमा राम्रो सम्भावना छ  । तर, गुजारा चलाउन मात्र खेती र पशुपालन गर्ने ‘ट्रेन्ड’ परिवर्तन भएको छैन । अधिकांश बारपाकी बेलायत, फ्रान्स, भारत, इटली लगायत सैनिकमा कार्यरत छन् । त्यसैले यहाँको मुख्य आम्दानीको स्रोत रेमिट्यान्स हो । तर जति रेमिट्यान्स आएको छ, बिलासितामै खर्च भइरहेको छ।

घलेका अनुसार बारपाकीको संस्कार बाहिर बसाइँसराइ भएर जानु राम्रो मानिँदैन । त्यसैले गाउँमा नबसे पनि सामाजिक प्रतिष्ठाका लागि घर बनाउनेको संख्या धेरै छ । वर्षमा १–२ पटक आएर बस्नका लागि पनि घर आवश्यक ठान्छन् । अरुको भन्दा कम हुनुहुँदैन भन्ने मान्यताले बढी खर्च गर्ने होड नै चल्छ । यसरी घरमा बढी लगानी गर्नुभन्दा उत्पादक क्षेत्रमा एकीकृत लगानी गर्नुपर्नेमा उनी जोड दिन्छन्।

‘अहिले अनुत्पादनक क्षेत्रमा बढी लगानी भइरहेको छ । उत्पादनमूलक क्षेत्रमा ‘कलेक्टिभ इन्भेस्टमेन्ट’ गर्न सकेको भए रोजगारी सिर्जनादेखि आर्थिक सम्पन्नताका लागि ठूलो सहयोग पुग्ने थियो,’ उनले भने, ‘पुरानो  सोच परिवर्तन गरेर उद्यमशीलता विकास गर्ने प्रयासमा हामी जुटदैछौं ।’
 

प्रकाशित: १७ वैशाख २०७५ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App