७ वैशाख २०८१ शुक्रबार
कला

क्रिकेटको सुवास फैलाउँदै

नेपाली राष्ट्रिय टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि घरेलु क्रिकेटमा पहिलो प्रतियोगिता धनगढीमा भएको थियो।

एसपिए कपको नाममा सुरु भएको प्रतियोगिता धनगढी क्रिकेट लिग (डिसिएल) हुँदै अहिले धनगढी प्रिमियर लिग (डिपिएल)का नाममा देशकै सबैभन्दा ठूलो र परिपक्व भइसकेको छ । अझ महत्वपूर्ण विषय यो प्रतियोगितामात्र नभई धनगढीबाट क्रिकेटको सुवास सुदूरपश्चिम हुँदै पूरा देशमा फैलाउने एउटा अभियानका रूपमा स्थापित भइरहेको छ।

क्रिकेट र बास्केटबलको रोमाञ्चमा बाल्यकाल र किशोरावस्था बिताएका एक युवा सुवास शाहीको नेतृत्वमा धनगढीबाट क्रिकेटको सुवास देशैभर फैलाउने अभियान सुरु भएको हो । स्नातकसम्मको अध्ययन काठमाडौैंमा पूरा गरेर धनगढी फर्कँदा सुवास राजधानीमा क्रिकेटको ब्याट र बलसँग अघाउन भ्याएकै थिएनन् । राष्ट्रिय टोलीका वर्तमान कप्तान पारस खड्काहरू उनका क्रिकेट खेल्ने साथी थिए । राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास उनका कप्तान थिए । उनीहरूसँग राम्ररी राजधानी सहरमा धित मर्ने गरी केटौलो पारामा ब्याट घुमाउन पाएकै थिएनन्।

काठमाडौं छोड्दा जन्मभूमि जानुको उत्साहसँगै परिवार र बालसखासँग पुनर्मिलनको रोमाञ्च भए पनि मन कता कता खल्लो थियो । आफैँ पनि नेपालको जर्सी लगाउने सपना बोकेका सुवासका लागि देशमा नाम चलेका क्रिकेटरसँगको सानिध्य टुट्दा मन खल्लो हुनु स्वभाविक थियो । क्रिकेटप्रतिको चरम लगावका कारण सुवासका लागि घर फर्काइको रोमाञ्चमा पनि केही नपुगेजस्तो भइरहेको थियो।

जहाँ इच्छा त्यहाँ उपाय । ‘काठमाडौंमा सँगै खेल्न नपाएर के भो त ? आफै राष्ट्रिय खेलाडी बन्न नसकेर के भो त ? धनगढीमै क्रिकेटको माहोल बनाउन सके, क्षमता भएका थुप्रैको राष्ट्रिय टोलीबाट खेल्ने सपना पूरा गर्ने माध्यम बन्न सके झनै राम्रो,’ सुवासले अठोट गरे, ‘धनगढीलाई नै नेपाली क्रिकेटको एउटा महत्वपूर्ण गन्तव्य बनाउँछु । यो सहरलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्छु । देशमा मात्र नभई विदेशमा पनि धनगढीलाई क्रिकेट गन्तव्यका रूपमा चिनाउँछु।’

काठमाडौं छोड्दा जन्मभूमि जानुको उत्साहसँगै परिवार र बालसखासँग पुनर्मिलनको रोमाञ्च भए पनि मन कता कता खल्लो थियो । आफैँ पनि नेपालको जर्सी लगाउने सपना बोकेका सुवासका लागि देशमा नाम चलेका क्रिकेटरसँगको सानिध्य टुट्दा मन खल्लो हुनु स्वभाविक थियो।

‘आफैँलाई राष्ट्रिय जर्सी लगाउने इच्छा थियो । तर, त्यो दिमागले भनेको रहेछ । मनले भनेको रहेनछ । त्यही भएर यसमै एकोहोरिएन । मनले भनेको भए खेल्नमै बढी लगाव हुन्थ्यो होला, कुनै बहानाले छेक्दैनथ्यो होला,’ क्षेत्रीय स्तरमा कहलिएका अलराउन्डरले ठट्यौली पारामा भने, ‘२०११ मा भएको क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान भएको थिएँ।

कलेजमा सँगै क्रिकेट खेल्ने साथी हुन् । मैले खेल्न नछोडेको भए अहिले राष्ट्रिय टोलीमा ओपनिङ ब्याट्सम्यानको यस्तो समस्या नै हुँदैनथ्यो।’सबैभन्दा बढी माया गरेको खेलबाट खेलाडीका रूपमा टाढिँदा उनलाई जति पीडा भएको थियो, त्यति नै अहिले अरुलाई खेलाउने कर्मले उनलाई लठ्ठ पारेको छ । ‘सुरु–सुरुमा अली गाह्रो होला जस्तो लागेको थियो।

तर, प्रतियोगिता गर्न थालेपछि यसको नशा झन् कडा हुँदोरहेछ । प्रायोजक खोज्ने, टिमहरूसँग समन्वय गर्ने, मैदान बनाउने, दर्शकको ताली र गाली भोग्ने, व्यवस्थापनको दबाबमा रमाउने बानी लागिसक्यो,’ सुवास भावुक भए, ‘हरेक वर्ष प्रतियोगिता सकिएपछि त्यसको तयारीमा दिनरात नसुतिकन, नखाइकन काम गरेको सम्झन्छौं । र, अन्त्यमा हामीले केही त गर्यौं भनेर सन्तुष्टी लिन्छौं । यही प्रतियोगिताको माध्यमबाट धनगढीलाई चिनाउन सकेका छौं । देश विदेशमा यसको चर्चा भइरहेको छ । यसको मात खेल्नुको भन्दा धेरै बढी हुँदोरहेछ।’

प्रतियोगितासँगै सुवास र उनको टोलीले धनगढीमा एउटा क्रिकेट एकेडेमी सञ्चालन गरिरहेको छ । धनगढीमै एउटा कम्तिमा ५० हजार दर्शक अटाउने अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने अभियान थालेको छ, डिम फाप्लाको नाममा । उपमहानगरपालिकाको नगरसभाबाटै धनगढीलाई क्रिकेटको सहर नाम दिन निर्णय गराइसकेको छ।

त्यसैले त प्रतियोगिता गर्न थालेको एक दशक हुनै लाग्दा घाटाले करोड नाघीसके पनि चिन्ता छैन । उल्टो त्यसको तुलनामा कैयौं गुणा बढी नाफा भएको विवरण दिन्छन्।‘क्रिकेटलाई हामीले कहिल्यै नाफा र घाटाको विषयसँग जोडेर हेरेनौं । हामी धनगढीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिने अभियानमा छौं । क्रिकेटको माध्यमबाट यो सहर र पूरा क्षेत्रको सर्वाङ्गिण विकासको लक्ष्यमा छौं।

त्यसकारण प्रतियोगिताबाट भएर जति पैसा आए पनि पुग्दैन,’ सुवासले भने, ‘क्रिकेटको माहोल राम्रो बनाउन सक्यो भने खेलाडीले करोडौं कमाउँछ । त्यसलाई हामीले रिटर्नको रूपमा लिएका छाैं । क्रिकेटले गर्दा धनगढीको ब्रान्ड बन्यो । यहाँको कारोबार चहलपहल बढेको छ । अहिले पनि लागनीको फेजमा छौं । भोलि पनि लगानी नै गर्ने हो । हामीले खोजेको इन्डाइरेक्ट रिटर्न हो । धनगढी र क्रिकेट अगाडि बढे सबै स्टेकहोल्डरले रिटर्न पाउँछन्।

मैले पनि पाउँछु । हामीले आफ्नो अभियानका लागि अरु (प्रायोजक, सहयोगी र सरकार) सँग माग्ने हो भने आफू पनि लगानी गर्नुपर्छ भन्ने मान्यताका आधारमा अगाडि बढिरहेका छौं । त्यसैले यो घाटा होइन हामीले धनगढी र क्रिकेटका लागि गरेको लगानी हो । केही रिटर्न आइरहेको छ । भोली आउने रिटर्न हाम्रो कल्पनाभन्दा बढि हुनेछ।’

भोलिको प्रतिफल कतै नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वमा आउने सोचसँग जोडिएको त छैन । होइन, देशको क्रिकेट विकास गर्ने जिम्मेवार निकाय क्यान आफै अलमलमा रहेका बेला कामको उदाहरणबाटै दबाब दिन उनको उद्देश्य छ । गर्न खोजे सकिन्छ भन्ने प्रमाण पेश गर्न खोजिरहेका हुन्, जसमा उनी र उनको टोली पूर्णरूपमा सफल भइरहेको पनि छ ।
‘हामीले क्यानमा आउने सोच लिएर काम गरेको होइन । नभएको बेला काम गर्न सकिन्छ भनेर उदाहरणमार्फत्  दबाब दिन खोजेको हो।

क्यान बलियो हुनुपर्छ, सरकार बलियो हुनुपर्छ, क्यानले आफै गर्छु, तिमीहरू नगर भनेको दिन हामी सबभन्दा  बढि खुसी हुन्छौं,’ सुवास भन्छन्, ‘क्यान संस्थागत हुनुपर्छ । त्यो हाम्रो सबैभन्दा ठूलो अभियान हो । धनगढी क्रिकेटको सहर भनेर चिनिन थाल्यो । तर, फाप्लामा रंगशाला बनेको दिन त्यो सार्थक हुन्छ । अहिले धेरै एकेडेमी खुले, अरु प्रतियोगिताहरू पनि हुन थाले । पूर्वाधार बन्यो भने प्रतियोगिता गर्न पनि सजिलो हुन्छ।’

२००९ मा धनगढी फर्केलगत्तै आफ्नै पिता योगेन्द्रबहादुर शाहीको कलेज सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपिए) मा शिक्षकका रूपमा काम गर्न थालेका थिए । काठमाडौंमा होटल म्यानेजमेन्टमा स्नातक गरेका उनले पिताको कलेजमा त्यही विषय पढाउन थाले । व्यवस्थापनमा पितालाई सघाउन थाले । तर, कलेजमा पढाउने र व्यवस्थापन गर्ने उनको लगावको विषय थिएन । क्रिकेट प्रतियोगिता गर्नु नै थियो।

प्रतियोगिता गर्न ठूलै रकम चाहिन्थ्यो । त्यसका लागि प्रायोजक चाहिन्थ्यो । स्थानीय स्तरमा चिनजानका भरमा उठ्ने रकमले सुवासको सपनामा कुनै योगदान गर्न सक्दैनथ्यो । ठूला प्रायोजक खोज्न भर्खर काठमाडौंमा बिए पास गरेर फर्केको ठिटोलाई कसले पत्याउनु ! तर, पिताको कलेज ब्याकअपका रूपमा थियो । त्यही कलेजले भरथेग गर्दा उनले २०१० मा पहिलो पटक एसपिए कपका नाममा प्रतियोगिता सुरु गरे।

२०१२ सम्म स्थानीय प्रायोजकहरूको सामान्य साथ र पिताजीको ब्याकअपमा एसपिए कपले निरन्तरता पायो । सुवासको क्रिकेट मोहको बाउन्ड्री यत्तिमै सीमित थिएन । असिमित थियो, छ । ‘प्रतियोगितामात्र गरेर हुँदैन । खेलाडी उत्पादनमा पनि लाग्नुपर्छ,’ मनको यो भनाईलाई सार्थक पार्न उनले धनगढी क्रिकेट एकेडेमी (डिसिए) सञ्चालन गर्न थालिसकेका थिए । एकेडेमी र प्रतियोगिता सँगै सञ्चालन गरिरहँदा काठमाडौंमा छोडेको क्रिकेट माहोल उनले धनगढीमै पाउन थालिसकेका थिए।

एसपिए उनका लागि अप्ठेरो पर्दा भरथेग गर्नका लागि थियो । उनको अभियान स्थापित गर्नका लागि थियो । तीन वर्षको बीचमा एसपिए कपको नियमित आयोजना र डिसिए सञ्चालन सुरु भएपछि अब सुवास र उनको टोली बाउन्ड्री लाइन फराकिलो पार्ने सोचमा पुग्यो । नतिजा, २०१३ मा धनगढी क्रिकेट लिग (डिसिएल) सुरु भयो।

त्यसपछि एक वर्ष एसपिए कप अर्को वर्ष डिसिएका नाममा प्रतियोगिता हुन थाले । गत वर्षबाट भने दुवै प्रतियोगिता मर्ज गरेर डिपिएल बनाइयो । पहिलो वर्ष नै अक्सनमार्फत् ६ वटा फ्रेन्चाइज टोलीलाई खेलाडी उपलब्ध गराएर नेपाली क्रिकेटमा अर्को इतिहास डिपिएलले निर्माण गर्‍यो।‘ड्याडीको भूमिका मेरो जीवनमा एउटा बाबुको रूपमा मात्र सीमित छैन । उहाँ मेरा लागि प्रेरणाको स्रोत हो । उहाँ मेरा लागि आदर्श व्यक्तित्व हो । म र मेरा साथीहरूको प्रयासमा धनगढी एउटा ब्रान्ड बनेकोमा मभन्दा खुसी उहाँ हुनुहुन्छ।

एसपिए त सधै हामीसँग छ । अब प्रतियोगितालाई ग्रो गर्न एसपिएको घेरा नाघ्नुपर्छ भन्ने भएर डिसिए सुरु ग¥यौं,’ सुवास भावुक भए, ‘ड्याडीकै भूमिकाका कारण घरबाट मलाई सधै प्रोत्साहन भइरहयो । धनगढीमा क्रिकेट अगाडि बढ्दा सबथोक सँगै बढिरहेको उहाँले बुझ्नुभएको छ । घरबाट बाहिर निस्कनेबित्तिकै महेश शाह दाइ, धिरेन्द्र सावद, प्रकाश खड्का, सौरव ओझा, हर्क बोहरा, यज्ञराज जोशीलगायत धेरै साथीहरूको समर्पण र साथका कारण आज धनगढीको क्रिकेट यहाँ आइपुगेको छ।’

एसपिए कपबाट सुरु भएको अभियानले धनगढीलाई क्रिकेटको सहरकारूपमा परिचय दिलायो । देशकै ठूलो प्रतियोगिता डिपिएल सफलतापूर्वक दोस्रो वर्ष सम्पन्न भइसक्यो । तर, सुवास र उनका सहयात्रीहरू अझै सन्तुष्ट छैनन् । धनगढीको क्रिकेट अभियानका अर्का सारथि सौरभ ओझा भन्छन्, ‘फाप्लामा हामीले सोचेजस्तो क्रिकेट  रंगशालाको छानो हालेको दिन केही गरिएछ भनेर पछाडि फर्केर आफ्नै काम हेरौला । त्यो दिन नआएसम्म पछाडि फर्किने कुरै छैन । अगाडिमात्र बढ्ने हो।’

कसरी पलायो त धनगढीमा अन्तर्राष्ट्रिय मैदान धनगढीमा बनाउने महत्वाकांक्षी योजनाको दुबो ? सुवासको छोटो उत्तर छ, ‘आवश्यकता’ । एसपिए कप गर्दादेखि नै एउटा ढंगको मैदान नहुँदा निक्कै अप्ठेरो परिरहेको थियो । पहिलो वर्ष दुईवटा मैदानलाई कामचलाउ बनाएर प्रतियोगिता गरे पनि २०१३ देखि अञ्चल प्रहरी कार्यालयको चउर धनगढी क्रिकेटले प्रयोग गर्न पायो । तर, विभिन्न मेलादेखि सार्वजनिक कार्यक्रमका लागि नियमित रूपमा हजारौं मानिसलाई आतिथ्य गर्ने मैदान क्रिकेटका लागि दिगो समाधान होइन । बाध्यतावश त्यहाँ प्रतियोगिता गर्दा वर्षेनी २० देखि २५ लाख रूपैयाँको अर्थहिन खर्च आवश्यक हुन्छ।

यसपालि चैत मसान्तमा सकिएको दोस्रो संस्करणको डिपिएलमा पनि पिच बनाउन, आउट फिल्ड मिलाउन र अस्थायी प्यारापिट बनाउनका लागि मात्र २५ लाखभन्दा बढी खर्च भएको विवरण आयोजकसँग छ, जुन अर्को वर्ष प्रतियोगिता गर्दा फेरी शुन्यबाट सुरु गर्नुपर्छ।‘प्रतियोगिता गर्न थालेपछि एउटा ढंगको रंगशाला चाहिन्छ भन्ने लाग्यो । पहिलो वर्ष नै गाह्रो भयो । अनि दीर्घकालीन समाधान हुने खालको मैदान खोज्दै जाने क्रममा २०१२ मा फाप्लाको पहिचान भयो।

फाप्ला उपयुक्त छ भन्ने प्राविधिक निचोड आएपछि यहाँ नगरपालिका र वन उपभोक्ता समितिसँग कुरा मिलायौं,’ सुवास सम्झन्छन्, ‘अब सरकारी–निजी साझेदारी (पिपिपी) मोडलमा बनाउनुपर्छ भनेर पर्याप्त गृहकार्य गरेर सरकारलाई प्रस्ताव गरेका छौं । तर, सरकारबाट नीति बनेको छैन । सम्झौताको प्रतीक्षामा छौं । सम्झौता गरेर सरकारले गो अहेड मात्र भने तीन वर्षभित्र हामी ५० हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको नमुना रंगशाला बनाएर देखाउँछौं।’

प्रत्येक वर्ष आकार र प्रभाव विस्तार गर्दै गइरहेको प्रतियोगिताको आयोजक भएकाले उनीहरूमा ठूलै रंगशाला पनि बनाउन सकिने आत्मविश्वास पैदा भएको हो । प्रतियोगिता प्रत्येक वर्ष ठूलो हुँदै गए पनि क्यानको क्यालेन्डर नहुँदा निश्चित मिति नपाउनु, मैदानकै लागि प्रत्येक वर्ष २५ लाखको हाराहारीमा लगानी खेर फाल्नुपर्दा रंगशाला बनाउने जिद्धी झनै चर्को बनेको सुवास बताउँछन्।

‘ड्रिम फाप्ला’ नाम दिइएको रंगशाला बनाउने अभियानको सुरुआत २०१५ को एसपिए कपको बजेटबाट एक लाख रूपैयाँ राखेर सुरु गरिएको थियो । डिसिएलको पहिलो संस्करण २०१३ तथा २०१४ मा नेपाल प्रिमियर लिग (एनपिएल) गरेको फाप्लाको मैदानलाई अन्तर्राष्ट्रिय रंगशालाको रूप दिने अभियानमा त्यो एक लाख रूपैयाँ केही होइन भन्ने सुवासलाई थाहा छ । तर, त्यसले आफ्नै प्रतिबद्धता बलियो पार्नुका साथै सम्बन्धित पक्षलाई झकझक्याउन सकोस् भन्ने उनीहरूको उद्देश्य थियो, जुन सफल भएको सुवास बताउँछन्।

‘अहिले पनि प्रत्येक वर्ष हामीले डिपिएलबाट टिकटको २० प्रतिशत डिम फाप्लाका लागि छुट्याउने गरेका छौं । यसबाट उठने दुई–चार लाखले केही हुने होइन । खासमा डिपिएल आफैमा ड्रिम फाप्लाको अभियान हो । अहिले बस्ने ठाउँसमेत नहुँदा प्रत्येक खेलमा टिकट      काटेर तीन हजारभन्दा बढी दर्शक क्रिकेट हेर्न आउँछन् । रंगशाला भए दशौं हजार थपिन्छन् । यसले मनोवैज्ञानिक दबाब सिर्जना गर्ने हो । तर, यो हामीले आफै बनाउँछौं भनेर सरकारलाई बनाउन दबाब दिन खोजेका हौं।

सरकारले फाप्लामा रंगशाला बनाउने भनेर २०१५ मै घोषणा गरेर रातो किताबमा पनि राख्यो । त्यसले हामी एक हदसम्म सफल भएका हौं । तर, काम गर्ने सरकारी शैलीले फाप्लालाई पनि मूलपानी रंगशालाजस्तै बनाउने देखियो । त्यसकारण हामीले आफै बनाउने सोच बनायौं,’ उनले भने, ‘फाप्ला बनाउन हाम्रै प्रायोजक तयार छन् । एउटा प्रतियोगिताका लागि तीन करोडभन्दा बढी प्रायोजकहरूले खर्च गरिरहेका छन् । एउटा प्रतियोगिताका लागि तीन करोड खर्च गर्नेले रंगशाला नै बनाउन पाए तीन अर्ब खुसीसाथ खर्च गर्न तयार छन्।

रंगशाला बनाउन लगानीको होइन, नीतिको खाँचो छ ।’सुवासले सरकारलाई बुझाएको प्रस्तावअनुसार पिपिपी मोडलमा रंगशाला बन्दा ५१ प्रतिशत सेयर निजी क्षेत्रको हुनेछ भने सरकारले ४९ प्रतिशत सेयर पाउनेछ । जग्गाको मूल्यांकन गरेर त्यसलाई पनि सरकारी सेयरमा रूपान्तरण गरिनेछ । सरकारले सम्झौता गरेलगत्तै डिसिएले सर्वसाधारणका लागि सेयर आह्वान गर्नेछ । तर, उनको प्रस्ताव पुगेको वर्षौ बितिसक्दा पनि सरकार नीतिगत रूपमा तयार भइसकेको छैन।

बल्लबल्ल उनीहरूकै ताकेताले मन्त्रालयमा एउटा पिपिपी सेलसम्म गठन भएको छ । तर, काम भने केही हुन सकेको छैन । यसबीचमा आफ्नो प्रस्तावको पक्षमा लबिङ गर्न उनीहरू राष्ट्रिय योजना आयोग पनि पटक–पटक पुगे । योजना आयोगमा दुई पटक ड्रिम फाप्लाको प्रिजेन्टेसन पनि गरे । ‘प्रिजेन्टेसनमा सबैजनाले ध्यानपूर्वक सुन्नुभयो । एकदमै राम्रो भन्नुभयो।

त्यस्तो सुन्दा अब काम होला भनेर खुसी लाग्थ्यो । तर, फेरि अर्को पटक जाँदा सबथोक शुन्यबाटै सुरु गर्नुपर्ने,’ सुवासले  अनुभव सुनाए ।देखिने गरी फाप्ला रंगशाला बन्नेमा कुनै काम नभइसके पनि चौतर्फी रुपमा चर्चा र दबाब सिर्जना गरेकोमा डिसिएल आयोजक उत्साहित छन् । यो अभियानले देशव्यापी पहिचान दिनुका साथै त्यस्तै साथ सहयोग पाएको सुवासको अनुभव छ।

‘अघिल्लो वर्ष काठमाडौंको जमलमा ट्याक्सी कुरिरहेको थिएँ । अचानक एकजना यात्रु राखेको ट्याक्सी आएर रोक्यो र लिफ्ट अफर ग¥यो । हामीले लाजिम्पाट जाने भन्यौं । ट्याक्सीमा राखेर पु¥याइदियो । तर, ट्याक्सी चढ्नेबित्तिकै डिपिएल सरेछ हगी भनेर यात्रु र ट्याक्सी चालक दुवैले सोधे,’ सुवासले सम्झिए, ‘मैले परिचय दिएकै थिइनँ ।

तर, उनीहरूले मलाई चिनेछन् । बाटोमा हिँडिरहेका पनि धेरैले तपाई डिपिएल गर्ने सुवास शाही होइन भनेर सोध्छन् । कसरी चिन्नुभयो भने तपाईँको दाँतले गर्दा भन्छन् । हाँसिरहनुहुन्छ भनेर मेरो अली बाहिर निस्केका अगाडिका दुई दाँतको तारिफ गर्छन् । अर्को एक दिन काठमाडौंमै कमलपोखरीको बाटो हिँडिरहेको थिएँ । स्कुलको युनिफर्म लगाएका दुई–तीन जना केटाकेटीहरूले अक्सनको कुरा गरिरहेका रहेछन् । करण केसी सबभन्दा महँगोमा बिक्यो भन्दै रहेछन् । त्यो बेला यस्तो खुसी लाग्यो की त्यसको बयान गर्नै सक्दिनँ ।

लगानीको फल पाएजस्तो लाग्छ । हामीले धनगढीमा केही युवा मिलेर सुरु गरेको काम तर अहिले हाम्रो टिम हामीले सोचेभन्दा धेरै ठूलो भइसकेको छ । विराटनगरदेखि महेन्द्रनगरसम्म डिपिएल र ड्रिम फाप्लाको टिम बनेको छ । हजारौंको संख्यामा हाम्रा टिमहरू फरक मोर्चामा एउटै उद्देश्यका लागि भिडिरहेका छन् ।’

प्रकाशित: १५ वैशाख २०७५ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App