coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पानी

पूर्वी तराईको एउटा गाउँबाट गुजिँदै थिएँ। कसैले बोलायो। आवाज आएको दिशातिर हेरेँ । नजिकै एउटा इनार थियो । इनारनिर उभिएकी थिइन, एउटी महिला । साथमा खाली बाल्टिन र गाग्री । म उनी नजिक गएँ।

‘यी इनारसे थोडा पानी निकाली दिनुहुन्छ ?’ उनले आग्रह गरिन् । मलाई अनौठो लाग्यो । मैले उनलाई शिरदेखि पाउसम्मै हेरेँ । उनी जवान थिइन् । कुनै शारीरिक अपांगता भएजस्तो पनि लागेन । फेरि आफैँ किन पानी निकाल्न नसकेकी हो ?

‘तपाईं आफैँ किन निकाल्नुहुन्न ? हातमा मेहन्दी लगा’को छ र ?’ खै किन हो, मेरो आवाज त्यसै रुष्ट निस्कियो।‘हम डोम जाति छे, इनार छुने मिल्दैन के !’ उनले स्पष्टीकरण दिइन्।कुरै नबुझी कटुता व्यक्त गरेकामा आफैँलाई ग्लानि भयो । इनारबाट पानी निकालिदिएँ । उनले आफ्नो गाग्री र बाल्टिन भरिन् । मलाई पनि प्यास लागिराखेको थियो । मैले अञ्जुली थापेँ र उनलाई पानीको धारा दिन इसारा गरेँ।

‘हामीले छोएको पानी चल्छ ?’ उनी अलि हिच्किचाइन्।मैले स्वीकृतिमा शिर हल्लाएँ । उनले पानी खन्याइदिइन् । मलाई कताकता बुद्धिसराको झझल्को आयो ।‘बुद्धिसरा !’ मेरो मुखबाट अनायास फुत्कियो ।‘कौन बुद्धिसरा ? हम बुधनीया छे ।’उनी वाल्ल परेर हेर्दै थिइन् । म फटाफट त्यहाँबाट निस्किएँ । बुद्धिसराको याद फेरि बल्झेर आयो।

ठाडो उकालो बाटो चढ्दै थिएँ । पसिनाले निथु्रक्कै भिजियो । आफूसँग भएको पानीको बोतल रित्तियो, प्यास मेटिएन । बाटोमा सोध्दा एउटाले यो अन्तिम उकालो हो भन्थ्यो, हो रहेछ । डाँडाको माथिबाट पर केही घरहरू देखिए । सायद मेरो गन्तव्य त्यही गाउँ थियो । नुवाकोट जिल्लाको तारुका गाउँ । त्यतिखेर सडक बनिसकेको थिएन।

गाउँ पस्ने मुखमा छिटपुट घरहरू देखिए । एउटा घरको आँगनमा ओर्लिएँ । घर के भन्नु, एउटा सानो झुपडी थियो ।‘घरमा को हुनुहुन्छ ? अलिकति पानी दिनुहुन्छ ?’एउटा युवती ढोकाबाट बाहिर निस्किन् र अनौठो मानेझैँ मलाई हेरिन् । म नेपाली भए पनि लवज विदेशीजस्तो भएकाले मान्छेहरू अचम्भित हुन्थे । उनी पनि भइन् । सानैमा आमाबाबुले अमेरिका लिएर जानु भएकाले म उतै हुर्कें ।

परिवारमा नेपाली भाषा नै बोलिन्थ्यो । तर, स्कुल, शिक्षक, साथीभाइहरूको प्रभाव बढी हुँदो रहेछ । मेरो नेपाली भाषा राम्रो भएन । म बोल्थेँ, तर सायद उल्टोपाल्टो । बोलीमा प्रशस्त अमेरिकी शैली थियो । मेरो उच्चारण सुनेर मानिसहरू गलल्ल हाँस्थे ।‘तपाईं कुन ‘थरी’ हो कुन्नि, हाम्रो पानी चल्दैन ।’ नजर लुकाउँदै युवती सुस्तरी बोलिन् । उनको बोलीमा केही हीनताबोध झल्कन्थ्यो।

‘थरी’ शब्दको अर्थ त मलाई थाहा थिएन । तर, दोस्रो वाक्य सजिलो जस्तो लागे पनि त्यसको अर्थ पनि मैले खुट्याउन सकिनँ।‘पानी चल्दैन ?’पंखा नचल्ने, फ्रिज नचल्ने, गाडी नचल्ने कुरा बुझेको थिएँ । तर, पानी नचल्ने कुरा ? मैले यो कुरा पहिला सुनेको थिइनँ । मैले अनुमान लगाएँ, सायद धारा बिग्रिएको छ ।‘किन ? तपाईंको धारा बिग्रियो ?’

युवतीले पहिला त आँखा तरेर हेरिन् । एकछिनपछि भने उनको हाँसोको फोहरा फुट्यो । उनी सुन्दर त थिइन् नै । हाँस्दा उनको सौन्दर्य झनै खुल्यो । सूर्यको प्रकाश पर्दा सूर्यमूखी फूलहरू फक्रेजस्तै ।म जिल्ल परेँ । मेरो बोलीमा कुनै गडबडी भएजस्तो त लागेन । तैपनि सोधेँ ।
‘किन हाँसेको ? मैले केही गल्ती बोलेँ र ?’

‘कस्तो कुरा नबुझेको, हामी पानी नचल्ने जातका हौँ, हामीले छोएको पानी खान हुँदैन ।’ उनको हाँसो अचानक बन्द भयो । र, अनुहारमा पीडाको भाव देखियो । उनको नजर मबाट हट्यो । र, भुँइतिर घोप्टियो ।‘अहो, आई एम सरी ।’ मैले अहिले भने युवतीको कुरा बुझेँ । नेपालमा जातजातिको कुरा, छुवाछुत प्रथाको कुरा सुनेको थिएँ, पढेको थिएँ।

मेरो आमाबाबुले पनि कहिलेकाहीँ यस विषयमा कुरा गर्नुहुन्थ्यो । तर, कोही कथित सानोजातको मान्छेसँग मेरो भेट भएको थिएन । यो मेरो लागि नौलो अनुभव थियो।‘तिम्रो पानी म चलाइदिउँ त ?’ कुरा गर्दा मैले बायाँ आँखा अनायासै झिम्काएछु । युवतीले लाज मानिन् ।युवतीले अम्खोरामा पानी ल्याएर दिइन् । मैले अम्खोरामा मुखै क्वाप्प लगाएँछु ।‘हैन, कस्तो मान्छे हो, अम्खोरा नै जुठो पारिदियो ।’

‘अहो ! सरी, कसरी पिउने त ?’‘यी यसरी ।’ उनले मेरो हातबाट अम्खोरा खोसिन् । र, पानी पिइन् ।‘तिमीले मेरो जुठो पानी पियौ नि त ?’ मैले सम्झाएँ ।  उनी लाजले रातो–पिरो भइन् । त्यसपछि मैले पनि उनले जसरी नै पानी पिउने प्रयास गरेँ । पानी नाकतिर पो पोखियो । उनी झन् खित्खिताएर हाँसिन्।

‘मेरो नाम जनार्दन हो । जनार्दन अधिकारी । मलाई अमेरिकामा चाहिँ ‘जन’ भन्छन् । म सानैमा अमेरिका गएको । म मेरो कलेजको एउटा प्रोजेक्टका लागि नेपाल आएको ।’ मैले उनलाई आफ्नो परिचय दिएँ । आफ्नो परिचय दिनुको उद्देश्य उनको नाम जान्नु पनि थियो ।
‘तिम्रो नाम के हो?’ नसोधी रहन सकिनँ ।‘बुद्धिसरा ।’ उनको जवाफ संक्षिप्त थियो । शुष्क पनि।

उनको नाम उच्चारण गर्न मलाई सजिलो थिएन । प्रयास जरुर गरेँ।‘वाउ ! कस्तो राम्रो नाम, मान्छेजस्तै ।’ अमेरिकातिर सबैलाई राम्री भनेर फुरुक्क पारिदिन्छन् । तर, बुद्धिसराको हकमा मैले झूटो बोलेको थिइनँ । प्रशंसा सुनेर होला, बुद्धिसराको गाला रक्तिम भयो।

बुद्धिसरासँगको मेरो पहिलो भेट थियो । उनले मलाई रोहिणीप्रसाद खनालको घर जाने बाटो देखाइन् । रोहिणीप्रसाद मेरो घरबेटी, जसको घरमा मलाई एजेन्सीले बस्ने व्यवस्था मिलाइदिएको थियो । म समाजशास्त्रको विद्यार्थी, नेपालमा दुर्गम ग्रामीण समाजको अध्ययन गर्न आएको थिएँ ।

यहाँका मानिसहरूको रहनसहन, संस्कृति, चाडपर्वहरूबारे जान्नु थियो । त्यसैले गाउँलेहरूको घरघरमा पुग्थेँ । स्कुलमा पुग्थेँ । कहिले गोठालाहरूसँग गाईवस्तु चराउन जान्थेँ । कहिले पसलमा गफिएर बसेका पुरुषहरूको कुरा सुन्थेँ । कहिले खेतबारीमा काम गरिरहेका मान्छेहरूसँग कुरा गर्न पुग्थेँ । उनीहरूले गरिरहेको काममा हात दिन्थेँ । एउटै गाउँ भएकाले बुद्धिसरासँग आक्कल–झुक्कल भेट भइरहन्थ्यो । खै किन हो, उनीसँग बात मार्न म त्यसै लालायित हुन्थेँ।

एकदिन चियापसलतिर जाँदै थिएँ । त्यहाँ अलि होहल्ला भइरहेको थियो । नजिक पुग्दा देखेँ, पसले दिदी र बुद्धिसराबीच केही गलफत्ती परिरहेको थियो । बुद्धिसराले खै के भनिदिइन् कुन्नि, पसले दिदी कुच्चोले बुद्धिसरालाई ठटाउन पो थालिन् । मान्छेहरू झगडा छुट्याउनुभन्दा रमाइलो मानेर हेरिरहेका थिए । मैले पसले दिदीको हातबाट कुच्चो खोसेँ।

बुद्धिसरा भुइँमा लडेकी थिइन् । उनलाई पनि उठाएँ । खास के भएछ भने बुद्धिसराले चिया पिइछन् । तर, आफूले गिलास धुन अस्वीकार गरिछन् । उनको तर्क थियो– सित्तैमा पिएको हो र पैसा तिरेपछि किन गिलास धुने ? उनको तर्कको मसँग उत्तर थिएन।‘ल ठीक छ, बुद्धिसरा पनि गिलास नधुने, पसले दिदी पनि गिलास नधुने, म धोइदिऊँ ? मलाई कुनै समस्या छैन । तर, तपाईंहरू झगडा नगर्नुस् ।’

त्यसपछि भने बुद्धिसराले खै के सोचिन्, उनी गिलास धुन राजी भइन् । स्थिति साम्य भयो । म बुद्धिसरासँगै उनको घरसम्म बात मार्दै गएँ ।बुद्धिसराले गाउँकै स्कुलमा कक्षा ७ सम्म पढेकी रहिछन् । त्यसपछि उनको पढाइ पूर्णविराम लागेछ । आर्थिक रूपले सम्पन्न परिवारका छोराछोरीहरू पढ्न सहर जाँदा रहेछन् । अरुको पढाइको यात्रा भने यहीँ सकिँदो रहेछ।

जस्तो बुद्धिसराको सकियो । छुवाछुतको विभेद गलत हो भन्ने चेतना बुद्धिसरामा रहेछ । र, बेलाबेला उनको आक्रोश पोखिँदो रहेछ।घरको पिँढीमा बुद्धिसराको बाबा लुगा सिलाउँदै हुनुहुन्थ्यो । बुद्धिसराले मेरो परिचय गराइन् । कुरैकुरामा थाहा भयो, त्यो लुगा त उही झगडालु पसले दिदीका लागि बन्दै रहेछ ।
‘ओहो, पानी चल्दैन, लुगा चल्दो रहेछ ?’

‘यहाँको रीत यस्तै छ, बाबु !’ बुद्धिसराको बाबाले लामो श्वास लिनुभयो । र, आफ्नै काममा मग्न हुनुभयो । बुद्धिसराको एउटा भाइ रहेछ । सुकुलमा बसेर गृहकार्य गर्दै थियो । उसलाई केही अंग्रेजी सिकाएँ । साँझ पर्दै थियो । मैले बिदा मागेँ।

‘हजुरलाई खाना ख्वाएर पठाउनुहुन्थ्यो, तर के गर्ने ? खनाल–आमाले थाहा पाउनुभयो भने हजुरलाई घरमा छिर्न दिन्नन् ।’ बुद्धिसराले मलिन अनुहार लगाएर भनिन्।म घरपुग्दा खनाल–आमाले मलाई ढोकामै रोक्नुभयो । र, पानी छर्किनुभयो । थाहा भयो, त्यो सुनपानी रहेछ । र, मलाई चोख्याउनुभएको रहेछ । मैले बुद्धिसरालाई छोएको वा उनको घर गएको उनीहरूले थाहा पाएका रहेछन्।

एकदिन घरपेटी खनाल–बा को रोपाइँ थियो । उहाँहरूले बिहानै रोपाइँ हेर्ने निम्तो दिएर निस्कनुभएको थियो । मलाई त्यो दिन खास जाँगर लागेको त थिएन । तर, मेरो अरु खास काम पनि थिएन । त्यसैले दिउँसोतिर यसो टहलिन निस्किएँ । अलि तल खेतमा धान रोपाइँ चल्दै गरेको देखेँ, सायद त्यो उहाँहरूकै खेत थियो । अलि नजिक गएँ । त्यो हुलमा बुद्धिसरा पनि हो कि जस्तो लाग्यो । र त्यतैतिर हिँडें । खै, उनमा के आकर्षण थियो, म उनीतिर तानिँदै गएको थिएँ । केही मानिसहरू बीउ उखेल्दै थिए।

कोही रोपाहारहरूलाई बीउ पुर्‍याउँदै थिए । पुरुषहरू हिलो सम्याउँदै थिए । बुद्धिसरा र उनकी आमा पनि रोपाहारहरूको हुलमा थिइन् । केही तस्बिरहरू उतारेँ, भिडियो पनि खिचेँ । त्यसपछि म बीउ उखाल्नेहरूको समूहमा सामिल भएँ । धान रोप्दै गरेकी बुद्धिसरा पनि एकैछिनमा मसँगै पो बीउ उखेल्न आइपुगिन् । के बुद्धिसरा पनि मसँग नजिकिन चाहन्छे ? आफैंसँग मनमनै प्रश्न गरेँ ।‘तपार्इँको अमेरिकामा पनि धान रोपाइँ हुन्छ ? कसरी रोप्छन् ? त्यहाँ त मसिनले रोप्छ रे हो, सर ?’ उनको प्रश्न थियो । खै किन हो कुन्नी, उनी मलाई ‘सर’ भन्थिन् । सायद म अमेरिकावासी भएकाले होला।

‘हो मेसिनले नै रोप्छ, मेसिनले नै काट्छ । तर, मलाई ‘सर’ नभन है ! मेरो नाम जनार्दन हो । ‘जान’ भने पनि हुन्छ । त्यसपछि भने उनले मलाई जनार्दन भन्न थालेकी थिइन् ।
बुद्धिसरा छिट्टो थिइन् । मैले मुस्किलले एकमुठा बीउ उखाल्दा उनले तीन–चार मुठा पारीसकेकी हुन्थिन् । मैले बेलाबेला मुठा पार्दा फुस्किन्थ्यो । र, बीउ छरपरस्ट हुन्थ्यो अनि सबै जना हाँस्थे । उनले मलाई बीउको मुठा कसरी पार्ने सिकाइदिइन्।‘ल यो अम्रिकन बाबुलाई राम्रोसँग सिका है बुद्धिसरा, कतै तलाइँ अम्रिका पो लैजान्छन् कि !’ एउटा भाउजूले छेड हानिन् । सबै गलल्ल हाँसे । सायद ती भाउज्यूले मेरो मनको कुरो बुझेछिन् कि?

एकछिनमा खाजा खाने समय भयो । बुद्धिसरा, उनकी आमा र केही अरु जो सायद कथित अछुत जातका थिए, उनीहरू छुट्टै बसे । म पनि उनीहरूकै समूहतिर गएँ । तर, उनीहरूले यता होइन भनेर मलाई हटाइदिए । अछुतहरूले बीउ उखाल्न हुँदो रहेछ । धान रोप्न पनि हुँदो रहेछ । त्यो चल्दो रहेछ । तर, धान भात बनिसकेपछि भने नचल्दो रहेछ ? यो कुनै युक्तिसंगत देखिनँ । तर, म यहाँको समाज अध्ययन गर्न आएको थिएँ । समाज बदल्न होइन । त्यसैले चुप लागेर बस्नुको विकल्प थिएन।

विश्वकर्माहरूले बनाएको हँसिया–चुलेसी उच्च जातिकाहरूको चुल्होमै पुग्दो रहेछ । गाउँघरमा सार्की जातीले जुत्ता बनाउने चलन लगभग हराइसकेको रहेछ । पसलेहरूले सहरका कारखानाबाट बनेका आधुनिक जुत्ताहरू ल्याएर बेच्दा रहेछन् । तर, गाउँका केही बूढापाकाहरूलाई भने गाउँकै एकजना पुराना सार्की–बाले बनाएकै जुत्ता चाहिँदो रहेछ।

विवाहमा दमाई जातिहरूले बाजा बजाएर अघि नलागी जन्ती हिँड्नु हुन्न रे ! अशुभ हुन्छ रे । उनीहरूको महत्व यति धेरै छ भने उनीहरू नै किन कि छि छि र दूरदूरका पात्र ? उनीहरूलाई मन्दिर प्रवेश किन निषेध ? भगवान यति धेरै विभेदकारी छन् र ?‘परापूर्वकालदेखि चलनै यही छ, बाबु ।’ मान्छेहरूको जवाफ बस यही थियो ।एकदिन मलाई खनाल–बा हिन्दू वर्णाश्रम धर्मबारे बताउँदै हुनुहुन्थ्यो।

ब्राह्मणहरू भगवान ब्रह्माको मुखबाट उत्पति भए, क्षेत्रीहरू पाखुराबाट, वैश्यहरू तीघ्राबाट र शूद्रहरू पाउ अर्थात् पैतालाबाट । पैतालाजस्तो फोहर स्थानबाट उत्पति हुने भएकाले उनीहरू अछुत भए ।‘ब्रह्माजी फोहर कुल्चिँदै हिँड्नु हुन्थ्यो र खनाल–बा ?’ मलाई ठट्टा गर्न मन लाग्यो।खनाल–बाको अनुहार कालोनिलो भयो । उहाँसँग सोझो उत्तर थिएन।‘यो वर्णाश्रम धर्मको व्यवस्था ऋग्वेदको पुरुष शुक्तमा नै उल्लेख छ, जनार्दन बाबु, हामीले मान्नै पर्छ।’

उहाँले कुरो वेदतिर घुमाउनु भयो, जुन मेरो ज्ञान बाहिरको कुरो थियो । म चुप लागेँ ।
असंगतजस्तो लाग्ने केही कुराहरू मैले के ख्याल गरेँ भने मानिसहरू मूर्तिको पाउमा नै पूजा गर्थे । खनाल–बाका छोरा, खनाल–आमा, सबै खनाल–बालाई खुट्टामै ढोग्थे । यदि पाउलाई शरीरको फोहर र तुच्छ स्थान मान्ने हो भने आफ्ना प्रियजनहरूलाई किन पाउमा ढोग्न लगाउने ? होला ऋग्वेदी कालमा यो वर्णाश्रम धर्म व्यवस्था कारणवश विकास भयो होला । तर, अहिलेसम्म यसलाई त्यही रूपमा पछ्याउनु जायज होला ? यी कुराहरू मेरो मनमा खट्किरह्यो।

यो धार्मिक कलेवरमा मान्छेले मान्छेलाई दास बनाउने कुप्रथाले मलाई जति अशान्त बनाएको थियो, बुद्धिसराप्रति बढ्दै गएको मेरो आकर्षणले पनि त्यति नै रन्थन्याएको थियो । म उनलाई भेट्ने बहाना खोजिरहन्थेँ । पँधेरोमा, पानी घट्टमा उसलाई पच्छ्याइरहन्थेँ । उसको भाइलाई अंग्रेजीको गृहकार्य सिकाउने बहानामा घरमै जान्थेँ । कहिले त आफ्नै लुगा च्यातेर मर्मत गराउने बहानामा जान्थेँ । सायद म बुद्धिसराको प्रेममा परिसकेको थिएँ । मेरो प्रोजेक्ट सकिन लागेको थियो । र, म फर्किने समय नजिकिँदै थियो । तर, बुद्धिसराको मनपेट भने मैले पाएको थिइनँ।

एकदिन त्यस्तै कुनै बहानामा बुद्धिसराको घरतिर गएको थिएँ । आँगन वा पिढीमा कोही थिएनन् । दैलोमा आग्लो भने लागेको थिएन । त्यसैले मलाई भित्र कोही छ भन्ने लाग्यो । बाहिरबाट आवाज दिएँ । तर, कोही बोलेनन् । दैलो धकलेर भित्र के पसेको थिएँ, खङ्ग्रङ्ग भएँ । एउटा अर्धनग्न जोडी ज¥याक्क–जुरुक्क उठ्यो । युवती बुद्धिसरा नै थिइन् । पुरुष भने घरबेटी बाका छोरा रोजनाथ थिए, जो केही महिना अघिमात्र दुबईबाट फर्किएका थिए । म फर्किँए । मेरो मुटु जोडजोडले धड्कियो।

अछुत कहलिने बुद्धिसरा, ब्राह्मण रोजनाथको बाहुमा ! विश्वासै लागेन । पानी चल्दैन । तर, जवानी चल्दोरहेछ । जवानीलाई केही छेकवार छैन रहेछ।बुद्धिसराप्रति टुसाउँदै गरेको मेरो कोपिला प्रेममा हठात तुषारापात भयो । मलाई अब यो गाउँ निरस लाग्न थाल्यो । जताजतै उराठलाग्दो मात्र देख्न थालेँ । मलाई यहाँ अब बस्न मन लागेन । रिपोर्ट लेखनको केही काम बाँकी नै थियो । तैपनि मलाई गाउँमा बस्न मन लागेन । फर्कने योजना बनाएर त्यही साँझ आफ्ना लुगाकपडा ‘प्याक’ गरे।

त्यो रात म निदाउनै सकिनँ । आलिंगनवद्ध बुद्धिसरा र रोजनाथ मात्र आँखा वरिपरि घुमिरहे । त्यो रात मेरो जीवनको सबैभन्दा लामो रात महसुस भयो । बिहानीपख केही आँखा लागेजस्तो भएको थियो, खनाल–बाले बिहानै फुकेको शंखले ब्यूँझाई हाल्यो । चिया पिइसकेपछि उहाँहरूसँग बिदा मागेँ । उहाँहरूले खाना खाएर निस्कने आग्रह गर्नुभयो, मैले इन्कार गर्न सकिनँ । रोजनाथ भने मेरो सामुन्नेमै परेनन्।

बुद्धिसराको घर बाटोछेउमै थियो । उनलाई देख्न नपरे हुन्थ्यो भन्ने लागेको थियो । तर, उनी आँगनमा देखिइन् । मलाई देखेपछि लाजले होला, उनी घरभित्र पस्न खोजेको जस्तो गरिन् । तर, फर्किइन् । सायद मेरो ‘झोली–तुम्बा’ देखेर उनी उत्सुक भइन् । म हठात फर्किन लागेको देखेर अचम्मित पनि । जाँदा–जाँदै एउटा प्रश्न नसोधी मनले मानेन ।‘तिमीलाई रोजनाथले बिहे त गर्छ, बुद्धिसरा ?’‘बिहे गर्छु भन्नु भा’को छ ।’ उनले नजर लुकाउँदै भनिन् । त्यतिबेला उनी खुट्टाको बूढीऔँलाले भुइँ कोतर्दै थिइन्।

मलाई पानी दिनसमेत हिच्किचाउने बुद्धिसराले कसरी रोजनाथसँग सम्बन्ध गाँस्न पुगिन् ? मलाई अचम्म लागिरहेको थियो । सायद, सबै कुराको उत्तर हुँदैन । मेरो प्रश्नको पनि उत्तर थिएन । मलाई रोजनाथको विश्वास भने थिएन । मैले गाउँतिर उसको बारेमा त्यति राम्रो कुरा सुनेको पनि थिइनँ । लुकीलुकी रक्सी पनि पिउथ्यो रे ।म अमेरिका फर्केँ । पढाइ सकेर एउटा गैह्रसरकारी संस्थामा काम गर्न थालेँ । दशकभन्दा बढी बितिसकेको थियो । मेरो स्मृतिबाट बुद्धिसरा हराइसकेकी थिइन्।

संस्थाको कामका लागि म नेपाल खटिएँ । हाम्रो संस्थाको कार्यालय काठमाडौँमा थियो । तर, मेरो मन तारुका गाउँ विचरण गरिरहन्थ्यो । गाउँ अहिले कस्तो भयो होला ? बुद्धिसरा र रोजनाथको बिहे भयो कि भएन होला ? जस्ता खुल्दुली मनमा आइरहन्थ्यो। एकदिन तारुका गाउँ जाने निर्णय गरेँ । अहिले त बाटो पनि बनिसकेको रहेछ । पहिलेजस्तो दुर्गम पनि होइन रहेछ।

गाउँ पुग्नै लाग्दा केही अनौठो महसुस भयो । गाउँ केही पात्तालिएछ । सायद मान्छेहरू बसाई सरेर गए । पुराना कच्ची घर भएका ठाउँमा पक्की भवन ठडिएका थिए । बुद्धिसराको घर त्यहाँ थिएन । सोध्दैखोज्दै खनाल–बाको घरमा पुगेँ । आँगनमा एउटी महिला धान सुकाउँदै थिइन, जो खनाल–बाको परिवारमा मैले चिनेमध्येकी थिइनन् ।‘कसलाई खोज्नु भा’ हो ?’ महिलाले प्रश्न गरिन् ।‘यो खनाल–बाको घर होइन ?’ मैले सोधेँ।

‘घर त हो । तर, उहाँ त बितिसक्नु भयो ।’ महिलाले जवाफ दिइन् ।भित्रबाट खनाल्नी–आमा खोक्दै निस्किनुभयो । मैले नमस्कार गरेँ । उहाँले आँखाको चस्मा पुछपाछ पार्नुभयो । र, मतिर हेर्नुभयो।‘ओहो, जनार्दनबाबु, कताबाट अचानक !’ उहाँले मलाई चिन्नुभयो।

‘म अहिले काठमाडौँमै बसेर काम गर्छु आमा । खनाल–बा बित्नुभएछ । दुःख लाग्यो।’
‘के गर्ने, दैवको नियति, सबैले जानैपर्छ, म पनि आज हो कि भोलि भएकी छु।’‘अनि रोजनाथ खै त आमा ?’‘ऊ फेरि दुबई गयो । तीन–चार वर्षै हुनलाग्यो, फर्केको छैन ।’मेरो नजर आँगनकी महिलातिर गयो।‘यो रोजनाथकी दुलही हो ।’ आमाले परिचय गराउनु भयो।

यसको मतलव रोजनाथले बुद्धिसरालाई बिहे गरेनछ । बुद्धिसराबारे सोधुँ की जस्तो लागेको थियो । तर, सोधिनँ । गाउँतिर निस्केँ । पहिलाका साना बच्चाहरू किशोर भएछन् । उनीहरूले मलाई चिन्ने कुरै भएन । किशोरहरू युवा भए, सायद उनीहरूले मलाई चिन्थे होला । तर, धेरैजसो उनीहरू कि त सहर पसे वा परदेश । खनाल–बाका उमेरकाहरू कि त बितिसकेछन् की ओछ्यान परेछन् । गाउँ पहिलेजस्तो रहेन।

मैले चिनेका केही व्यक्तिहरूलाई बुद्धिसराबारे सोधेँ । उनको परिवारबारे सोधेँ । कसैले यकिनका साथ केही भन्न सकेनन् । सबैका आ–आफ्ना अड्कल थिए । आ–आफ्नै अनुमान।
‘बुद्धिसरा अचानक गायव भइन् । त्यसपछि उसको परिवारले पनि गाउँ छोड्यो, उनीहरू चितवनतिर झरे रे !’ एउटाले भन्यो ।‘होइन, उनीहरू काठमाडौँतिर छन् रे !’ अर्कोले भन्यो।

‘अनि बुद्धिसरा गाऊँबाट हराउँदा केही खोजखबर भएन ?’ मैले सोधेँ ।‘उमेर पुगेका केटीहरू गाउँबाट कति हराउँछन् कति, कसले खोज्ने, कहाँ खोज्ने ? केही दुई–चार वर्षपछि आफैँ फर्केर पनि आउँछन्, कोही आउँदैनन्।’कस्तो ठाउँ, कस्तो उदासीनता । मान्छे हराउनुलाई यहाँ सामान्य रूपमा लिइँदोरहेछ । मनमनै दुःखी भएँ।

‘रोजनाथ र बुद्धिसरालाई झोलुंगेपुलमा त्रिशुलीपार गर्दै गरेको त मेरै आँखाले देखेको हुँ । त्यसपछि रोजनाथ त गाउँमा देखियो । तर, बुद्धिसरा देखिइनन् ।’ एकजनाले यसो पनि भने ।
‘कसैले रोजनाथलाई सोधपुछ गरेनन् ?’ मैले सोधेँ।‘रोहिणीप्रसाद खनालको छोरालाई कसले सोधपुछ गर्ने ?’

हुन पनि हो । खनाल–बा गाउँका ठालु थिए । गाउँमा उनको हैकम चल्थ्यो । उनको विरुद्धमा कसैले बोलेको मैले सुनेको थिइनँ । गाउँमा दुई दिन बसेर म काठमाडौँ फर्किएँ । त्यसपछि पनि रोजनाथ फर्कियो कि भनेर सोधपुछ गर्न भने छोडेको थिइनँ । मलाई विश्वास थियो, बुद्धिसरा बेपत्ता हुनुमा रोजनाथकै हात थियो । एकदिन खबर पाएँ । रोजनाथ दुबईबाट फर्किएछ । तर, बन्द बाकसमा । बुद्धिसरासम्म जोड्ने आशाको एउटै कडी रोजनाथ थियो, त्यो पनि समाप्त भयोे।

प्रकाशित: १५ वैशाख २०७५ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App