माइभ्याली गोल्डकप

वर्षको पहिलो उपाधि जित्ने दुबै टोलीको दाबी

आइतबार, १६ बैशाख २०७५, १४ : ५८ भीम चापागाईं

इलाम – चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सोमबार हुने फाइनलमा देशका फुटबल पर्याय लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी र रुस्लान थ्री स्टार उपाधिका लागि भिड्दैछन्। पूर्वी पहाडकै ठूलो धनराशिको प्रतियोगिता माइभ्यालीको उपाधि होडमा चीरपरिचित दुवै चर्चित टिम पूर्ण तयारीसाथ मैदान उत्रदैछन्।

राष्ट्रिय टिमका कप्तानदेखि अन्तर्राष्ट्रियस्तरमा समेत चर्चित खेलाडीले भरिभराउ दुवै टिमले आफैं उपाधि जित्ने दाबी गरेका छन्। सदरमुकाममा आइतबार बिहान आयोजित प्रि–म्याच कन्फरेन्समा मनाङ र थ्री स्टार दुवै टिमका प्रशिक्षक तथा कप्तानले एक–अर्का टिमसँग आफू परिचित रहेको भन्दै माइभ्यालीको उपाधि आफ्नो पोल्टामा पर्ने बताए। खेलको उच्च कौशल प्रदर्शन गर्दै फाइनलको खेल खेल्ने र उपाधिमाथि कब्जा जमाउने रणनीतिमा आफूहरू रहेको दुवै टिमले जनाए।

मनाङ–मस्र्याङ्दी राष्ट्रिय टिमका कप्तान विराज महर्जनको कप्तानीमा राष्ट्रियस्तरमा परिचय बनाइसकेका ७ खेलाडीसहित मैदान उत्रिँदैछ। अञ्जन विष्ट, हेमन गुरुङ, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई र विमल बस्नेत मनाङको पक्षमा खम्बा साबित हुनेछन्। मनाङका प्रशिक्षक फुजा टोपेले फाइनलमा आफूले विपक्षीसँग बराबरीको खेल हुन्छ भन्नेसम्म पनि नसोचेको बताए।

प्रशिक्षक टोपेले आफ्नो टिममा तालिमप्राप्त र उत्कृष्ट खेलाडी रहेकाले माइभ्यालीको उपाधि आफूहरूको पोल्टामा पर्ने बताए। ‘विपक्षी थ्री स्टार पनि निकै राम्रो टिम हो,’ उनले भने, ‘तर, हामी अहिलेसम्म भएका सबै कमी–कमजोरी सुधारेर फाइनलमा प्रदर्शन गर्नेछौं।’ मनाङले माइभ्यालीको सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र क्वार्टरफाइनलमा आयोजक माइभ्याली क्लबलाई समान १–० गोल अन्तरले पराजित गरेको थियो।

गत सिजनमा मनाङसँगका पाँचै भेट सुखद् बनाउन सफल थ्री स्टार क्लब निराजन खड्काको कप्तानीमा ५ राष्ट्रिय खेलाडीसहित मैदान उत्रिँदैछ। थ्री स्टारका लागि चर्चित स्ट्राइकर विमल घर्तीमगर, रजिन धिमाल, एलन नेउपाने, सुनील बल, अनन्त तामाङ, विजय धिमाललगायतका खेलाडीले विपक्षीको सामना गर्नेछन्।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले जुनसुकै टिमबीच प्रतियोगिता हुँदा पनि जित–हारको सम्भावना बराबर नै हुने गरेको बताए। ‘जुनसुकै खेलमा जित–हारको सम्भावना बराबर नै हुन्छ तर हामी जहिले पनि विपक्षी टिमभन्दा उत्कृष्ट प्रदर्शन गरी जित्ने लक्ष्यमा हुन्छौं,’ उनले भने, ‘हाम्रो टिमको प्रदर्शन पनि खेलको सुरुदेखि अन्तिमसम्म विपक्षीको सामना गर्ने र जित हासिल गर्ने किसिमको नै हुन्छ।’

उनले इलामको माइभ्याली गोल्डकप जित्न काठमाडौंबाटै तयारीसाथ आएको बताए। ‘फाइनल खेलमा हाम्रोतर्फबाट कुनै कमी–कमजोरी हुनेछैन, इलामे दर्शकले उच्चस्तरको खेल हेर्न पाउनुहुनेछ,’ उनले भने, ‘थ्री स्टार र मनाङ भिड्नु भनेको रियाल मड्रिड र वार्सा भिड्नुजस्तै हो भन्ने नेपाली दर्शकलाई थाहा छ।’ उनले गत सिजनमा भएका र यही प्रतियोगितामा पनि रेफ्रीको निर्णय परिपक्व नभएको प्रतिक्रिया दिए। ‘खेललाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नियममा रहेर खेलाउनु रेफ्रीको कर्तव्य हो,’ उनले भने, ‘तर, अहिले भइरहेका खेलहरूमा रेफ्रीको निर्णय सन्तोषजनक पाइएको छैन, रेफ्री पनि आफैं नियन्त्रित हुनुपर्छ र मात्रै खेल नियमबद्ध हुनसक्छ।’

गत सिजनमा मनाङ र थ्री स्टारबीच ५ पटक भेट भएको थियो। सबैमा थ्री स्टारले मनाङलाई आफ्नो नियन्त्रणमा राखेको थियो। बुटबलको तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा थ्री स्टारले मनाङलाई २–१ गोल अन्तरले हराएको थियो। मनमोहन गोल्डकपको फाइनलमा थ्री स्टारले २–० गोलान्तरले मनाङलाई पराजित गरी उपाधि चुमेको थियो। इटहरीमा भएको मदन भण्डारी स्मृति गोल्डकपमा थ्री स्टारले मनाङलाई १–० गोलान्तरले हराएर फाइनल जितेको थियो।

हेटौंडामा भएको गोल्डकपमा थ्री स्टारले टाइब्रेकरमा मनाङलाई स्तब्ध बनाएको थियो भने सिमरा गोल्डकपको सेमिफाइलनमा पनि थ्री स्टारले नै मनाङलाई २–० गोलको अन्तरले पराजित गरेको थियो। ‘विगतमा यसले उसलाई जितेको भनेर अबको खेल त्यसमै भर पर्दैन,’ थ्री स्टारका प्रशिक्षक केसीले भने, ‘विपक्षीलाई हामी कहिल्यै कमजोर सोच्दैनौं, राम्रो तयारीसाथ प्रतिस्पर्धामा जान्छौं।’

वैशाख ६ मा सुरु पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको प्रतियोगिताको चौथो संस्करण विजेताले नगद ६ लाख ६६ हजार र उपविजेताले ४ लाख रुपैयाँ नगद पाउने छन्। सर्वाेत्कृष्ट खेलाडीलाई यामाहा–१५० सिसीको मोटरसाइकल प्रदान गरिने छ। प्रत्येक दिनका म्यान अफ् दि म्याचलाई नगद १० हजार र चाँदीको मेडल प्रदान गरिएको आयोजक माइभ्याली फुटबल क्लब अध्यक्ष धिरेन चेम्जोङले बताए। प्रतियोगिताका उत्कृष्ट रक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीलगायतलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा ए–डिभिजन क्लबसहित नेपाल, भारत र बंगलादेशका १२ टिम सहभागी थिए। प्रतियोगितामा ३ विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब, आयोजक माइभ्याली क्लब, पोखराको कास्की–११, संकटा, लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी, रुस्लान थ्री स्टार, रमपम झापा–११, भारतको दुर्गापुर स्टिल र युनाइटेड सिक्किम तथा बंगलादेशको कावरान प्रगति संघले सहभागिता जनाए। माइभ्यालीको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लब र दोस्रो तथा तेस्रो संस्करणको उपाधि रमपम झापा–११ ले जितेका थिए।    








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad