coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुटवलको ६ लेन सडक विस्तार कार्य फेरि रोकियो

बुटवल– ठेक्का लागेको झण्डै तीन महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको बिस्तार फेरि रोकिएको छ। बुटवल बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधिन ६ लेन सडक बिस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो। पटक पटक अवरुद्ध हुँदै आएको बुटवल गोलपार्क खण्डको ६ लेन बिस्तार अन्तर्गत आयोजनाले बुधबारदेखि सडक क्षेत्रका घर भत्काउन सुरु गरेको थियो। तर उच्च अदालत तुलसीपुर दाङको बुटवल इजलासले सडक ऐन अनुसार जग्गा प्राप्त गरेर मात्रै विस्तारको काम अगाडि बढाउन बिहीबार परमादेश जारी गरेपछि घर भत्काउने काम फेरि रोकिएको हो।

अदालतले पश्चिमाञ्चल डिभिजन सडक र बुटवल बेलहिया व्यापारिक मार्गको नाममा  परमादेश जारी गरेको छ। पटक पटकको म्याद दिँदा पनि स्थानीयले सडक क्षेत्र भित्रका घरहरु भत्काउन अटेरी गरेपछि बुधबार आयोजनाले डोजर लगाएर ७ वटा घर भत्काएको थियो। बिहीबार अदालतको परमादेश आएपछि अहिले काम रोकिएको छ। बुटवलकी नारायणीदेवी प्रधानसहित ३८ जनाले सडकको चौडाइ ७५ फुट कायम गरेर नापी गरे अनुसार घर बनाएको भन्दै ८२ फुट कायम गर्दा अनुमति नलिइएकाले सो निर्णय खारेजीको माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका थिए। उनीहरुले सरकारले व्यक्तिको जग्गा सार्वजनिकीकरण गर्दा जग्गा प्राप्ती ऐन अनुसार गर्नपर्ने मागसहित अदालतमा मुद्दा हालेका हुन। सोही मुद्दामा बिहीबार भएको इजलासले संविधानको धारा २५ ले हरेक व्यक्तिलाई सम्पत्ती सम्बन्धी हक प्रत्याभुत गरेको र सार्वजनिक हितका लागि व्यक्तिको सम्पत्ती अधिग्रहण गर्दा क्षतिपूर्ती दिनुपर्ने व्यवस्था भएको, पुन सडक सीमा तोकेमा कानून बमोजिम जग्गा प्राप्त नगरी सडक बिस्तार गर्न नमिल्ने भएकाले सडक ऐन २०३१ को दफा ४ को कार्यविधि अनुसार जग्गा प्राप्ती गरेर मात्रै सडक बिस्तारको काम गर्नु गराउनु भन्ने परमादेश अदालतले जारी गरेको छ। 

अदालतले यस्तो परमादेश पश्चिमाञ्चल डिभिजन सडक कार्यालय बुटवल र बुटवल बेलहिया व्यापारिक मार्ग आयोजनाका नाममा जारी गरेको छ। न्यायाधिशद्वय मुनिन्द्रप्रसाद अवस्थी र लोहितचन्द्र शाहको संयुक्त इजलासले सार्वजनिक सडक ऐन २०३१ दफा ४ को कार्यविधि अपनाइ सडक सीमा तोकिएको क्षेत्रको सडक र सडक सीमामा पर्ने घर टहरा जग्गा प्राप्त गर्ने कार्य सम्पन्न गरेर मात्रै विस्तारको काम अगाडि बढाउन आदेश गरेको छ। परमादेशमा सडक क्षेत्रको जग्गा प्रक्रिया पुर्याई पहिले आफनो नाममा लिन र त्यसपछि बल्ल सडक बिस्तार गर्न भनिएको छ। बुटवल बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधिन ६ लेन सडक बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको साढे तीन किलोमिटर दुरीमा सडकको ८२ फुटभित्र पर्ने ३ सय ११ भत्काउनु पर्नेछ। सडक मिचेर बनाइएका घर भत्काउन आयोजनाले पटक पटक समय दिएपनि स्थानीयले अटेरी गरेपछि सडक किनारका घरमा डोजर लगाउन सुरु गरिएको हो। अदालतले परमादेश पछि काम रोकिएको बुटवल बेलहिया व्यापारिक मार्ग परियोजनाका सूचना अधिकृत इन्जिनियर गोविन्द श्रेष्ठले बताए। सुरुदेखि नै बाटो बिस्तारको विरोधमा उत्रेका स्थानीयलाई तीन ठृला राजनीतिक दल एमाले, काँग्रेस र माओवादीले साथ दिदै आएका छन। राजनीतिक दल र व्यावसायिक संघ संगठनको आडमा स्थानीयले बिगत एक बर्षदेखि बाटो विस्तारमा अवरोध गरिरहेका छन्।

यो सडक निर्माणको ठेक्का एक बर्षअघि नै कंचनजंघा–बिरुवा जेभिले पाएको हो। उसले ३० महिनामा सक्ने भनिएको सडक विस्तारको काम एक बर्ष ढिलो भइसकेको छ। पोहोर साल पनि सडक किनारका स्थानीयले घर भत्काउन अटेरी गर्दै अदालत गुहारेपछि निर्माण रोकिएको थियो। उच्च अदालत दाङको बुटवल इजलासले यसअघि परमादेश जारी गर्नु नपर्ने बताएपछि आयोजनाले काम सुरु गरेको थियो। अयोजनाका प्रवक्ता श्रेष्ठले सडक बिभाग र सरकारी वकिलको कार्यालयसंग छलफल र सल्लाह गरेर अगाडि बढने तयारी भइरहेको बताए। 

अदालतले प्रक्रिया पुर्याएर काम अगाडि बढाउनु भनेकाले बाटो बिस्तारका अन्य काम नरोक्ने उनले बताए। ‘तत्कालका लागि घर भत्काउने काम मात्र रोकिएको हो, त्यो पनि छिटै सुचारु हुनेछ’, श्रेष्ठले भने।

अहिले बुटवल राजमार्गदेखि गोलपार्क चिढिया खोलासम्म चार लेनको सडक छ। यसमा दुई लेयरको पिच थपिने छ। दाँया बाँया सर्भिस लेन र फुटपाथ बनाइने छ।

बुटवल बेलहिया व्यापारिक मार्ग नामाकरण गरिएको बुटवल भैरहवा बेलहिया सडकको गुणस्तर एकै किसिमको बनाउन हालको चार लेन सडकको मुख्य लेनमा पिच थपिने र दायाँबायाँ सर्भिसलेन र फुटपाथ निर्माण गरी व्यापारिक मार्गको रुपमा स्तरोन्नती गरिने आयोजनाका प्रमुख जीवेन्द्र मिश्रले बताए। नेपाल भारतबीचको आयात निर्यात सहज बनाउन व्यापारिक नाका र सहरलाई ६ लेन सडकले जोड्ने सरकारी योजना अनुरुप ७ बर्षअघि बुटवल बेलहिया व्यापारिक मार्ग बिस्तार आयोजना सुरु भएको थियो। आयोजना अनुरुप पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवल र देशकै दोस्रो ठूलो नाका भैरहवा, बेलहियासम्म ६ लेन सडकले जोडिने छ। बुटवलदेखि बेलहियासम्मको २७ किलोमिटर सडकमध्ये हाल सम्म ११ किलोमिटर सडक निर्माण सकिएको छ। आयोजना प्रमुख मिश्रले स्थानीयको बिरोध र अदालती प्रकृयाका कारण बुटवल गोलपार्क खण्डको निमार्णमा ढिलाइ भएपनि बुटवल राजमार्ग चौराहदेखि बेलहियासम्मको सडकको निर्माणलाई तिब्रता दिइएकाले एक बर्षभित्रै सम्पन्न हुने दाबी गरे।

आर्थिक बर्ष २०७३/०७४ मा सक्ने गरी सुरु भएको ६ लेन सडकको म्याद यसअघि नै एक बर्ष थपिएको छ। थप गरिएको समयमा पनि पुरा नहुने भएपछि फेरि म्याद थपको तयारी भइरहेको छ। सुरुमा ३ अर्ब ५० करोड लागत स्टिमेट गरिएको आयोजनाको समय लम्बिँदा लागत खर्च बढेर ५ अर्ब ८६ करोड पुगेको छ। ३ अर्ब ५० करोडमा सक्ने भनिएको सडकमा ३ अर्ब ७५ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०७५ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App