coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘यसपालि त चुर्लुम्मै डुबियो हजुर’

यसवर्ष सर्लाहीमा फलेका थोता र साना मकैका घोगा। तस्बिर : टंक/नागरिक

सर्लाही – जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने राजघाटका किसान दानबहादुर बस्नेत आइतबार मन लागि नलागी मकैका घोगा नंग्र्याउँदै थिए। ‘यसपालि त चुर्लुम्मै डुबियो हजुर,’ नागरिककर्मी पग्ने बित्तिकै उनले गुनासो गरे, ‘फाइदा हुनु त परै जाओस्, मकै फलाउन काडेको ऋण र त्यसको ब्याजसमेत तिर्न नसकिने भयो।’

अधिकांश घोगा विगतका भन्दा साना र थोता पनि उत्तिकै रहेकाले बस्नेत जस्ता त्यस क्षेत्रका सयौं किसानमा यसवर्ष मकै भित्र्याउने काममा कुनै उल्लास देखिँदैन । ‘प्रतिकट्ठा तीनदेखि चार क्विन्टल फल्नुपर्ने थियो,’ बस्नेतले भने, ‘यसवर्ष एक क्विन्टल पनि पुग्दैन जस्तो छ।’ आफ्नो सात कट्ठा मात्र जमिन रहेका बस्नेतले १४ कट्ठा ठेक्कामा तथा एक बिघा बटैया (अँधिया) मा मकै खेती गरेका थिए। तर घोगामा दाना नलाग्दा उनी ठूलो मारमा परेका छन्।

‘बटैयामा गरेको एक बिघामा त मिहेनत मात्र खेर गयो तर ठेक्कामा लिएको १४ कट्ठाको ४२ हजार रुपैयाँ तिर्न नसक्ने भएँ,’ उनले भने, ‘२८ हजार रुपैयाँको मात्रै मकै फल्यो, अझ लागत त कता गयो कता, अब ज्याला मजदुरी गरेर कमाउँदै जग्गाधनीलाई ठेक्काको पैसा तिर्नुपर्ला।’

यसवर्ष उक्त क्षेत्रमा बन्नी जातका हाइब्रीड बिउ रोप्ने अधिकांश किसान बस्नेत जस्तै मारमा परेका छन् । हाल भित्र्याउने बेला भएका उक्त जातका मकैका घोगा साना र थोता भएको किसानहरुको गुनासो छ।

किसानले बरहथवा, सोल्टी लगायत स्थानीय विभिन्न बजारस्थित एग्रोगेट पसलबाट बिउ किनेका थिए। ‘सरकारले स्वीकृति दिएकै आधारमा त पसल राखेर मकैको बीउबिजन बेचेका होलान,’ बस्नेतले भने, ‘सरकारले हामीलाई परेको पीडामा केही गर्ला कि?’ बिउ बेच्ने पसलले ठण्डीका कारण घोगामा दाना नलागेको बताउने गरेको उनले सुनाए।

२०२६ देखि राजघाट खाल्टेमा बसोबास गर्दै आइरहेका ८० वर्षीय किसान इन्द्रप्रसाद न्यौपाने यसवर्ष मकैको घोगामा दाना नलागेको देखेर चिन्तित छन्। ‘यसवर्ष त बर्बाद नै भयो नि,’ उनले भने, ‘पसलेले म्याद सकिएको बीउ दिएजस्तो छ।’

३९ वर्षदेखि मकै लगायत विभिन्न बालीको खेती गर्दै आइरहेका न्यौपानेले घोगामा दाना नलाग्ने समस्या दुईपटक भोग्नु परेको सुनाए। ‘६–७ वर्षअघि पनि यस्तै भएको थियो,’ उनले भने, ‘यसपालि फेरि दोहोरियो।’ गतवर्ष एक बिघामा फलेको मकै बेच्दा खनखनी गनेर सबा लाख रुपैयाँ भित्र्याएका न्यौपानेले यसवर्ष ४० हजार रुपैयाँ पनि मुस्किलले भएको बताए।

यसवर्ष मकैका घोगामा दाना नलाग्दा किसान मारमा परेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकारी काशिराज हमाल बताउँछन्। ‘घोगामा पर्याप्त दाना नलाग्दा यसवर्ष ४० प्रतिशत कम उत्पादन भएको अनुमान छ,’ उनले भने, ‘पीडित किसानलाई राहत उपलब्ध गराउनका लागि स्थानीय तहबाट विवरण संकलनको काम समेत भइसकेको जानकारी आएको छ।’

विशेष गरी हाइब्रिड मकै खेती बागमती र बरहथवा नगरपालिकाका अधिकांश किसानले गर्ने गरेका छन्। जिल्लाका अन्य क्षेत्रमा छिटफुट हाइब्रिड मकै खेती हुने गरेको कृषि विकास कार्यालयले जनायो। यसवर्ष ३५ सय हेक्टर क्षेत्रफलमा मकै खेती भएको हमालले जानकारी दिए। सामान्यतया प्रतिहेक्टर सात मेट्रिक टन हाराहारी फल्दा २४ हजार पाँच सय मेट्रिक टन उत्पादन हुन्छ। तर यसवर्ष ह्वात्तै उत्पादन घटेर १२–१३ हजार मेट्रिक टनमा सिमित भएको अनुमान गरिएको छ।

प्रकाशित: १६ वैशाख २०७५ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App