७ वैशाख २०८१ शुक्रबार
अर्थ

गाउँ–गाउँमा करोडौंका सहकारी

सिन्धुली – सिन्धुलीको सुनकोसी गाँउपालिका ७ मझुवा विकट वडाको रुपमा गणना हुँन्छ त्यही वडामा एउटा महिला सहकारी छ। विकट गाउँकै सहकारी भएपनि करोड माथिको कारोबार भइरहेको छ। पछिल्लो समय सिन्धुलीका गाउँगाउँमा करोड माथिका सहकारी हुन थालेका छन्। सानै पुँजीबाट सुरु भएका सहकारी हाल करोड माथिका भएका छन्।

सहकारीमा करोड माथिको पुँजी रहेपनि जोखिम भने उत्तिकै देखिएको छ। ऋण लगानी नउठ्ने तथा सहकारीमा ठगी धन्दा हुने जस्ता विकृती फैलिएको छ। जिल्लास्थित विभिन्न साविकका गाविसमा हाल ५० लाख भन्दा माथिका सहकारी भएका छन्। स्थानीय महिलाहरूको शेयर र बचत गरी यस्तो मोटो रकम गाउँमा जम्मा भएको हो।

हाम्रो सहकारीमा एक करोड माथिको पुँजी छ, महिला चेतना बचत तथा ऋण सहकारी संस्था मझुवाकी अध्यक्ष कमला दाहालले भनिन्–‘दैनिक बचत तथा शेयर गरी यो रकम जम्मा भएको हो।’ महिलाहरूलाई व्यवसायीक बन्नमा सहकारीले ऋण प्रवाह गर्ने भएपछि बचत गर्ने र ऋण लिने गर्न पाउदा महिलाहरू पनि हर्षीत देखिन्छन्।

सबै रकम जोखिम छैन भन्ने अवस्था छैन, सहकारीकी व्यवस्थापक विमला राइले भनिन्–‘केहि रकम जोखिममा पनि छ। ऋण मागेपछि दिनै प¥यो, के गर्ने जोखिमको रकम असुल्नै गाह्रो हुन्छ उनले भनिन्।’ जिल्ला सदरमुकाम मात्र नभएर पछिल्लो समय सिन्धुलीका गाउँगाउँमा सहकारी स्थापना भएका छन्।

स्थानीय महिला तथा पुरुषको अगुवाइमा स्थापना भएका सहकारीले मोटै रकम कारोवार गर्न थालेका छन्। सदरमुकाममा सहकारीले मार्केट लिनै गाह्रो हुन्छ, एक स्थानियले भने–‘गाँउमा थोरै सहकारी हुन्छ त्यसैले छिट्टै मार्केट लिन्छ, कारोवार बढाउन सक्छ।’ यहाँको कमलामाई नगरपालिका ३ जलकन्यामा रहेको सहकारीले २ करोड बढीको कारोबार गर्दै आएको छ।

करिब पाँच वर्ष अगाडि खुलेका यी सहकारीले गाउँमा वर्षेनी मोटो रकम कारोबार गर्ने गरेका छन्। सहकारीको रकम बढ्दै जाँदा केहि स्थानीयमा भने आफ्ना रकम जोखिममा भएको महशुस हुन्छ। यहाँको बेलघारी गाविसकी रमा मगर सहकारीलाई पूर्ण विश्वास गर्ने आधार नभएको बताउछिन्।

हामीले कसरी विश्वास गर्ने, सहकारी सहकारी सञ्चालकनै बैमानी हुन्छन्, गाउँका महिलाहरूलाई सबै कुरा थाहा हुँदैन, उनले भनिन् गाउँका केहि सहकारी जोखिममा छन्। विगत एक दशक अगाडिसम्म साहुको मन बुझाएर लिनुपर्ने ऋण हाल सहकारीलेनै दिन थालेपछि स्थानीय खुसी समेत देखिन्छन्। गाउँकै सहकारीबाट ऋण लिएर व्यवसाय गर्नेका लागि भने सहकारी अवसरकै रुपमा स्थापित भएको छ।

व्यवसायीक बन्दै महिला
साविकको सित्तलपार्टी–१ की कमला माझी दुई पसलकी साहुनी हुन्। उनलाई दुई पसलकी साहुनी बनाउने देन पुख्र्यौली सम्पत्ति होइन। सम्पत्तिको नाममा केहि नभएकी माझीलाई दुई पसलकी साहुनी गाउँकै सहकारीले बनाएको हो।

गाउँमा खुलेको सहकारीको सानो ऋणले हात मुख जोर्ने किराना पसल खोलेकी कमला तीन वर्षको दौरानमा पसलकी साहुनी बनिन्। गाउँमा खुलेको ज्योति महिला बचत तथा ऋण सहकारीबाट ३० हजार ऋण लिएर गाउँमा कस्मेटीक पसल सुरु गरेकी विमलाले दुई रुपैँया चार रुपैँया गरेर जोगाउन थालिन्। त्यसरी जोगाएर तीन महिना नवित्दै सहकारीको ऋण तिरेर फेरी ऋण लिएर व्यवसाय बढाइन्। बनिबुतो गरेर दुई छाक टार्न धौ धौ हुने परीवारकी कमला हाल कस्मेटीक पसल साहुनी मात्र होइन किराना पसल समेत गरेकी छिन्।

सहकारीको ३० हजार ऋणबाट हाल दुईओटा पसल सञ्चालनमा छन्, उनले भनिन्–‘कस्मेटिक पसलमा म आफै व्यापार गर्छु किराना पसलमा श्रीमान् बस्नुहुन्छ।’ मैले सहकारीको ऋणले यतिसम्म सफल हुन्छु भन्ने त सोचेकी थिइन् तर राम्रो भयो उनले भनिन्।

झन्डै दशक अगाडिको कुरा हो झाँगाझोली रातमाटाकी सरस्वती चौलागाईलाई गाउँमा १० हजार ऋण कसैले पत्याएनन्। ससुराले लिएको ऋण तिर्नका लागि ससुराको स्वर्गारोहणपछि १० हजार ऋण कसैले नपत्याएर गाउँका साहुमाजनको भनाई सहन नसकेर रोएकी सरस्वतीको जीवनमा हाल ठ्याक्कै उल्टो भयो। १० हजार होइन एक लाख ऋण लिनु र दिनु उनका लागि अहिले ठूलो कुरै छैन। यो अवस्था त्यति सजिलै आएको होइन।

४ वर्ष अगाडि गाउँमै उनी सहित महिलाहरूको सक्रियता र जिल्लास्थित गैरसरकारी संघसंस्थाको निगरानीमा दिपमाला महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरी सोही सहकारीमा आवद्ध भएपछि उनको जिवनमा परिवर्तन आएको हो।  सुरुमा १० हजार ऋण लिएर तरकारी खेती गर्न थालेपछि उनलाई त्यहि १० हजारले लाखौ आम्दानी गर्ने बाटो देखायो।

कुनै समय १० हजार तिर्नका लागि ऋण नपाएर रोएको थिए, आज सहकारीले सहजै ऋण दिएको देख्दा मनको खुसी पोख्ने स्थाननै छैन, उनले नागरिकसँग भनिन्–‘मेहनत गर्नेको फल पनि मिठो हुन्छ, आलु बेचेर मात्र मैले डेढ लाख कमाएको छु।’पछिल्लो समय गाउँ–गाउँमा खुलेको सहकारीले महिलाको जिवनमा कायापलट ल्याएको छ। गाउँमै रहेको सहकारीले सहजै ऋण दिन थालेपछि सहकारीको ऋणले महिलाहरू व्यवसायीक बन्दै गएका स्थानीय बताउछन्। सहकारीले महिलाहरूलाई व्यवसायीक मात्र बनाएको छैन, गाँउमा आफ्नो अधिकार स्थापित समेत गराएको छ।

प्रकाशित: १६ वैशाख २०७५ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App