coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मलेसियामा जथाभावी कैद र यातना

काठमाडौं – वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ।

मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य सम्मिलित एक टोलीका अनुसार पछिल्लो समय मलेसियाका सुरक्षाकर्मीले गैरकानुनी रुपमा नेपाली कामदारलाई थुन्ने, यातना दिने काम गरेका छन्।

मलेसियामा कार्यरत श्रमिकलगायत विभिन्न निकायसँग छलफल गरी फर्केको टोलीका सदस्य तथा सांसद प्रकाश रसाइलीका अनुसार मलेसियाको रोजगारी नेपालबाट हेरेभन्दा निकै फरक छ। ‘नेपालमा जसरी हामी रेमिट्यान्सले देश चलेको भनेर गर्व गर्छौं, मलेसियामा कामदारको पीडा देखेर लज्जाबोध हुने अवस्था छ,’ उनले भने, ‘कामदारलाई जसले सक्छ उसले अत्याचार गरिरहेका छन्।’ मलेसियन सरकारको नाम मात्रको मानवअधिकारको मारमा कामदार परेको उनको भनाइ छ।

रोजगारीका लागि मलेसिया पुगेका नेपालीमध्ये एक सय ७१ जेलमा छन् । जेलमा रहेकामध्ये १५ जनामाथि मृत्युदण्डसम्म हुन सक्ने मुद्दा चलिरहेको छ

मलेसिया जान तीन वर्षअघि निःशुल्क भिसा र टिकट लागू हुुनुपर्ने निर्णय भएको छ। त्यसयता स्वदेशमा विभिन्न शीर्षकको नाममा शुल्क असुल गर्ने क्रम जारी रहेको बेला मलेसियामै समेत अनेक समस्या सिर्जना भइरहेको हो।

मलेसियामा रहेको नेपाली त्यहाँका सुरक्षाकर्मी र स्थानीयबाट मात्र नभई नेपालीबाट समेत ठगिने गरेको भ्रमण टोलीमा आवद्ध सदस्यले बताए। भ्रमण टोलीमा सांसदहरू दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, प्रकाश रसाइली स्नेहीसहित श्रमविज्ञहरू सोम लुइँटेल र सोम लामिछाने सहभागी थिए। सांसद स्नेहीले कामदारको मलेसिया रोजगारी सहज बनाउन त्यहाँको नेपाली राजदूतावासलाई साधन, स्रोत सम्पन्न बनाउनुपर्ने सुझाव दिए।

‘कामदार समस्यामा पर्दा दूतावासले उद्धार नै गर्न सक्दैन,’ उनले भने, ‘भाडाको भवनमा रहेको सोही दूतावासमा समस्यामा परेका कामदारलाई सेल्टर दिने स्थानसमेत छैन।’ मलेसियामा कार्यरत विभिन्न स्रोत मुलुकका कामदार समस्यामा परेको व्यापक रूपमा आवाज उठेपछि एसियन माइग्रेसन नेटवर्कले नेपाल र बंगलादेशका सांसद र विज्ञलाई बोलाएर समस्या समाधाका उपायमा केन्द्रित रहँदै छलफल गरेको थियो।

सोही छलफलमा सहभागी विज्ञ सोम लुइँटेलले मलेसियाका रोजगारदातादेखि सुरक्षाकर्मीसम्मले कामदारलाई समस्यामा पारेको बताए। उनका अनुसार मलेसियाका प्रहरीले कामदारको सामान्य त्रुटिमै पक्राउ गरेर १४ दिनसम्म थुनामा राख्न सक्ने प्रावधानले समस्या बढिरहेको बताए। रोजगारीको लागि गन्तव्य मुलुक पुगेको व्यक्ति अनावश्यक जेलमा बस्नु पर्दा एकातिर आर्थिक क्षति भइरहेको छ  भने अर्कोतर्फ मानसिक तनाव खेप्नुपर्ने बाध्यता छ।

टोलीले मलेसियामा काम गर्ने कामदार, नेपाली दूतावास, बार काउन्सिल, ट्रेड युनियन, मलेसियन मानव अधिकार आयोग, गैरआवासीय संघ लगायत निकायसँग छलफल गरेको थियो। लुइँटेलले मलेसियाका साना रोजगारदाताले कामदारलाई निःशुल्क भिसा र टिकट नदिएको तर ठूला कम्पनीले त्यस्तो सेवा उपलब्ध गराएको बताए। मलेसियन प्रहरीले कामदारसँग जथाभावी रकम असुल गर्दा पनि समस्या बढिरहेको टोलीको ठहर छ।

मलेसियामा करिब सात लाख नेपाली छन्। यीमध्ये तीन लाख हाराहारी नेपाली गैरकानुनी रुपमा बसिरहेको बताइन्छ। रोजगारीका लागि मलेसिया पुगेकामध्ये एक सय ७१ जेलमा रहेको मलेसियास्थित दूतावासले जानकारी गराएको छ। जेलमा रहेकामध्ये १५ जनामाथि मृत्युदण्ड हुनसक्ने मुद्दा चलिरहेको छ। मुद्दा चलेकामा तीनजनालाई मृत्युदण्ड दिने फैसला त्यहाँको अदालतले सुनाइसेकेको छ। तर, मृत्युदण्डको मिति भने तोकिएको छैन।

प्रकाशित: १६ वैशाख २०७५ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App