७ वैशाख २०८१ शुक्रबार
शिक्षा

इँट्टा मजदुरलाई समेत छोयो भर्ना अभियानले

धादिङको धुनीबेसीस्थित महेशधर्म उच्च माविमा आफ्ना बालबालिकालाई भर्ना गराउँदै इँट्टा उद्योगका मजदुर। तस्बिर : सरिता/नागरिक

धादिङ – जिल्लाको धुनीबेसीस्थित इँट्टा उद्योगमा काम गरिरहेका महोत्तरीका पाल्दिङ तामाङले तीन छोराछोरीलाई विद्यालय भर्ना गरिदिएका छन्। विद्यालय भर्ना अभियानअन्र्तगत उनले आफ्ना दुई छोरी र एक छोरालाई नजिकै रहेको महेशधर्म उच्च माध्यमिक विद्यालयमा भर्ना गराएका हुन्।

आफूले पढ्न नपाए पनि आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउने तामाङको सपना छ। ११ वर्षीय छोरालाई कक्षा ५ मा, ९ वर्षीया छोरीलाई कक्षा ३ मा र ५ वर्षीया छोरीलाई कक्षा १ मा भर्ना गरिदिएको उनले बताए।

तामाङ चार छोराछोरी र श्रीमतीसहित धादिङको धुनीबेसी नगरपालिका–३ मा रहेको हिमाल इँट्टा उद्योगमा काम गरेर जीविका चलाउँदै आएका छन्।

‘जेठा छोरा र जेठी छोरी महोत्तरीकै विद्यालयमा पढ्दै थिए,हामी यता आएपछि उनीहरूको पढाई पनि रोकियो,’ तामाङले भने, ‘त्यही भएर फेरि यताकै विद्यालयमा भर्ना गरिदिएँ।’ अब छोराछोरीलाई नियमित रूपमा विद्यालय पठाउने तामाङले प्रतिबद्धता व्यक्त गरे।

इँट्टा उद्योगमा काम गर्दै आएका महोत्तरीकै सुक्रिमाया घलेले पनि आफ्ना तीन छोरीलाई विद्यालय भर्ना गरिदिएकी छन्। आफूले पढ्न नपाएको गुनासो गर्दै उनले भनिन्, ‘छोरीहरूलाई पढाएर राम्रो मान्छे बनाउने चाहना छ।’ श्रीमानसँगै इँट्टा उद्योगमा काम गर्दै आएकीघले बिहानदेखि बेलुकासम्म काममै व्यस्त हुन्छिन्।

विद्यालय भर्ना अभियान कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको महेशधर्म उच्च माविका निर्वतमान प्रधानाध्यापक घनश्याम अधिकारीले बताए। अभिभावकसँगै इँट्टा उद्योगमा श्रम गरिरहेका बालबालिकाहरूलाई पढ्ने उमेरमा काममा होइन पढाइमा लगाउनु पर्ने उनले बताए।

प्रधानाध्यापक अधिकारीले भने,‘बालबालिकाहरू पढ्न पाउने नैसर्गिक अधिकारबाट वञ्चित हुनु हुँदैन।’ उद्योगमा काम गर्ने विद्यार्थीहरूले पढाइसँगै नियमित रूपमा सरसफाई, र पोषिलो खानेकुरामा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ।

प्रयास नेपाल र ग्लोबर फेयर नेशनलको साझेदारीमा बेटर विग परियोजना अन्र्तगत इँट्टा उद्योगका बालबालिकालाई विद्यालय भर्ना गराउने अभियान संचालन गरिएको हो।

धुनीबेसी नगरपालिका–३ मा रहेको महालक्ष्मी इँट्टा उद्योग, हिमाल इँट्टा उद्योग, थाक्रे–७ को एभरेष्ट इँट्टा उद्योग, थाक्रे–८ को यति टाइल एण्ड ब्रिक इन्डष्ट्रिज र गजुरी–५ को राजधानी इँट्टा उद्योगमा रहेका बालबालिकाहरूलाई श्रममुक्त गर्ने अभियान अन्र्तगत विद्यालय भर्ना अभियान संचालन गरिएको परियोजना कार्यक्रम संयोजक प्रदिप श्रेष्ठले जानकारी दिए। ‘यति र राजधानी इँट्टा उद्योग बालश्रममुक्त भइसक्यो’ उनले भने, ‘अरू उद्योगलाई पनि क्रमशः बालश्रममुक्त गर्दै लैजाने छौँ।’

२०७२ सालको भूकम्पपछि जिल्लाको धुनीबेसी नगरपालिका, थाक्रे र गजुरी गाउँपालिकामा इँट्टा उद्योगछन्। संचालित कतिपय इँट्टा उद्योगमा बालबालिकाहरू प्रयोग भइरहेका छन्।

बालबालिकालाई श्रममुक्त गराई विद्यालय पठाउन सम्बन्धित गाउँपालिका तथा विभिन्न संघसंस्थाले अभियान संचालन गरिरहेका छन्। तरकारीको पकेट क्षेत्रका रूपमा लिइने धुनीबेसी क्षेत्रमा मात्रै ३५ भन्दा बढी इँट्टा उद्योग संचालन भइरहेका छन्।

इँट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकाका लागि भनेर प्रारम्भिक बालविकास सिकाई केन्द्र पनि स्थापना गरिएको छ। एभरेष्ट, हिमाल र महालक्ष्मी इँट्टा उद्योगमा सम्बन्धित उद्योगको पहलमा सिकाई केन्द्र स्थापना गरी पाँचवर्ष मुनिका बालबालिकालाई पढाउने गरिएको छ।

प्रकाशित: १६ वैशाख २०७५ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App