coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु, ३१ कार्यपत्र प्रस्तुत हुने

लुम्बिनी- बौद्ध संस्कृति र सम्पदाको संरक्षण गर्दै बुद्ध जन्मस्थल लुम्बिनीलाइ विश्व शान्ति र बौद्ध दर्शनको मुहानको रुपमा चिनाउने उदेश्यले लुम्बिनीमा शनिबार देखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ।

सम्मेलनको शनिबार एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै पर्यटन मन्त्री अधिकारीले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र तथा अन्तराष्ट्रिय तीर्थ स्थलका रुपमा विकास गर्न नेपाल सरकारले लुम्बिनी गुरुयोजना अन्तर्गत रहेर व्यवस्थित तवरले उचित योजनाहरु संचालन गरीरहेको बताए। मन्त्री अधिकारीले झण्डै ४० बर्षदेखि पुरा हुन नसकेको लुम्बिनी गुरु योजना अवको दुई बर्ष भित्रै पुरा गरी पर्यटन प्रर्बद्धनका थप कार्यक्रम संचालन गरीने बताए।

बुद्ध धर्म तथा दर्शन विश्वमा शान्ति छर्दै दया करुणा र विश्व बन्धुत्वको भाव जगाउने माध्यम भएकाले बौद्ध सम्मलनले यसको महत्वलाई विश्वभर फैलाउँदै पर्यटन प्रवर्दनमा महत्वपुर्ण भुमीका खेल्ने बताए।

लुम्बिनी सँगै हिन्दु र बौद्ध धर्म संस्कृतिको उदगम स्थल, जैविक बिविधता,सांस्कृतिक,प्राकृतिक सम्पदा, आपसी सदभाव र सहिष्णुताको सुन्दर फुलबारी नेपालको चिनारी विश्व माझ पर्याउन मन्त्री अधिकारीले सम्मेलनका सहभागीलाई आग्रह समेत गरे। मानव सभ्यतामा शन्ति, प्रेम र सौहार्दताको महत्व  कहिल्यै नघट्ने उल्लेख गर्दै मन्त्री अधिकारीले बुद्ध दर्शनको महत्व अनन्त कालसम्म रहिरहने बताए।

कार्यक्रममा बोल्दै पर्यटन राज्यमन्त्री धन बहदुर बुढाले सम्मेलनले  लुम्बिनी,बौद्ध सम्पदा तथा बुद्ध शिक्षाको बिकासका लागि महत्वपूर्ण निष्कर्स निकाल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्ने विभिन्न देशका धर्मगुरु तथा बौद्ध विद्वानहरुले लुम्बिनीलाइ विश्वमाझ बौद्ध दर्शनको मुहानको रुपमा चिनाउदै यसको विकास र संरक्षणमा सहयोगी भुमीका खेल्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा श्रीलङ्काका राजदूत स्वर्णलत्ता परेडा र बौद्ध धर्म गुरु  कोतुगोडा धम्मवासा महाथेरोले बोल्दै बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै महत्पुण सम्पदा भएकाले यसको विकास र सम्बद्र्धनमा श्रीलङ्काली सरकारको सदैव साथ र सहयोग रहने बताए। बुद्धिष्ट एसोसियन अफ चाइनाका उपाध्यक्ष यीन सुनले विश्व सम्पदा सूचीमा सूचिकृत लुम्बिनी विश्व शान्तिको मुहान भएको उल्लेख गर्दै लुम्बिनी सगै कपिलबस्तु जस्ता नेपालमा रहेका बुद्ध स्थलहरुको पुरातात्विक ऐतिहासिक महत्वलाइ संरक्षण, संबद्र्धन तथा पर्यटन विकासमा चिनले सदैव सहयोगी भुमीका खेल्ने बताए। कार्यक्रममा जपानका धर्म गुरु एैकन मिजुतानी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रय,युनश्कोका प्रोफेसर रविन कनिङघम,बज्रयान धर्मगुरु प्रोफेसर नरेशमान बज्राचार्य,महायानका धर्मगुरु टुकु लोसाङ नामग्याल रिम्पोछे,थेरावादकाका मैत्रय महास्थविर,संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालयका सचिव कृष्ण प्रसाद  देवकोटा लगायतले बोल्दै अन्तराष्टिय बौद्ध सम्मेलनले बौद्ध सम्पदाहरुको पर्यटन प्रबद्र्धनका साथै बुद्ध शिक्षा र आध्यात्मिक पक्षको विकासका लागि  मार्ग निर्देशन गर्ने विश्वास व्यक्त गरे।

सम्मेलनमा २३ देशका बौद्धगुरु, प्रोफेसर,अध्ययता तथा भिक्षुहरुको सहभागीता छ। दुइ दिने सम्मेलनमा स्वदेशी र विदेशी गरी ३१ वटा  कार्यपत्र प्रस्तुत हुनेछन्। बुद्ध जन्मस्थल लुम्बिनी, कपिलबस्तु तथा बुद्धसंग सम्बन्धित क्षेत्रको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, बिश्व बौद्ध सम्पदा र बौद्ध शिक्षा र संस्कृतिको बिषयमा तयार पारिएका कार्यपत्रहरु प्रस्तुत गरिदै छ।

प्रत्यक दुई दुई बर्षमा हुने अन्तराष्ट्रिय बौद्ध सम्मेलन यसअघि काठमाडौंमा गरिएको थियो। लुम्बिनी स्थित चाइना टेप्पलमा भएको सम्मेलनले लुम्बिनी घोषणा पत्र जारी गर्ने छ। बुद्ध जन्मस्थल लुम्बिनीसँगै शाक्यवंसको राजधानी नेपालको कपिलबस्तु नै हो भन्ने चिनाउन सम्मेलनमा सहभागीलाई बुद्धले २९ बर्ष बिताएको कपिलबस्तुको तिलौराकोटको अवलोकन भ्रमण गराइने कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App