coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दधिकोटको सन्देश

वैशाख १ गतेका दिन सधैं आफ्नै जन्मथलोमा भइयोस् जस्तो लाग्छ मलाई । तर सधैं चाहे जस्तो हुँदैन, कहिले कता पुगिन्छ, कहिले कता।

यसपाली चाहिँ गाउँबाटै नयाँ वर्षको स्वागत गर्न पाइयो । वैशाख १ र २ गते हाम्रो गाउँ (दधिकोट, भक्तपुर)मा बिस्केट जात्रा मनाइन्छ । बिशेषतः नेवार समुदायले मनाउने जात्रामा सबै जातजाति र समुदाय सामेल हुन्छन् । जात्राको रंगमा रंगीन्छन्।  वैशाख १ गते हाम्रो गाउँको चरखण्डी तिर्थस्थलमा जात्रा लाग्छ । विहानैदेखि थामिनसक्नु भिड हुन्छ । जात्रामा खानपिन र सामान बेच्नेको बजार त लाग्ने नै भयो।

तिर्थालु नुहाउँछन् र देवदेवीको पूजा गर्छन् । त्यहाँ बिस्केटका दुइटा रथ राखिन्छ । दुबैमा कुमारी, गणेश र भैरबका मूर्ति हुन्छन् ।  देवदेवीको पुकारा गरेर मानवलाई सुखी बनाउने संकल्पसाथ जात्रा तथा पर्वहरु मनाइन्छ । धार्मिक र सामाजिक दुबै हिसाबले जात्राको ठूलो महत्व हुन्छ । त्यही महत्वबोधले जात्रा मनाउनु बेस।  

बाल्यकालमा चाहिँ खानपिन र रमाइलोले बढी छुँदो रहेछ । बाल्यकालका अनुभूतिले बुढ्यौलीसम्म प्रभावित गर्छ । बिस्केट जात्रा सम्झनेवित्तिकै म पनि रोमाञ्चित हुन्छु किनकि अनगिन्ती सम्झना छन् मनम ।सानो छँदा आमाको हात समातेर चरखण्डी पुग्थें । आमा देवदेवीलाई फूलपाती चढाउनु हुन्थ्यो, हाम्रो ध्याउन्न चाहिँ तिलौरी किनेर खानेतिर हुन्थ्यो । सम्झँदै मुख रसाउँछ, सख्खर पकाएर बनाएको तिलौरी कति मिठो!

नाङलाभरि तिलौरी राखेर बेच्न बस्थे सालिम्पाटीका केही साथीहरु पनि । किन्थ्यौं । खान्थ्यौं । बिस्केट बाहेक अरुबेला तिलौरी खाएको सम्झना छैन । त्यति मिठो तिलौरी जात्रामा भेटिँदैन अचेल।जब जब म जात्रामा पुग्छु आँखाहरु तिलौरी खोजिरहन्छन्।हामी अलिक ठूलो भएपछि भाईबहिनीसँग चरखण्डी पुग्थ्यौं । तिलौरीसँगै उनीहरुलाई खेलौना किनिदिन्थ्यौं । पिँपिँ गर्ने प्लाष्टिकका स्याना बाजा किन्न पाइन्थ्यो । अचेल ठूला साइजका त्यस्तै बाजा पाइन्छ।

  अस्ती वैशाख १ गते जात्रामा पुग्नेवित्तिकै कान्छो छोरा अनुष्ठान बाजा पसले सामुन्ने उभियो । मैलें पिँपिँ बज्ने बाजा किनिदिएँ–४० रुपैयाँमा । हामीले सानोमा एक मोहरमै किन्थ्यौं स्याना बाजा !सँगै थियो जेठो छोरा आश्रय । किशोरवयमा टेक्नै लागेको उसलाई खेलौनाले छुने कुरै भएन, उसैले भाइलाई एउटा मोटर किनिदिउँ भन्यो । अलिक अघि बढेपछि एक जना दाई मुरली बेच्दै रहेछन्, त्यो पनि किनिदियौं।

अहँ मेरा दुबै छोरालाई त्यो तिलौरीको स्वाद थाहा छैन । तिलौरीको जमाना गइसक्यो ! तिलौरी पाए पो खाउन् ।तिनले त छेवैमा बेच्दै गरेको आइसक्रिम पो खाए।  म क्यामेरा बोकेर जात्राका तस्बिर खिच्न थालें । भर्खरका युवा आपसमा सिन्दुर छ्याप्दै, धिमे र झ्याली बजाउँदै नाचिरहेका थिए । आफ्नोपन र आफ्नो संस्कृतिप्रति तन्नेरी मोह देख्दा खुशी लाग्यो।

दुबै छोरा डिलमा बसेर जात्रा हेरिरहेका थिए । टाढैबाट देवीदेवताका दर्शन गरे तिनले । भर्खर ४ वर्षमा हिँडिरहेको अनुष्ठान पनि जात्रामा हौसियो । रमायो । केही सिक्यो होला उसले !
जात्रा भनेकै मान्छेको भिड, मन्दिर र बाजा रहेछ भन्ने पो बुझ्यो कि !मान्छेका आ–आफ्नै आस्था हुन्छ । आ–आफ्नै विश्वास हुन्छ । हामीले तिनको सम्मान गर्नु पर्छ । तल खोलामा नुहाउनेहरु नुहाइरहेकै थिए । खटमा देवताको पूजा गर्नेहरु पूज्दै थिए । एक छेउमा बसेर भजन गाउनेहरु गाइरहेकै थिए।

श्रेष्ठ र मानन्धर गुठीका दुई रथ पकाण्डोलबाट ल्याएर त्यहाँ राखिएको थियो । बाजा बजाउने युवा नेवार समुदायकै थिए । तर त्यो बाजाको तालमा नाच्नेहरु, त्यसमा रमाउनेहरु र नदीमा नुहाएर पूजा गर्नेहरु सबै जातिका थिए । लाग्थ्यो बिस्काः (बिस्केट) जात्रा सबैको साझा हो।
सहिष्णुता र सद्भावको राम्रो नुमना भेटिन्छ चरखण्डी जात्रामा।जात्राको इतिहास लामो छ । विसं १९६१ वैशाख १ देखि जात्रा मनाउन थालिएको ‘संस्कृति संरक्षण कोष’ले बाँडेको पर्चामा उल्लेख छ । ठिमीले नेवार खेती किसानी गर्ने सिलसिलामा पकाण्डोल (सूर्यविनायक नगरपालिका–१)मा बसोबास गर्न थालेपछि बिस्तारै यतै बिस्काः जात्रा मनाउन थालेको इतिहास छ।  

पहिला श्रेष्ठ र मानन्धर दुबैको एउटै रथ थियो । पछि विसं २०१४ सालमा दुबैबीच बैमनष्यता भयो । उनीहरुले छुट्टाछुट्टै गुठी बनाएर दुईटा रथ बनाई जात्रा चलाउन थाले।   रथ बेग्लाबेग्लै भए पनि दुबैबीच आज सद्भाव र सम्बन्ध छ । बैमनष्यता छैन।  बैशाख २ गते गाउँमा रथ डुलाउने चलन छ । त्यो दिन अफिस आउने बेला बाटोमा दुबै रथ भेटें मैले । गाडीबाट ओर्लेर केही तस्बिर खिचें । युवाहरु उसैगरी खट बोकिरहेका थिए । उही जोशमा धिमे बजाइरहेका।

अघिल्लो दिन त धन्सार (सिरुटार)का युवा पनि बाद्यबादन घन्काइरहेका थिए । जात्रामा बिशेषतः धिमे र झ्याली बजाइन्छ । साथमा बाँसुरी, मादल, खिँ र पछिमा पनि हुन्छ । संस्कृति संरक्षण कोषले पोहोर २५ युवालाई बाँसुरी बजाउने तालिम दिएको थियो । त्यसैले यसपाला बाँसुरीको धुन सुन्न पाइयो ।इन्द्र मानन्धरको संयोजकत्वमा गठित कोषमा सुन्दर, प्रेम, शुरेश, धनबहादुर, श्याम बहादुर र गणेश बहादुर लगायत छन् । युवामा साँस्कृतिक जागरण बढाउने कोषको प्रयास प्रशंसनिय छ।   

जात्रालुहरु सालिम्पाटी पुग्दा त्यहाँका ब्राम्हण युवा पनि रथ बोक्न तँछाड मछाँड गरिरहेका देखियो । त्यतिमात्र होइन, स्थानीयहरु रथभित्रका देवताको पूजा गर्न थालीमा फूल प्रसाद बोकेर उभिरहेका थिए ।   आखिर देवता भनेकै सबैका साझा । एक समुदायको जात्रामा अर्को समुदाय सहभागी भएर सद्भाव प्रदर्शन गर्नु नेपालीको विशेषतै हो । मेरा छोराहरुले पनि बिस्केटलाई आफ्नै जात्रा सम्झनेमा विश्वस्त छु।

बिस्केटकै अबसरमा शरीरमाथि दियोमा बत्ति बाल्ने जात्रा पनि हुन्छ । मनोकांक्षा पुरा होस् भनेर यसपाली मनिष मानन्धर र किरण श्रेष्ठले बत्ति बालेछन् ! घरबाट बाटो नाप्दै चरखण्डी पुगेपछि शरीरभर दियोमाथि बत्ति बाल्ने चलन ।जीवनका ४ दशक पार गरिसक्दा पनि मैले बत्ति बाल्ने जात्रा हेरेको छैन । हेर्ने इच्छा छ, आउँदो वर्ष अबश्य हेर्नेछु । छोराहरुलाई पनि देखाउनेछु ।त्यसैले ०७६ सालको वैशाख १ गते पनि म दधिकोटमै हुनेछु ।   

 

प्रकाशित: १५ वैशाख २०७५ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App