८ वैशाख २०८१ शनिबार
अर्थ

योजना आयोगले अब पैसा बाँड्दैन

काठमाडौं – राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष पुष्पराज कँडेलले योजना आयोगले पैसा बाँड्ने भन्दा पनि अब नीति र योजना बाँड्ने बताएका छन्।

शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागद्वारा आयोजित कार्यक्रममा उपाध्यक्ष कँडेलले योजना आयोगलाई पुरानो ढर्राबाट माथि उठाएर समावेशी तरिकाले अघि बढाउने बताए। उनले अब सिंहदरबारमा बसेर योजना बनाउने प्रवृत्ति छाडेर मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र नीति निर्माण गरिने उनको भनाइ छ।

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा उच्च शिक्षा अध्ययन गरेको जनशक्तिलाई सम्बोधन गर्दै मुलुकमा कुशल व्यवस्थापकको खाँचो रहेको औंल्याए। उपाध्यक्ष कँडेलले केन्द्रीय विभागले आयोजना गरेको म्याराथुन दौडमा उत्कृष्ट धावकलाई पुरस्कार वितरण गर्दै विभिन्न प्रतियोगिताका सहभागीलाई सम्मान गरे।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका प्रमुख भोजराज अर्यालले विश्वविद्यालयको व्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन सरकारले आावश्यक स्रोत साधनको व्यवस्था गर्नुपर्ने बताए।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइरालाले व्यवस्थापन शिक्षालाई नेतृत्व तहसम्म पु-याउन शिक्षा प्रणालीलाई थप जिम्मेवार बनाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्राध्यापक सुनिती श्रेष्ठ, व्यवस्थापनविद् र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले व्यवस्थापनका क्षेत्रमा देखिएका चुनौतीबारे चर्चा गरेका थिए। कार्यक्रममा म्याराथुन धावक बैकुण्ठ मानन्धरले म्याराथुनको उद्घाटन गरेका थिए भने व्यवस्थापन विभागले विभिन्न प्रतियोगिता आयोजना गरेको थियो।

प्रकाशित: १६ वैशाख २०७५ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App