८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाली कन्टेनरमा अब ‘इसिटिएस’

कोलकतास्थित भारतीय बन्दरगाहमा आएका नेपाली कन्टेनर । तस्विर : नागरिक

वीरगन्ज– ‘इसिटिएस’ (इलेक्ट्रोनिक कार्गो ट्रेकिङ्ग सिस्टम) अर्थात विद्युतीय कार्गो निगरानी प्रणाली भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालवाहक कन्टेनरमा लागु भएको छ। तेस्रो मुलुकबाट कोलकता बन्दरगाहमा आइपुग्ने नेपाली मालबाहक कन्टेनरको सिलमा त्यहाँ ‘आरएफआइडी’ अर्थात ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन डिभाइस’ भन्ने सानो यन्त्र जडान गरिने गरेर कन्टेनरको निगरानी गर्ने प्रबिधि हो यो। 

उक्त यन्त्रको माध्यमले भारतीय भन्सार, नेपाली भन्सार र आयातकर्ताले आफ्नो ठाउँमा बसेर नै कन्टेनरको अवस्थितीको जानकारी लिन सक्छन्। कोलकाता बन्दरगाह हुँदै नेपाल आउने कण्टेनर कार्गोमा यो प्रविधि लागू भएसँगै समुद्रपारको व्यापारको लागत कम हुने सरोकारवालाहरुको विश्वास छ। कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले नेपाली कार्गोमा ईसीटीएस कार्यान्वयनमा आएको बतायो। ‘कोलकाता बन्दरगाहले नेपालका लागि आएका कण्टेनरमा यस्तो खाले प्रविधि ल्याएपछि यसबाट नेपालको आयात छिटोछरितो हुने विश्वास गरिएको छ,’ भारतका लागि नेपाली महावाणिज्य दूत एकनारायण अर्यालले भने, ‘यसबाट ब्यापार लागत घट्ने आपेक्षा गरिएको छ।’

अनाधिकृत रुपमा कन्टेनर बाटैमा कसैले खोल्न चाहेमा सो को सूचना पनि तुरुन्त उक्त यन्त्रको माध्यमले आउने छ। नेपाली कन्टेनरको माल–समानमा भारतीय भुमीमा कसैले हात हाल्न चाहेमा तुरुन्तै प्रहरीको फन्दामा पार्न उक्त यन्त्रले पार्ने मद्दत गर्नेछ। उक्त सानो यन्त्रमा सम्बन्धित कन्टेनरको सम्पूर्ण बिवरण हुन्छ। त्यसको मद्दतले नेपाली कन्टेनर ठाउँ ठाउँमा अनावश्यक रुपमा अड्किने समस्याबाट नेपाललाई छुटकारा भएको छ। त्यस्तै नेपालका लागि आयातित बस्तु भारतीय बजार माफियाको हातबाट त्यहाँनिर नै खपत गरी भारतीय राजश्व गुम्ने समस्याबाट भारतीय पक्षपनि निर्धक्क हुने अवस्था यसले गर्दा भएको छ। 

यस प्रबिधिलाई कार्यन्यवनमा ल्याउन बिगतदेखि नै बिमर्श हुँदै आएको थियो। ‘नेपाल जाने १५ कन्टेनरमा पहिले नमुना परीक्षणको रुपमा यो लगाइयो। परीक्षण सफल भएपछि कार्यान्यवनमा ल्याइएको हो,’ कोलकता पोर्ट ट्रष्टका बन्दरगाह ट्राफिक ब्यवस्थापक हिमान्शु शेखरले भने, ‘सुरुमा पाइलट प्रोजेक्ट तीन महिनाको लागि चलाइएको थियो, सफल भएपछि अब नेपाली ब्यापारमा पुर्ण रुपमा यसलाई लागु गर्ने योजना रहेको हामीलाई जानकारी आएको छ।’ 

नेपाली कार्गोलाई भारतमा भन्सार प्रक्रियाबाट मुक्त गर्न अवाज उठिरहेको बेला आएको यो विद्युतीय कार्गो निगरानी प्रणालीले यसमा सघाउ पु¥याउने बताइएको छ। यस प्रणालीमा इन्टरनेटको माध्यमले कन्टेनरलाई निगरानी गर्ने यन्त्र हो ‘आरएफआइडी’ अर्थात ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन डिभाइस’। ‘आरएफआइडी’ भनेको कन्टेनर कार्गोमा लगाइने सिलमा राखिने सुक्ष्म यन्त्र हो जसले उक्त कन्टेनर हिडेपछि कुन ठाउँमा, कहाँनिर कति समय छ भन्ने संकेत गर्दछ। कम्प्युटरको माध्यमले कन्टेनरको सम्पूर्ण बिवरण भरिएको उक्त यन्त्र इन्टरनेटको जिपिएस (ग्लोबल पोजिसनि सर्भिस) अर्थात भुमण्डलीय अवस्थिती सेवामा सम्पर्क स्थापित गराइएको हुन्छ।

प्रकाशित: १५ वैशाख २०७५ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App