विद्यालयको टिफिन टाइमको घण्टी बज्यो । कक्षा ३ मा पढ्ने सोनु र उनी अत्यन्तै मिल्ने साथी थिए । सोनु ब्राह्मण परिवारकी थिइन् । अनि लुनिभा नेवार समुदायकी छोरी थिइन् । उनीहरु अत्यन्तै मिल्ने साथी थिए।
सोनु बोल्न निडर थिइन् तर लुनिभा भने लजाउँथिन् । विद्यालयको टिफिन टाइममा दुवैजना विद्यालयको चौतारीमा खाजा खाँदै गफ गर्न थाले । आज लुनिभाको अनुहारमा त्यति चमक थिएन ।त्यसैले सोनुले सोधिन्, ‘ओइ लुनिभा आज तिमी कक्षामा पनि राम्रोसँग ध्यान दिएर पढेकी छैनौ । अनुहार पनि मलिन छ । के भाको छ हँ !’लुनिभाले भनिन् ‘केहि भाको छैन ।’‘होइन के केही त भएकै छ । भन न के भयो तिमीलाई ?’ सोनुले ढिप्पी गरेर सोधिन् ।
‘म यति सानी छु सोनु...’ लुनिभा निन्याउरो अनुहार पार्दै बोलिन् ।‘अनि के भो त म पनि त सानी नै छु नि’ सोनुले भनिन् ।‘कुरा त्यस्तो होइन के !’ लुनिभा बोलिन् । ‘कस्तो त ?’ सोनुले ठट्टा गर्दै भनिन् । ‘ठट्टा नगर न क्या ।’ लुनिभा झर्कँदै बोलिन्, ‘मेरो बिहे गरिदिने रे के मामुले भन्नु भाको ।’‘कोसँग नि हि...हि...हि... ’ सोनु मस्तले हाँसिन्।
‘नहाँस न तिमी, मलाई कस्तो पीर परेको छ । यति सानैमा मलाई बिहे गरिदिने भन्दै हुनुहुन्छ मेरा बाबा र मामु ।’‘अनि को सँग नि ?’ सोनुले प्रश्न गरिन् ।‘बेलसँग अरे । त्यो बेल भन्ने केटालाई म भेटूँ न मात्र, मेरो मिसलाई भनेर पिट्न लगाउँछु ।’ यति भन्दै लुनिभा रुन थालिन् ।
‘धत् ! रुनु हुँदैन के । रोएर पनि समस्या समाधान हुन्छ र ?’ सोनुले लुनिभालाई सम्झाइन्, ‘मामु जिस्किएर भन्नु भएको होला के ।’‘होइन नि, मलाई लुगा त किनेर ल्याइसक्नु भयो बाबा र मामुले । छिमेकी र आफन्तलाई भोज पनि खुवाउने अरे । भोज खुवाउने पात पनि किनेर ल्याईसक्नु भयो । मलाई त कस्तो डर लागिरहेको छ सोनु ।’ लुनिभाले भनिन् ।
‘सुनीता दिदीलाई चाहिँ ठूली भएपछि मात्र बिहे गरिदिनु भयो । मलाई चाहिँ यति सानै उमेरमा बिहे गरिदिन लाग्नुभाछ । सोनु, अब के गर्ने होला ! म कति रोएँ बिहे नगर्ने भनेर ।’ आँतिदै लुनिभाले भनिन् ।‘ल त्यसो भए आज म पनि तिमीसँगै जान्छु । अनि तिम्रो बाबा र मामुलाई भेटेर दुवै जना मिलेर सोधौँ हुन्छ ?’ सोनुले सम्झाउने स्वरमा भनिन्। ‘हुन्छ ।’ लुनिभाले टाउको हल्लाइन् मात्र ।
विद्यालयमा टिफीन टाइम सकियो र घण्टी बज्यो । सोनुलाई पनि लुनिभाको कुरा सुनेर अचम्म लागिरहेको थियो । अन्तिम घण्टीको पढाइ सकिनासाथ दुवैजना लुनिभाको घर गए ।
सोनु चलाख थिइन् । उनले घरको आँगनमा लुनिभाको मामुलाई देख्नासाथ ‘नमस्कार आन्टी’ भनिन्।
लुनिभाको मामुले पनि ‘नमस्कार जोजोलपा’ भन्दै मुसुक्क हाँसेर बोलिन्, ‘सोनु, तिमी त कति दिनपछि पो हाम्रो घरमा आयौ । जाऔं भित्र,’ भन्दै लुनिभा र सोनुको हात समाएर घरभित्र लिएर गइन् ।‘म आउनुहुँदैन त आन्टी ?’ सोनुले प्रश्न गरिन् ।‘ल छोरी ! तिमीलाई कसले नआऊ भन्यो र ! तिम्रो पनि घर हो यो ।’
‘अनि मलाई चाहिँ यति माया गर्ने आन्टीलाई लुनिभाको चाहिँ माया लाग्दैन ?’ मौका छोप्दै बोलिन् सोनु ।‘ल कस्तो कुरा गरेकी सोनु तिमीले ? तिमीहरु दुवै जनाको मलाई उतिकै माया लाग्छ ।’‘अनि त्यो बेल भन्ने केटा चाहिँ को नि आन्टी ?’सोनुको प्रश्न सुनेर लुनिभाको मामु छक्क परिन्, ‘को हो बेल भनेको ? म चिन्दिनँ त ।’लुनिभा र सोनुलाई एकैछिन बस्न अह्राएर लुनिभाको मामु जुस लिन किचेन रुममा छिरिन् । लुनिभा र सोनु मुखामुख हेर्न थाले।सोनुले खुसुक्क भनिन्, ‘ओई बेल भन्ने केटालाई त तिम्रै मामुले त नचिन्ने रहेछ । अनि किन चिन्ता लिएको तिमीले चाहिँ ?’
लुनिभाले नजिकै राखिएको भोज खाने पातको टपरी देखाउँदै भन्यो ‘उ त्यो हेर त, मेरै बिहेको लागि भोज खुवाउन ल्याइएको टपरी हो क्या ।’सोनु झन् अलमलमा परिन् । लुनिभाको मामु पनि जुस लिएर कोठामा आइपुगिन् । दुवै जनालाई जुस दिँदै आफूले पनि पिउन थालिन् ।सोनु बोलिन् ‘आन्टी, अनि लुनिभालाई बेलसँग बिहे गरिदिने भन्नुहुन्थ्यो रे नि तपैंले ?’‘ए... त्यो बेल पो भनेकी ?’ लुनिभाको मामु मस्तले हाँस्दै जवाफ दिइन्, ‘हो, हो अब ५ दिनपछि लुनिभाको बेलसँग बिहे गर्ने हो।’
अब भने सोनुको मुख कालो भयो । लुनिभा पनि रोउँला रोउँलाझैं गर्दै थिइन्।‘लौ के भो तिमीहरुलाई ?’ लुनिभाको मामु बोलिन् ।‘अनि किन बेल भन्ने केटा चिन्दिनँ भन्नुभाको त अघि ? लुनिभा यति सानी छे । अनि यति सानैमा बिहे गरिदिने त ?’ सोनुले सोधिन् ।‘धत् ! तिमीहरु लाटी रहेछौ । केटासँग होइन क्या । बेलसँग हो ।’‘बेल भनेको के हो मामु ?’ लुनिभाले सानो स्वरमा सोधिन् ।
‘बेल भनेको रुखमा फल्ने एउटा फल हो क्या । हाम्रो नेवारी परम्पराअनुसार सानैमा बेलसँग बिहे गर्नुपर्छ । बेलसँग बिहे गर्दा बेलसँगै बेलको घरमा जानुपर्दैन । बेललाई हाम्रै घरमा राखिराख्ने हो । यो त एउटा रीतिरिवाज हो । बेलसँग बिहे गरेपछि ठूलो भएर बिहे गरेपछि कसै गरी श्रीमानको मृत्यु भए पनि ती महिला कहिल्यै विधवा हुँदैन भन्ने मान्यता छ ।’ लुनिभाको मामुले प्रष्ट पारिन्।
बल्ल दुवै जनाको ओठमा मुस्कान छायो । सोनुले उत्सुकतापूर्वक सोधिन्, ‘त्यसो भए बेल विवाह कसरी गरिन्छ त ? अब सबै कुरा भन्नुस् न त आन्टी । हामी त कस्तो डराएको बेल भन्ने केटासँग पो लुनिभाको बिहे गर्न लागेको होला भनेर ।’ सोनुले अनुरोध गरिन्।
‘ल सुन ! बेल विवाहलाई नेपाल भाषामा ‘इहि’ भनिन्छ । विशेष गरी बिजोर वर्षको साइतमा बालिका रजस्वला हुनुअगावै गरिने संस्कारमध्ये बेलविवाह महत्वपूर्ण संस्कार हो । नेवार समुदायमा केटीको आफ्नो जीवनमा तीन पटकसम्म विवाह हुन्छ । ती हरेक विवाहमा केटीको बुवाले कन्यादान गर्छन् । यिनीहरुमध्ये सुरुको कन्यादानको रुपमा बुवाले सर्वगुणसम्पन्न ज्वाइँको रुपमा रुखमा फल्ने बेलसँग विवाह गरिदिएर कन्यादान गर्छन् ।
बेल विवाह कार्यक्रम दुई दिनको हुन्छ । पहिलो दिन नुहाइधुवाइ, सरसफाइ गरी विधि पुर्याएर बेल विवाह गर्ने सबैलाई सामूहिक रुपमा पूजाआजा गराई मण्डपअगाडि बसाइन्छ र विधिअनुसार पुरोहितले यज्ञ गरी पूजापाठ सकेर बालिकालाई पनि पूजा गर्न दिइन्छ ।
आमाले जल र दूधको धाराका साथ बेल र चोखो सुन भुईंमा राखिन्छ र बालिकालाई बुवाको काखबाट मण्डप अगाडि बसाइन्छ । त्यसपछि बुवाले बालिकालाई आफ्नो काखमा राखी अगाडि रहेको बेल र चोखो सुनलाई आफ्ना इष्ट देवगणको रुपमा जल, सिन्दूर, अक्षता, फूलका साथै पूजा गरी कन्यादान दिइन्छ।
बेलविवाहमा सहभागी सबैका अभिभावकले विवाहमा सरिक सबै कन्याहरुलाई क्षमताअनुसार नगद र जिन्सी फलफूल र मिठाई दान दिने प्रचलन छ । घरमा लगेपछि छरछिमेक र आफन्तलाई बोलाएर शुभकामना आदानप्रदान गरी भोज खुवाइन्छ । आफन्तले पनि बालिकालाई क्षमताअनुसार उपहार दिन्छन् ।’‘ए... त्यस्तो बिहे पो रहेछ । अनि हामीलाई के थाहा त ।’ सोनु बोलिन्, ‘हाम्रो त कहिल्यै यस्तो बिहे भएको र भोज खुवाएको देखेको थिइनँ ।
अनि लुनिभाको बिहे भनेको सुनेर मलाई पनि कस्तो रुन मन लागेर सोध्न आएको आन्टी ।’ लुनिभाको मामुले दुवै जनालाई काखमा लिएर भनिन्, ‘ल सोनु, अब ढुक्क भएर बेलविवाहमा सरिक हुने ल।’लुनिभा र सोनुले एकछिन मुखामुख गरे र मुसुक्क मुस्काए । लुनिभा मामुको सबै कुरा सुनेर खुसी भइन् । ‘सोनु मामुले पहिल्यै भन्नुभएको भए पीर नै पर्ने थिएन ।’ लुनिभाले भनिन् । बेलविवाहबारे सबै कुरा थाहा भएपछि सोनु र लुनिभा दुवै जना खुसीले दङ्ग भए।
प्रकाशित: १५ वैशाख २०७५ ०४:०९ शनिबार