५ वैशाख २०८१ बुधबार
अन्य

आश्चर्यजनक पुस्तक समीक्षा

२०७४ चैत १७ गतेको नागरिकको शनिबार अंकमा यादव देवकोटाले लेखेको ‘पुर्खाश्लाघाले डामिएको इतिहास’ शीर्षकमा लेख छापिएको छ । उक्त लेखमा निजले आजभन्दा ४० वर्षअगाडि यस लेखकले लेखेको विद्वच्छिरोमणि हेमराज शर्मा (वि.सं. १९३५–२०१०)को जीवनीबारे टिकाटिप्पणी गरेका छन् ।

वास्तवमा ज्ञानमणि नेपालले पं. हेमराज शर्मा उनका कृति र समीक्षा (प्रकाशक– महेन्द्र संस्कृत विश्वविद्यालय, वि.सं. २०५७) र व्याकुल पाठकले नेपालका विश्वकोष (प्रकाशक– विद्वच्छिरोमणि हेमराज पुरस्कार गुठी, वि.सं. २०७२) समेत गरी दुई जीवनी लेखी प्रकाशित भई सकेपछि यादव देवकोटाले यस विषयमा दुईवटा प्रकाशित पुस्तकको आफ्नो लेखमा उल्लेख नै नगरेकाले उनको दूषित उद्देश्य देखिन्छ।

देवकोटाले ‘आफ्ना पूर्वजका केही अर्थहीन दिनपर्चीहरू छापेर नेपालको इतिहासको कस्तो तथ्यबारे अन्वेषण गर्न सहायता गर्न खोजेका हुन् प्रकाश ए. राजले र उनले लेखेका पुस्तकहरूमा यस्तै उज्यालोले मानिसलाई कता दोहो¥याइरहेको होला भन्ने सन्त्रास पैदा हुन्छ’ भनी आक्षेप पनि गरेका छन् । देवकोटाले भनेको ‘अर्थहीन दिनपर्ची’हरूको संकलन ज्ञानमणि नेपालजस्ता लब्धप्रतिष्ठ विद्वानले आफ्नो हेमराजबारेको पुस्तकमा समावेश गरेका छन्।

हेमराजलाई ‘माहिला गुरुज्यू’ भनिन्थ्यो । वीरशमशेरले १९४२ सालमा रणोद्दीपसिंहको हत्या गरेपछि प्रायश्चित्त गरी वि.सं. १९५६ मा शिरोमणि आचार्यद्वारा काशीमा यज्ञ गराएका थिए । त्यसपछि शिरोमणिका माहिला छोरा काशीनाथ आचार्यलगायत अन्य छोराहरूले आफ्नो नाममा ‘दीक्षित’ लेख्न थालेका थिए।

शिरोमणिका छोरा काशीनाथलाई ‘माहिला पण्डित’ भनिन्थ्यो । काशीनाथका छोरा राममणिले पनि आफ्नो नाम पछाडि ‘दीक्षित’ लेख्न थाले र सो परम्परा राममणिका नाति कमलमणि र पनाति कुन्द दीक्षित र कनक दीक्षितले अझै कायम राखेका छन् । माहिला पण्डित र माहिला गुरुज्यूको बीच फरक नजान्ने यादव देवकोटाले हेमराजलाई माहिला पण्डित भनी राणाकालीन इतिहासमा आफ्नो अल्पज्ञान देखाएका छन् भने आपूmलाई थाहा नभएको विषयमा कलम चलाउने धृष्टता पनि गरेका छन्।

‘मकैको खेती’ शीर्षक पुस्तकका लेखक कृष्णलाल अधिकारीलाई दण्ड दिलाई मकैपर्व गराउन हेमराजको संलग्नता थियो भनी प्रमोदशमशेरको नेपालको इतिहासको पुस्तक राणाशासनको वृत्तान्त (प्रकाशक— विद्यार्थी पुस्तक भण्डार, वि.संं २०५९, दोस्रो संस्करण) मा लेखिएको कुरालाई आधार मानी उल्लेख गरेका छन् । प्रमोदशमशेर रुद्रशमशेरका नाति र ईश्वरशमशेरका छोरा हुन् । उनको जन्म सन् १९३२ मा भएकाले उनी मकैपर्वका प्रत्यक्षदर्शी होइनन् । उनले सुनेको कुराको आधारमा मात्र त्यसबारे आफ्नो पुस्तकमा लेखेका छन् । उनी अभैm जीवित छन् । यसैगरी राणाकालीन इतिहासका लेखक पुरुषोत्तमशमशेर पनि रुद्रशमशेरकै नाति हुन् ।

वीरशमशेरले १९४२ सालमा आफ्ना काका रणोद्दीपसिंहको हत्या गरी आपूm श्री ३ महाराज र प्रधानमन्त्री भएपछि प्रधानमन्त्री बन्ने रोलमा आफ्ना अविवाहितापट्टिका छोराहरूलाई समेत राखेका थिए । उनकी मन परेकी अविवाहिता रानी तोपकुमारी थिइन्, जसको नाम ‘खञ्जन’ थियो । र, यिनलाई ‘श्री ३ बडामहारानी’को पदवी दिएका थिए । उनका अन्य अविवाहिता रानीसाहेब लालपडी र गुलाबपडीका छोराहरूलाई भने प्रधानमन्त्रीको रोलमा राखेका थिएनन् । यीमध्ये सबभन्दा वरिष्ठ रुद्रशमशेर थिए, जो १९९० सालमा जुद्धशमशेर प्रधानमन्त्री हुँदा कमान्डर इन चिफ भएका थिए।

यादव देवकोटा नेपालको इतिहासलाई कतिसम्म बङ्ग्याउन सक्दा रहेछन् भन्ने कुरा उनले राजेश गौतम (नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषदको भूमिका, पृ. ३०) लाई उद्धृत गरी चन्द्रशमशेरले १९८२ साउन वदी १२ का दिन सिंहदरबारमा हेमराजको अध्यक्षतामा माधवराजसँग शास्त्रार्थ गराए भनी लेखेका छन्।

त्यस सभामा ‘बडागुरुज्यू र त्यहाँ उपस्थित अरु पुरोहितले माधवराजलाई बेस्सरी पिटे ।’ राजेश गौतमको भनाई अनुसार त्यसबेला बडागुरुज्यू प्रयागराज थिए । नेपालको बडागुरुज्यू प्रयागराज भएको कुरा नै कपोलकल्पित हो । प्रयागराज भन्ने व्यक्ति मूल पुरोहित थिए । उनी बडागुरुज्यू कहिले भएनन् । प्रयागराजको वि.सं. १९८२ भन्दा अघि नै मृत्यु भइसकेको थियो।

यादव देवकोटाले रुद्रशमशेरका नाति प्रमोदशमशेरलाई ठाउँठाउँमा उद्धृत गरेका छन् । बालकृष्ण समले (मेरी कविताको आराधनमा, पृ. ३२६) भीमशमशेरले ‘ए’ र ‘सी’ क्लासको भिडन्तमा ए क्लासका पक्षपाति ठह¥याई हेमराजलाई वीर पुस्तकालयका पुस्तक हिनामिना गरे भन्ने बात लगाई गिराएर ख दलका पक्षपाती बडागुरुज्यू तर्कराजलाई उठाए भनी लेखेका छन्।

प्रमोदशमशेर र पुरुषोत्तमशमशेरले आफ्नो बाजे रुद्रशमशेर र अन्य सी क्लासका राणाजीहरूलाई रोलबाट हटाएको हुनाले जुद्धशमशेर र ‘ए’ र ‘सी’ को वर्गीकरण सुरु गर्न पर्सिबल ल्यान्डनको किताबबाट लगाए भनेर हो कि चन्द्रशमशेरलाई सकेसम्म गिराउने प्रयास गरेका छन् । चन्द्रशमशेरको शासनकालमा हेमराज शक्तिशाली थिए र यसै कारणले प्रमोदशमशेरले पनि हेमराजलाई गिराउन खोजेका हुन् कि ?

सहिद शुक्रराज शास्त्रीले लेखेको सहिद के कलम से (प्रकाशित वि.सं. २०१५) मा चन्द्रशमशेर प्रधानमन्त्री (श्री ३ महाराज) भएपछि वि.सं. १९६२ मा उनकै दरबारमा शास्त्रार्थ भएको कुरा लेखेका छन् । उक्त शास्त्रार्थमा माधवराज जोशीले मूर्तिपूजाको विरुद्ध बोलेपछि चन्द्रशमशेरसँग सोधेर मूल पुरोहित प्रयागराजले लठ्ठीले उनलाई पिटे । त्यसपछि चन्द्रशमशेरले यस्तो पिटाई बन्द गराए । त्यहाँ हेमराज पनि थिए ।

तर, उनी बडागुरुज्यू थिएनन् । र, चन्द्रशमशेरको दरबारमा उनी विश्वासपात्र बनिसकेका थिएनन् । घटनाको १० वर्षपछि वि.सं. १९७२ मा दोस्रोपटक चन्द्रशमशेरको दरबारमा मूर्तिपूजा गर्न ठीक हो कि होइन भन्ने विषयमा शास्त्रार्थ भयो । यसका मुख्य पात्र शुक्रराज शास्त्री र हेमराज थिए, जो चन्द्रशमशेरको दरबारमा शक्तिशाली भइसकेका थिए । केहीबेर शास्त्रार्थ भएपछि चन्द्रशमशेरले आफैं शास्त्रार्थ बन्द गरे भनी शुक्रराजले लेखेका छन् (पृ. ४९१) ।

शुक्रराजले लेखेका छन्– ‘हेमराज प्रयागराज (जसलाई देवकोटाले बडागुरुज्यू भनी लेखेका छन् जो उनी थिएनन्, मूल पुरोहित थिए) जस्ता मूर्ख पनि थिएनन्, उनको पुस्तकालयमा दयानन्दका पुस्तक पनि थिए । र, अज्ञानी थिएनन् । उनले शुक्रराज शास्त्रीलाई आफू बराबर सम्झेका थिए (पृ. ५०७) । यस पंक्तिका लेखकले नेपालका मूल पुरोहितबारे एउटा लेख छपाएको थियो (प्राचीन नेपाल, २०५७ असार) । यादव देवकोटाले वि.सं. १९८२ मा चन्द्रशमशेरले हेमराजको अध्यक्षतामा पण्डित मण्डली बोलाई माधवराजसँग शास्त्रार्थ गराए भनी लेखेका थिए।

र, त्यहाँ पृथ्वीवीरविक्रम र बडागुरुज्यू प्रयागराज समेत रहेको कुरा लेखेका छन्, इतिहासकार राजेश गौतमको पुस्तकबाट लिएर । प्रयागराज मूलपुरोहित थिए । उनी बडागुरुज्यू न १९६२ सालमा थिए न १९८२ मा । राजा पृथ्वीवीरविक्रमको देहान्त वि.सं. १९६८ मा भइसकेको थियो । १४ वर्षअगाडि नै दिवंगत भइसकेका राजा पृथ्वीवीरविक्रम र प्रयागराज कसरी शास्त्रार्थमा उपस्थित भए त ? यस प्रश्नको उत्तर इतिहासकार राजेश गौतम र समीक्षक यादव देवकोटाले दिनुपर्छ ।यादवले धर्मरत्न यमीलाई उद्धृत गरी हेमराजले पद्मशमशेरलाई ‘हजुर राणा कुलका कुलंगार हो’ भनी भनेको कुरा लेखेका छन्।

धर्मरत्न यमी राणा शासनकालमा दरबारिया पनि थिएनन्, उनले यस्तो कुरा भनेको नभनेको कसरी थाहा पाए रहस्यमय छ । हालै अलका आत्रेयले लेखेको पुस्तक ‘अ लाइफ हिस्टोरी अफ राहुल सांकृत्यायन’ (अक्सफोर्ड युनिभर्सिटी प्रेस, सन् २०१६) बाट प्रकाशित भएको छ र निजले हेमराज र धर्मरत्न यमी (हिसिला यमीका पिता र बाबुराम भट्टराईका ससुरा) दुवैसँग राहुलको सम्बन्धबारे लेखेकी छन् । राहुल सांकृत्यायन र धर्मरत्न दुवै कम्युनिष्ट थिए । राहुलका पुस्तक पढेर मोहनविक्रम सिंह, पुष्पलाल, निरञ्जन गोविन्द वैद्य, गोविन्द भट्ट आदि व्यक्तिहरू कम्युनिष्ट भएका थिए, (पृ. २०५) । राहुल नेपाल आएका बेला धर्मरत्न यमीकै घरमा समेत बसेका रहेछन् ।

राहुलले गरेका तिब्बत यात्रामा हेमराजले सहयोग गरेका थिए । राहुलले आफ्ना रचनामा हेमराजको मुक्तकण्ठले प्रशंसा गरेका छन् । राहुलले हेमराजको व्यक्तित्वबारे विद्वता, ज्ञानप्रति अनुराग, कला र राजनीतिप्रति चेतना भएका व्यक्ति हुनाले ‘नेपालका विश्वकोष’ भनेका छन् (पृ. २७६) । आफू कम्युनिष्ट भएको कुरा हेमराजलाई थाहा भएको र हेमराज सामन्ती व्यवस्थाका समर्थक भएको कुरा राहुललाई थाहा थियो । र, यसो हुँदाहुँदै पनि ‘संस्कृत, भारतीय संस्कृतिले हामीहरूको बीच मित्रता कायम राख्न मद्दत गर्‍यो’ (पृ. २७५) भनी भनेका छन्।

यादव देवकोटाले मेरो पुस्तकको समीक्षामा १४ वर्षअगाडि दिवंगत भएका राजा पृथ्वीवीरविक्रम शाह १९८२ सालमा भएको शास्त्रार्थमा उपस्थित हुन्छन्, हेमराजलाई माहिला गुरुज्यू भन्ने नामले सम्बोधित गरिने भए पनि उनलाई माहिला पण्डित भन्छन्, जुन चाकरी फलाकेर १९९२ सालमा दिइयो भनी लेखेका छन् । राहुलले उनलाई ‘नेपालका विश्वकोष’ भनेका छन् । र, अन्य विदेशी विद्वान् फ्रान्सका सिल्भाँ लेभी, इटालीका तुच्ची, बेलायतका टामसले उनको विद्वताको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

लेखनाथले कवि शिरोमणि र कुलचन्द्र गौतमले विद्वच्छिरोमणिको पद्वी पाउनुभन्दा करिब दुई दशकभन्दा बढी समयअगाडि हेमराजले विद्वच्छिरोमणिको पद पाएका थिए । नेपालमा सबै जनाले आफ्नो नाममा थर लेख्दैनन् । हेमराजले आफ्नो नाममा थर कहिले नलेखी ‘पण्डित’ अथवा ‘शर्मा’ लेखे । उनले पाएको विद्वच्छिरोमणिको लालमोहरमा पनि सोही नाम लेखिएको छ । नेपालमा थर नलेख्ने अन्य विद्वान् तारानाथ शर्मा (भण्डारी), विष्णुराज आत्रेय (अर्याल), मोदनाथ प्रश्रित (पौडेल), मुकुन्दशरण उपाध्याय (पौडेल) पनि हुन् । बडागुरुज्यू र मूल पुरोहित फरक–फरक पद भए पनि यी दुईलाई एउटै भनी यादवले मानेको देखिन्छ ।

उनीहरूले लेख्दै नलेखेको थरलाई जबर्जस्ती नाममा जोडेर लेख्ने कस्तो देखिएला ? यादव देवकोटाले यसै गरेका छन् । हेमराजले संकलन गरेको पुस्तकालय नेपाल सरकारले किनेको पनि नेपाली करदाताको पैसाले किनेको भनेका छन् । वास्तवमा नेपाल सरकारले गरेका जम्मैजसो खर्च नेपाली जनताले तिरेको करबाट तिरिन्छ । माओवादी शिविरमा बसेका लडाकुलाई दिएको भत्ता पनि त्यसैगरी जनताको करले तिरिएको हो।

नेपालमा १०३ वर्षसम्म राणाशासनमा भएका सबै कुराहरू नकारात्मक मात्र थिए भन्न सकिन्न । जंगबहादुरले सुगौली सन्धिबाट गुमेका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा फिर्ता ल्याएका थिए । सन् १९२३ मा चन्द्रशमशेरले अंग्रेजसँग सन्धि गरी नेपाललाई पूर्ण सार्वभौम सम्पन्न मुलुकको मान्यता दिलाएका थिए । यो सन्धि नभएको भए सन् १९४७ मा भारतले नेपाललाई आफ्नो देशमा मिलाउन सक्थ्यो।

प्रकाशित: १५ वैशाख २०७५ ००:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App