coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भूकम्पमाथि बारपाक काव्य

‘भैँचालो रात
घर समाइरहेँ
मन कामेन
म भूकम्पले चर्काएको र भत्काएको घरको कुरा गर्दैछु...’ (घर, पृष्ठ ४७)

विसं २०७२ वैशाख १२ गते मध्याह्नमा गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई गएको ७ दशमलव ८ रेक्टरस्केलको विनाशकारी भूकम्प र त्यसपछिका लगातारका परकम्प र त्यसका त्रासदी हाम्रो मानसपटलमा ताजै छ । पुनःनिर्माणमा भइरहेको ढिलाइले पनि भूकम्पलाई सम्झिन विवश छन् पीडित।

तीन वर्षअघिको भूकम्पको त्यही पीडादायी घटना र त्यसका असरलाई चित्रण गरी साहित्यकार एवं पत्रकार श्याम रिमालले लेखेको कविता संग्रह ‘बारपाक’ बजारमा आएको छ । ‘कम्प काव्य’ को नवीन संज्ञा र प्रयोगसहित प्रकाशित सो कविताकृति भूकम्पसम्बन्धी लेखिएका थोरै कृतिमा पर्छ । विनाशकारी भूकम्पपछि विभिन्न साहित्यिक पत्र पत्रिकाले त्यससम्बन्धी विशेषाङ्क प्रकाशित गरे पनि अलग्गै कृतिका रुपमा कमै पुस्तक प्रकाशनमा आएका छन्।

विभिन्न साहित्यिक पत्रिका र स्मारिकाको सम्पादनमा समेत सक्रिय प्रगतिशील स्रष्टा रिमालको ‘बारपाक’ लाई समालोचक रामकुमार पाँडेले ‘साहित्यमा नवकम्पन र दृष्टि साहित्यको प्रादूर्भाव’ का रुपमा यस कृतिलाई विश्लेषण गरेका छन् । ‘बारपाक’को भूमिकामा उनले लेखेका छन्, ‘कविहृदय विह्वल छ । नवरसको झल्याक्झुलुक भए पनि वीभत्स बचाएर करुण भाव जगाउनु कविको विशेषता हो ।... यसलाई मैले दृष्टि साहित्यको नाम दिएको छु । यो गहिरो छ, सघन छ र बीज जस्तै छ।’

कूल २१ वटा गद्य कविताको संकलन रहेको ६४ पृष्ठे ‘बारपाक’ मा भूकम्पले विपन्न नागरिकलाई झन विपन्न बनाएको चित्रण गरिएको छः
‘महलमा बस्नेहरू
बङ्गला–अट्टालिकामा सरे
टहराबासी टहरामै
यो कस्तो न्याय हो पृथ्वीमाता !
तिमी काँप्दा सबै एकनासले कामेका थिए त
किन तिनलाई फेरि तलमाथि बनाइदियौ ?’
(वैशाख १२, पृष्ठ ६३)

भूकम्पले घरैघर र मन्दिरैमन्दिर भएको देशको राजधानी काठमाडौँलाई अझ बढी प्रभावित पारेको कविले उल्लेख गरेका छन् ।  ‘काठमाडौँलाई भूकम्प सुहाउँदैन’ शीर्षकको कविताले काठमाडौँको त्यो संवेदनालाई अभिव्यक्त गरेको छ भने काठमाडौँलाई आफैँमा सभ्य हुन पनि प्रेरित गरेको भान हुन्छ।

त्रिशूली प्रवाह साप्ताहिक, नुवाकोटले प्रकाशन गरेको ‘बारपाक’ मा कविले विभिन्न क्षतिग्रस्त सम्पदा र स्थलमा पुग्दा र देख्दा भोगेका अनुभूतिलाई यथार्थ र संवेदनशीलरुपमा कवितामा उतार्नुभएको छ । कवि स्वयंले यसलाई ‘एउटा मानक समयलाई छेउछेउ समात्ने जमर्काे’ भनी उल्लेख गरे तापनि यो कृति आउने समयका लागि अवश्य दस्तावेज बन्ने छ।

कृतिमा काष्ठमण्डप, रानीपोखरी, सुन्धाराका साथै काठमाडौँ तथा पाटनका सम्पदा, लाङटाङ, नुवाकोट आदि ठाउँमा पुगेको क्षतिको काव्यिक दृश्य समावेश छ । कविले राहत वितरणमा भएको अनियमितता पनि कवितामा उठाएका छन्।

रिमालले संग्रहको अंग्रेजी अनुवाद पनि चाँडै आउने बताए । । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ कार्यकारी सम्पादक रिमालले करीब तीन दशकअघिदेखि साहित्यिक यात्रा सुरु गरेका हुन् । नुवाकोटमा जन्मिएका रिमालले ‘एउटा काँडा बिझ्दा’ (गीति संग्रह) २०४८ सालमा प्रकाशित  गरेका थिए भने पहिलो कविताकृति ‘त्रिशूलीको किनाराबाट’ २०६६ सालमा बजारमा आएको थियो।  (रासस)

प्रकाशित: १६ वैशाख २०७५ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App