८ वैशाख २०८१ शनिबार
समाज

एउटै प्याकेजमा प्याराग्लाइडिङ र र्याफ्टिङ

चुलीवनमा बुधबार प्याराग्लाइडिङको परीक्षण उडान गर्न खोज्दै पाइलट र धनकुटाका वडाअध्यक्षहरुसहितको टोली याक्चना घाटबाट मुलघाटको र्याफ्टिङ गर्दै। तस्बिरः रोहित राई/नागरिक

धरान – धनकुटा नगरपालिकाले साहसिक खेल पर्यटनअन्तर्गतको प्याराग्लाइडिङ र र्याफ्टिङलाई एउटै प्याकेजमा जोडेर पर्यटन प्रर्वद्धन तथा विकासको अवधारणा अघि सारेको छ।

धनकुटाको वडा नं ८ मा पर्ने चुलीवनबाट प्याराग्लाइडिङको उडान गर्ने र सोही वडाको तमोर किनारस्थित याक्चना घाटमा अवतरण गराउने नगरपालिकाको योजना छ। याक्चना घाटमा प्याराग्लाइडिङको अवतरण भएपछि पर्यटकको प्याकेज त्यतिमै सिमित हुँदैन।

याक्चना घाटबाट मुलघाटसम्म करिव ५ किलोमिटर थप र्याफ्टिङ(जलयात्रा)मा पनि पर्यटकले रमाउन सक्नेछन्। प्याराग्लाइडिङ र र्याफ्टिङको प्याकेजबारे नगरपालिकाले बुधबार त्यसक्षेत्रका पर्यटनकर्मीहरूलाई लगेर सम्भाव्यता अध्ययन गराएको थियो। धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान गरिरहेको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले चुलीवन क्षेत्रमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरेको थियो।

यस्तै, तमोरमा व्यावसायिक र्याफ्टिङ गरिरहेको इटहरीस्थित रिभर डिप र्याफ्टिङ प्रालिले याक्चनाघाटदेखि मुलघाटसम्म र्याफटिङ परीक्षण गरेको थियो। र्याफ्टिङमा धनकुटाका विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, पत्रकारसमेत सहभागी थिए।

प्याराग्लाइडिङका पाइलट तथा प्राविधिक टोलीले चुलीवनबाट प्याराग्लाइडिङको सम्भावना भएको बताएपनि मौषमको प्रतिकुलताको कारण बुधबार उडान परीक्षण गर्न भने सकेनन्। धरानबाट उडान भर्न पाइलट तारामणी राई, रामप्रसाद राई र लेखमणी जिमी धनकुटा गएका थिए।

‘प्राविधिकरुपमा उहाँहरूले चुलीवन प्याराग्लाइडिङको लागि ठिक छ भन्नुभएको छ, तर जोडले हावा चलेकोले त्यो दिन उडान हुन सकेन। हामी एक साताभित्रै परीक्षण उडान गराउछौं,’धनकुटाका पर्यटन शाखा अधिकृत विकास अधिकारीले भने,‘चुलीवनबाट प्याराग्लाइडिङ गरेर याक्चना घाटमा ल्याण्डिङ गर्ने, अनि त्यहाँबाट मुलघाटसम्म पर्यटकलाई र्याफ्टिङ गराउने योजना हो।’

प्याराग्लाइडिङका सोलो पाइलट एवं साहसिक पर्यटनका अभियन्ता रामप्रसाद राईका अनुसार चुलीवनमा टेकअफलाई स्तरोन्नती गरेपछि जतिबेला पनि उड्न सकिने ठाउँ बन्छ। यो उडानस्थल एक हजार मिटर उचाईमा रहेको छ। ‘त्यहाँबाट उडेर हिलेसम्म जाने र ब्याक हुन पनि सकिन्छ कि भन्ने छ, तर त्यसको लागि उडान परीक्षण गर्नुपर्छ,’पाइलट राईले भने,‘धनकुटाको यो पहल सराहनीय  छ, प्याराग्लाइडिङ र र्याफ्टिङलाई प्याकेज बनाएर बेच्न सक्नुपर्छ।

प्याकेजमै दुईटा मजा पर्यटकले पाउने हुँदा आकर्षण बढ्छ।’ प्याराग्लाइडिङको ल्याण्डिङस्थल तमोर किनार भएकोले उडेर याक्चना घाटमा क्याम्प बस्ने र भोलीपल्ट बिहान र्याफ्टिङ गरेर मुलघाटसम्म वा चतरासम्म पनि जान सक्ने सम्भावना रहेको उनले बताए। ‘एकैदिनमा उड्ने र र्याफ्टिङ गर्ने प्याकेज पनि हुनसक्छ वा एक रात याक्चना घाटमा क्याम्प फायर गर्ने प्याकेज पनि बनाउन सकिन्छ,’उनले भने।

प्रकाशित: १५ वैशाख २०७५ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App