८ वैशाख २०८१ शनिबार
अर्थ

सबैभन्दा ठूलो सोलार प्लान्ट बन्दै

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले मुलुकमै अहिलेसम्मकै सबैभन्दा बढी क्षमताको सोलार प्लान्ट बनाउने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शुक्रबार देवीघाट जलविद्युत् केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट शिलान्यास गरे। यो प्लान्टबाट २५ मेगावाट बिजुली उत्पादन हुनेछ। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्रमा सकेर उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ। सोलार प्यानल राखी त्यसमार्फत दिउसो उत्पादित विद्युत्  सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।

प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ। काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने छ।

प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउसो पानी सञ्चित गरी ती विद्युत् केन्द्र विद्युत्को माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने छ। जसले पिक समयको विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ।

विश्व बैंकको  ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो। प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको छ। त्यस्तै जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको छ।

प्राधिकरणको स्वामित्वमा रहेका त्रिशुली र देवीघाट विद्युत् केन्द्रको नाममा रहेको खाली जग्गामा राखिने सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्ने छ। कम्पनीले पाँच वर्षसम्म प्लान्ट सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ। कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेन्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने छ।

हाल राष्ट्रिय प्रणालीमा अधिकांश विद्युत् जलविद्युत् आयोजनाबाट प्रवाह भइरहेको अवस्थामा सोलार प्लान्ट स्थापनासँगै सरकारले अगाडि बढाएको ऊर्जा मिश्रण कार्यान्वयनतर्फ अघि बढेको छ। प्राधिकरणले आगामी पाँच वर्षभित्रमा पाँच सय मेगावाटसम्म सोलार प्लान्ट राख्ने लक्ष्य राखेको छ।

प्रकाशित: १६ वैशाख २०७५ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App